सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोनाको आतंक उस्तै छ, यसको प्रकोप अब हाम्रो समुदायमा प्रवेश गर्ने डर छ।
थुप्रै देशहरू अझै लकडाउनमा छन्। सबैको काम, व्यापार र योजनामा क्षति पुर्याएको छ। पर्यटन व्यवसाय, उद्योगधन्दादेखि विद्यालयको पठनपाठन पनि असर गरेको छ।
विज्ञहरूले भनेका छन्- नेपालमा बालबालिकाहरू कोरोना संक्रमणको उच्च जोखिममा छन्। नेपालमा कोभिड संक्रमितमध्ये बालबालिका २० देखि ३० प्रतिशत छन्।
सरकारले लकडाउन केही खुकुलो बनाए पनि विद्यालयहरू चाँडै खुल्ने सम्भावना देखिँदैन। हामीजस्ता विद्यार्थीलाई चिन्ता र चासो आफ्नो पढाइको नै छ। चलिराखेको अनलाइन कक्षा गत साउन १ गतेबाट रोक्ने भनिएको छ।
हामी विद्यार्थीलाई नयाँ कुरा सिक्ने र जान्ने ठाउँ कुन हो त? सिकाउने स्कुल बन्द छ। अनलाइन कक्षाले दैनिक केही घन्टा भए पनि हामीलाई व्यस्त बनाएको थियो। शिक्षक र हामी विद्यार्थीबीच संवाद र सिकाई गराएको थियो। प्रविधीको नौलो प्रयोगबाट हामीमा उत्साह पनि थपेको थियो। प्रकृति जति नै निष्ठुर भए पनि हामीसँग प्रविधि त छ नि भन्ने विश्वास जगाएको थियो।
दैनिक तीन-चार घन्टा अनलाइन क्लासमा सरिक हुँदा धेरै ज्ञान मिलेको थियो। ठूलो उमेरको मान्छेजस्तो हामी बालबालिकालाई आफैं सबै किताब पढ्ने बानी हुँदैन। भनिदिने, झक्झकाइदिने र सम्झाइदिने कोही न कोही चाहिन्छ। अनलाइन कक्षा एउटा साहरा बनेको थियो। शिक्षकहरूले दिएको गृहकार्य गर्दै जाँदा दैनिक केही लेख्ने, पढ्ने र सिक्ने बानी टुटेको थिएन।
अहिलेको जमाना डिजिटलको हो। अनलाइन कक्षाकै कारण हामीलाई जुम, गुगल र अरू धेरै एप्लिकेसनबारे ज्ञान भयो।
शिक्षकहरूले अनलाइन सिकाइमा जुन तयारी र मिहिनेत गर्नु भयो, अनलाइन क्लास बन्द हुँदा उहाँहरूको त्यो सीपमा अब खिया लाग्छ। अनलाइन क्लासको तालिम लिएर हामीलाई कसरी हुन्छ बुझाएर, पढाएर र स्पष्ट पार्नु भयो। कक्षाहरू एउटा लयमा गइरहेका थिए। तर खोई के कारणले हो, अनलाइन कक्षा बन्द गरिए।
यो आधुनिक युग हो। विज्ञानले धेरै उपाय र विधिको आविष्कार गरेको छ। अनलाइन प्रविधिलाई प्रयोग गरी पढ्न पाउनु हाम्रो अधिकार हो। बालबालिकाको यो अधिकारको रक्षा गर्नु सरकारको दायित्व हो।
प्रविधि अहिले हाम्रो पहुँचमा छ। उहिले हाम्रा हजुरबुबा र हजुरआमाको पालामा यो सम्भव थिएन। अझै पनि नेपालका धेरै गाउँहरू जहाँ इन्टरनेट, स्मार्ट फोन र कम्प्युटर छैन, उनीहरूको पहुँचमा प्रविधि छैन। तर जहाँ र जोसँग पहुँच छ, त्यसको भरपूर प्रयोग गनुपर्छ।
हामी केटाकेटी स्वभावैले केही सिक्न, बुझ्न र जान्न इच्छुक र उत्सुक हुन्छौं। लकडाउन एउटा मौका बनेर आएको छ। पढ्ने, लेख्ने र आफूलाई मन लागेको विषय सिक्ने यो एउटा मौका पनि हो। यो मौका प्रविधिको मद्दतबाट मात्रै सम्भव छ। भाइरसबाट बचाउने र सिक्नुपर्ने कुरा सिकाउने वातावरणको ग्यारेन्टी गर्ने काम सरकारको हो।
बजार र यातायातजस्तै स्कुल खुलाएर यो कर्तव्य पूरा हुँदैन। अब कोरोना समुदायमा फैलिँदै छ भन्ने चेतावनी विज्ञहरूले दिइरहेका छन्। हामी सुरक्षित पनि हुन चाहन्छौं र सँगसँगै पढाई, लेखाई र सिकाई पनि चाहन्छौं। प्रविधिलाई रोकेर होइन, अपनाएर अगाडि बढौं।
प्रविधिमैत्री सिकाईलाई बेवास्ता नगरौं। अनलाइन कक्षा निरन्तरता दिऔं।
(मानुषी भण्डारी कुमुदिनी होम्स् मा.वि गैह्रापाटन, पोखरामा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)