सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
विश्वभर फैलिरहेको कोरोना महामारीका कारण शैक्षिक संस्थाहरू बन्द छन्। नेपालमा लकडाउनलाई खुकुलो बनाए पनि शैक्षिक संस्था भने खुलेका छैनन्।
अरू कक्षाका विद्यार्थीले त अनलाइनबाट पढाइ गर्ने भन्ने थाहा पाए तर म जस्ता २०७६ सालका एसइई परीक्षार्थी, नतिजा प्रकाशन नभएकाले नयाँ कक्षामा अनलाइनमार्फत नै भए पनि अध्ययन गर्न पाएका छैनन्।
हाम्रा नयाँ कक्षाका ढोका बन्द भए पनि हाम्रो लागि अवसरका ढोका खुला रहेछन् भन्ने मैले तब महशुस गरे जब 'इन्स्पायर एक्सिलेन्सी'ले आयोजना गरेको कार्यक्रमबारे थाहा पाएँ। ओपेन स्पिकर गण्डकी, २०२० लगायत अन्य संघ-संस्थाले अवसर दिएका छैनन् भन्न खोजेकी होइन। अरू थुप्रै अवसर पनि छन् तर २०७६ सालकै एसइई परीक्षार्थीलाई मात्र भनेर यो कार्यक्रम आयोजना गरेको देख्दा साह्रै खुसी लाग्यो।
साउन ३ गते अनलाइनमार्फत गरिएको यो कार्यक्रममा सहभागी भएर प्रथम हुन म सफल भएँ। यो कार्यक्रमले म जस्ता गण्डकी प्रदेशमा रहेका २०७६ सालका एसइई परीक्षार्थीलाई जोड्न सफल भयो। यस कार्यक्रममा सहभागी भएर बल्ल मैले इन्स्पायर एक्सिलेन्सीलाई नजिकबाट बुझ्ने मौका पाएँ।
'ग्रो', 'लर्न', 'मोटिभेट' भन्ने उद्देश्यका साथ स्थापना भएको यो संस्थाले यस्तो विषम परिस्थितिमा पनि विद्यार्थीका मनोविज्ञान, आचरण-व्यवहार र क्षमता विकासमा टेवा पुर्याएको छ। यस्तो नि:स्वार्थ सामाजिक संस्थाका कार्यक्रममा भाग लिन पाउनु अवसर ठान्छु।
आगामी दिनमा पनि इन्स्पायर एक्सिलेन्सीले यस्ता कार्यक्रमलाई निरन्तरता दिएर म जस्ता लाखौं विद्यार्थीलाई अवसर प्रदान गर्ने छ भन्ने आशा राख्छु।
अन्त्यमा, आजका विद्यार्थी अनि भोलिका कर्णधारभित्र रहेका अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्ने लक्ष्यका साथ जुन दियो बाल्ने काम इन्स्पायर एक्सिलेन्सीले गरेको छ, यसले बहुसांख्यिक नेपाली विद्यार्थीलाई जीवनमा अगाडि बढ्ने हौसला दिने छ भन्ने पूर्ण विश्वास राख्छु।
(विभूषी तिमिल्सिना मदरल्याण मा.बि, २०७६ सालकी एसइई परीक्षार्थी हुन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)