सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
आहा! सेतो हिमाल!
तिम्रो आकाश छुने उच्चता
सुन्दर टम्म मिलेका दाँत झैं
तिमी चाँदीभन्दा पनि उज्ज्वल
कति आकर्षक तिम्रो रूप।
आहा! उच्च पहाड!
तिमीलाई कोमल झंकार दिँदै
शान्त शीतल वायुको प्रवाह
तिम्रो तलतिर सुन्दर तलाउमा
एक जोडा स्वच्छन्द राजहाँस।
आहा! पवित्र नदी!
पहाडबाट नागबेली झरेर
फाँटहरूलाई हरियो बनाउँदै
टाढा गएर नीलो समुद्रमा
हराउँछ्यौ पुनः नफर्किने गरी।
आहा! माता धरती!
तिम्रो तापमान बढेको कारण
हाम्रो अस्तित्व संकटमा देखेर
तिम्रो सजीवता कसरी बचाउने
मलाई चिन्ता छ संरक्षणको।
आहा! सुन्दर प्रकृति!
ओजन तहमा छिद्र बढ्दै जाँदा
तिमीलाई अरू हानी नपुर्याई
जीवन र जगत् दुवै मिलेर
सह-अस्तित्वमा अनन्त बाँच्न मन छ।
(अपेक्षा पौडेल क्यानेडियन ट्रिलेनियम स्कुल, ढाका बंगलादेशमा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)