सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
हेरिरहेँ अगाडि त्यो घामलाई
आफ्नै सुरमा अस्ताएको
हेरिरहेँ ती बादलका लहरालाई
आफ्नै तालमा बगेको
हेरिरहेँ ती अग्ला रूखलाई
इच्छा बिना लहरिएको
हेरिरहेँ ती रङ्गिबिरङ्गी पन्छीलाई
आकाशको नदीमा तैरिएको
छामिरहेँ त्यो चीसो हावालाई
फूलको सुगन्ध बोकेको
थाहा पाइरहेँ त्यो आकाशको नीलो रङ्ग
बिस्तारै कालो रङ्गसँग मिसिएको
थाहा पाइरहेँ ती काला बादलको रङ्ग
अझै गाढा बन्दै गएको
देखिरहेँ त्यो घामको किरण
पहाडभित्र लुकेको
देखिरहेँ ती अँध्यारा पहाड
घरका बत्तीले जगमगाएको
सुनिरहेँ त्यो लामखुट्टेलाई
कानमा बाजा बजाइरहेको
सुनिरहेँ त्यो बादलको गीत
डमरू बजाएर गाएको
त्रासले हेरेँ त्यो सेतो चमकलाई
बादललाई चिरीरहेको
थाहा पाइरहेँ त्यो लामखुट्टेलाई
मेरो खुट्टामा टोकिरहेको
महशुस गरेँ पानीको थोपा
तप्प-तप्प कपालमा ठोक्किइरहेको
सुनिरहेँ ती चराका चिरबिर
एकै सासमा रोकिएको
छामे त्यो लुगाको चिसोपन
जिउमा पानीले ल्याफ्फ बनाएको
खै कहाँ गयो त्यो लामखुट्टे
कता हो हराएको?
धेरै पछि देखेँ जूनलाई
बादलको बिचबाट फक्रिएको
सँगसँगै आए ती तारा
टिमटिम गर्दै चम्किएको
थाहा पाइरहेँ मेरा आँखा
निद्राले ओइलाएको
थाहा पाइरहेँ मेरो शरीर
थाकेर लत्रिएको
अर्को बिहान, हेरिरहेँ अगाडि त्यो घामलाई
आफ्नै सुरमा उदाएको
हेरिरहेँ ती बादलका धागा
जोडिएर लुगा बनेको
हेरिरहेँ, फेरि पनि हेरेको हेर्यै भएँ
प्रकृति अगाडि बढेको
अर्को दिन, अर्को साँझ
लठ्ठिएरै गएको।
(पूर्णिका वस्ती अक्षरा स्कुल काँडाघारी, काठमाडौँमा कक्षा ९ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)