सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
चीनको वुहान सहरदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रूप लिएको छ। भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विश्वका धेरै देशले बन्दाबन्दी अपनाएका छन्। हाम्रो देश नेपालमा पनि चैत्र ११ गतेदेखि बन्दाबन्दी चलिरहेको छ। यद्यपी, पछिल्ला दिनमा सरकारले बन्दाबन्दी खुकुलो बनाउदै लगेको छ।
बजार, व्यवसाय, यातायात, स्वस्थ्य र अन्य सेवा सावधानीपूर्वक संचालनमा आइरहेका छन्। विद्यालय खुल्नेबारे सरकारले केही निर्णय लिन सकेको छैन। विद्यार्थीका लागि सरकरले रेडियो तथा टिभीबाट कक्षा दिइरहेको छ। यसैगरी निजी विद्यालयले पनि अनलाइन कक्षा सञ्चालन गरेकोमा अहिले साउन १ गतेदेखि बन्द भयो।
अरू कुराभन्दा पनि मलाई अहिले मेरो शिक्षाको विषयमा चासो बढेको छ। लामो समय घरमा स्व:अध्ययन गरेको म लगायत म जस्तै धेरै साथीहरूलाई अनलाइन कक्षाले सहयोग गरेको महशुस भएको छ। बिहान उठ्ने, खाने र पढ्ने तालिका बनेको छ। कक्षाकोठामा जस्तै स्क्रिनको भित्तोमा हामीले एकल तथा सामूहिक सृजनात्मक प्रस्तुती देखाउन पाएका छौं।
भर्चुअल कक्षाबाट पनि विपतको बेला शिक्षा अगाडि बढ्दा मनमा खुसी छाएको छ। एक-एक घण्टाको फरकमा बिहान ११ बजेदेखि ४:३० बजेसम्म कक्षा सञ्चालन हुँदा दिनमा तीन विषय भए पनि अध्ययन गर्न सकिएको छ। पढाइको गति विस्तारै बढेकाले सिकाइको नयाँ-नयाँ अनुभव भइरहेको छ।
अहिले अन्य कार्यक्रम पनि भर्चुअल भएको देखेको छु। सायद हाम्रो शिक्षा अगाडि बढाउन पनि यसको विकल्प छैन। तर किन चलिरहेको कक्षा बन्द भयो होला? विद्यालय तथा सरकारले के विचार गरेको होला? के अब विद्यालय खुल्दै छ? यसको जवाफ मैले कतैबाट पनि पाउन सकेको छैन। सुनेको कुरा, अनलाइन कक्षा संचालन गरेबापत विद्यालयले शुल्क लिन खोजेको र सरकारले नदिएका कारण कक्षा बन्द भएको रे।
अनलाइन कक्षा नयाँ अनुभव हो। यसमा कक्षाकोठामा पढे जस्तो सजिलो छैन। कहिले इन्टरनेट, कहिले बिजुली, कहिले आइडी, कहिले डिभाइसको समस्या भोगेको छु। नयाँ अभ्यास भएर होला सायद ढाड दुख्ने, घुडा दुख्ने पनि भएकोमा पछि आराम महशुस गर्दै आएको छु। सबै कुरा व्यवस्थित गर्दै आएको छु। तर अनलाइन कक्षा कहिले संचालन हुने हो? के आधारमा संचालन हुने हो? बुझ्न सकेको छैन।
मेरो विचारमा यो बेला अनलाइन कक्षा जरूरी छ। धेरै लामो कक्षाभन्दा पनि छोटो कक्षा आवश्यक छ। क्रियाकलाप र मनोरञ्जन हुने खालको कक्षा चाहिएको छ। हामीलाई केही सिक्ने बुझ्ने मन छ। यो बेला गाइड गर्ने व्यक्तिको आवश्यक छ। त्यसैले, अनलाइन कक्षा चलोस् भन्ने छ। जहाँसम्म शुल्क को कुरा छ, विद्यालयले समय र प्रविधि प्रयोग गर्दै शिक्षा दिँदा खर्च त हुन्छ नै त्यसैले सुविधा दिनुपर्छ।
यता महामारीले गर्दा अभिभावकको पनि कमाई छैन। शुल्क कहाँबाट तिर्ने?
यो जटिल परिस्थितिमा अनलाइन कक्षा संचालन गर्न आवश्यक खर्च विद्यालयलाई सरकारले व्यवस्था गरोस्। अनि हाम्रो अनलाइन कक्षा पुन: संचालनको सहज व्यवस्था गरोस्। यसो गरे हामी बालबालिकाको शिक्षामा हाम्रो विद्यालय र सरकार असल अभिभावक बन्ने छ।
(प्रज्वल शाही, विद्या संस्कार स्कुल जोरपाटी, काठमाडौंमा कक्षा ५ मा अध्यययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)