सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम बिहानी शर्मा हो। मेरो घर रूकुम पश्चिमको चौरजहारी वडा नं. ५ खहरे हो। यसपालिको लकडाउनले मलाई धेरै नयाँ कुरा सिकायो।
कोरोना भाइरसको कारण हाम्रो विद्यालयमा निर्धारित समयभन्दा केही समय पहिले नै अन्तिम परीक्षा भयो। सबैतिर कोरोनाको डर भएकाले मम्मी, भाइ र म हतार-हतार गरेर जन्मस्थल रूकुम गयौं, बाबालाई काठमाडाैंमा छाडेर। बाटोमा घर फर्कनेको भीड थियो।
रूकुम बसाईको क्रममा धेरै नयाँ कुरा सिक्ने र देख्ने अवसर मिल्यो। हरेक मंगलबार साथीहरूसँग मिलेर नुहाउन खहरे खोलामा जान्थ्यौं। खोलाले हामीलाई बगाउँदै किनारसम्म लग्थ्यो। अनि पौडी खेल्न मजा आउँथ्यो।
असार लागेपछि झन् धेरै रमाइलो भयो। म पहिलो पटक रोपाइँमा सहभागी भएँ। मलाई एकदमै रमाइलो लागेर रोप्न गएको तर उनीहरूले मैले रोपेको उखेलेर फेरि रोपे। सबैभन्दा रमाइलो त साउने संक्रान्तिमा लुतो फाल्ने पर्व मनाउदा आयो। त्यस दिन हामीले साना-साना काठका टुक्रा जम्मा गरेर षडकोणमा राती आगो फोर अगुल्टो फाल्दा सबैजना रमाए। लुतो फाल्दा 'लुतोपुतो, काल, कष्ट, रोग, ब्याध, बिरामी सबै लैजाउ है कुदाल' भन्नुपर्दो रहेछ।
साउने मनाउनुभन्दा अगाडि मेरो साथी गणेशको हजुरआमा बिरामी हुनु भयो। उहाँ भारतबाट आउनु भएको थियो। केही दिन क्वारेन्टाइनमा बसेर बिरामी भएकाले गाउँलेहरूले अस्पताल लगे। सन्चो भएन। सबैले राम्रोसँग उहाँको हेरविचार गर्न सुझाव दिए। तर उहाँको घर परिवारले त्यसपछि झाँक्री बोलाए।
पहिले दौरा-सुरूवाल लगाएका झाँक्री राती ९ देखि ११ बजेसम्म ढ्यांग्रो बजाएर बसे। मैले पहिलो पटक झाँक्री देखेकी थिएँ। सबैले झाँक्रीले सन्चो बनाएको भने तर मलाई त्यति विश्वास लागेन। घर बस्दा म कुल पूजामा पनि सहभागी भएँ। त्यहीबेला एकजना हजुरबा देउता लाग्यो भनेर काम्नु भयो। उहाँलाई हेर्न धेरै मानिस आएका थिए। यो देखेर मलाई अचम्म लाग्यो।
घर बस्दा मूलको पानी ल्याउन घरभन्दा धेरै तल रहेको सिमको खोलामा जर्किन लिएर जान्थेँ। पानी चिसो र मीठो हुने भएकाले साथीहरूसँग मिलेर जाने गर्थेँ। त्यही बेला कहिलेकाहीँ निउरोको साग टिपेर पनि फर्कन्थेँ। हाम्रो घर वरपर नै निउरोको घारी छ। जति टिपे पनि सकिँदैन।
हाम्रो घरभन्दा केही माथि रहेको बेतेनीको जंगलमा काफल खान गयौं। अरूले टिपेर दिएको काफल रूखमुनि बसेर खाँदा निकै रमाइलो भएको थियो। फुर्सदको समयमा हजुरआमा र साथीहरूसँग रानीवनमा स्याउला ल्याउन पनि गएँ। पानी परेको बेला भैंसी बस्ने ठाउँमा चिसो हुने भएकाले सालको सुकेका पात अर्थात स्याउला राख्न सबैजना जंगलमा जान्छन्।
मैले गाउँमा बसेर रूख चढेर आरू, नासपती, मकै, तिमिला खान पाएँ। केरा पनि आफ्नै जग्गाबाट ल्याएर खान पाएँ। म परिवारसँग घरमा बसिरहेको बेला हाम्रो नगरपालिकामा एउटा दुखद घटना भयो।
एउटा विवाह हुन लागिरहेको थियो। जाजरकोटबाट बेहुली लिन केटाहरू आएको बेला सोतीगाउँका मानिसले बेहुलालाई मारे। यो घटनामा ६ जना मारिए। १२ जना घाइते भए। घटनापछि धेरै मानवअधिकारकर्मी र पत्रकार आए। घटनाको बारेमा जानकारी लिए। त्यसबेला मैले काठमाडाैं फर्कन धेरै प्रयास गरे पनि सकिनँ।
केही गर्दा पनि फर्कन नसकेपछि म मुसिकोट गएँ। मोटरसाइकलको पछाडि बसेर गएकी थिएँ। बाटो चिप्लो भएकाले डर लागेको थियो। मेरो माइलो अंकलले पुर्याइदिनु भयो। मुसिकोटमा तीन दिन माइजुसँग बसेँ। त्यसपछि म अरूले रिजर्भ गरेको गाडीमा एउटा सिटमा बसेर काठमाडाैं आएँ। गाडीमा मैले चिनेको कोही थिएन तर पनि म आएँ।
बाटोमा पुल भत्किएकाले हाम्रो गाडी मकवानपुर भएर आयो। म गाडीमै सुतेँ। बिहान उठ्दा पनि गाडी गुडिरहेको थियो। त्यो ठाउँ दामन रहेछ। त्यहाँबाट सेतो हिमाल देखिएको थियो। मलाई हिमालको नाम थाहा भएन।
मैले चार महिनामा धेरै नयाँ कुरा सिकेँ। गाउँमा भएकाले इन्टरनेट थिएन। अनलाइन कक्षा पनि भएन। मेरो स्कुल अझै खुलेको छैन। त्यसैले मैले अहिले किताब किनेर ल्याएकी छु। स्कुल खुल्ने आशामा बाबासँग बसेकी छु। भाइ र मम्मी हजुरआमा र हजुरबासँग गाउँमै छन्।
(बिहानी शर्मा अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर, काठमाडाैंमा कक्षा ५ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)