सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
चार महिनादेखि घरभित्र थुनिएर रहनुको पीडा एकातिर छ, अर्कोतिर अनलाइन कक्षा। अनि अनलाइन परीक्षा हुने तनाव पनि। जतासुकै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कोरोना महामारीको प्रभाव परेको छ। हाम्रो पढाइ समेत त्यस्तै छ।
यस्तोमा विद्यालयले अनलाइन परीक्षा लिने कुराले मलाई दिक्दार बनाउँछ। पढ्ने बेला त इन्टरनेटको बारम्बार कनेक्सन गर्नुपर्ने बाध्यता छ। मलाई आफ्नो मात्र नभएर अरूको पनि चिन्ता लाग्छ। कुन हालतसँग लड्दै होलान् मेरै उमेरकाहरू? फेरि यस्तो परिवेशमा नेपालका कतिपयले त कहाँ हामीले जस्तो भौतिक सुविधा पाएका होलान् र?
फोन गर्न त रूख चढ्नुपर्ने बाध्यता छ। यस्तोमा कसरी बसेका होलान् अनलाइन कक्षामा? रातभरी मनभरी खेलेका कुराहरूले निदाउन सकेको पनि छैन। परीक्षा छ भनेपछि गम्भीर रूपमा लिने हाम्रो सोचाइ पनि छ।
परीक्षा भन्ने बित्तिकै प्रतिस्पर्धाको फोटो देख्छु म त। नम्बरहरू उडिरहन्छन्। अनि मनले धेरै ठूलो नम्बरलाई समात्न खोज्छ। जहाँ सर्टिफिकेटहरू प्रतिस्पर्धा गर्छन्। अहिले १० कक्षाको प्रथम त्रैमासिक परीक्षा हुँदैछ। हामीलाई थाहा छ पढ्नुपर्छ। हामी नै देशको भविष्य हौं। पढ्छौं, लेख्छौं र भोलि देश पनि बोक्छौं। तर अहिलेको यस त्रासदीपूर्ण र कैदी जीवनयापनकै बेला हाम्रो मनस्थिति बुझिदिने को?
मेरो भनाइको अर्थ अनलाइन कक्षा नलिनु होइन तर कहिले शिक्षकको इन्टरनेट 'स्लो' हुने कहिले आफ्नो 'स्लो' हुँदा पठनपाठन त सुचारू हुन सकेको छैन भने कसरी बन्ला प्रभावकारी अनलाइन परीक्षा?
परीक्षा लिनु भनेको विद्यालयले आफ्नो मात्र जिम्मेवारी सकेर हुन्छ? यसमा हाम्रो विचार पनि त बुझ्नुपर्ने हो नि! अनलाइन परीक्षामा बस्दा त्यसै समय मेरो इन्टरनेट टुट्यो भने त मेरो 'मार्क्स' त गइ पो हाल्छ होला! म भन्नाले म जस्तै विद्यार्थी हुन्। हाम्रो भविष्य हाम्रो शिक्षकको हातमा पो छ त। हामी दश कक्षामा पढ्नेले यही 'मार्क्स'का लागि त प्रतिस्पर्धा गर्छौं नि; जसका लागि खाना, निद्रा सबै भुल्नुपर्छ। एउटा विद्यार्थी हुँ। मैले परीक्षा यो कारणले रोकियोस् भन्न त सक्दिनँ।
यो मात्र चिन्ताको विषय होइन। यसरी घरभित्र बसेर अनलाइन जाँच दिँदैछौं। यसमा केही कसैगरी भेदभावको असर देखियो भने भन्ने कुराले झन् खिन्न बनाउँछ। भेदभाव कस्तो हुन्छ देखेकी छु। साथीहरूबाट सुनेकी छु र भोगेकी पनि। यसरी शिक्षकहरूले विद्यार्थी माथि गर्ने भेदभावपूर्ण कुराले कति असर पुर्याउला?
विद्यालयहरूमा हुन्छन् यस्ता भेदभावहरू। यसले राम्रो पढ्ने विद्यार्थीलाई समेत मानसिक असर पुर्याइरहेको हुन्छ। यस्तो गर्नु हुँदैन भन्ने मेरो एउटा सुझाव पनि हो। शिक्षक वर्गहरू जसरी आदरको पात्र हुनुहुन्छ, त्यसरी नै उहाँहरूले गर्ने क्रियाकलाप पनि राम्रो हुनुपर्छ। शिक्षकले आफ्ना सम्पूर्ण विद्यार्थीलाई समान व्यवहार गर्नुपर्छ। समान रूपले सिकाउनुपर्छ।
बाहिरै देखिने गरेर गरिएको यस किसिमको भेदभावले भोलिका दिनहरूमा शिक्षकलाई हेर्ने दृष्टिकोण बदलिन पनि सक्छ। शिक्षक जसले आफ्नो कुनै एउटा विद्यार्थीलाई प्रिय बनाएर उसैलाई मात्र ध्यान दिने र उसैलाई मात्र धेरै नम्बर दिँदैनन् होला र? एउटा कक्षाकार्य गुगल क्लास मा 'पोस्ट' गर्न त घन्टौं लाग्छ भने परीक्षामा लेखेको कुरा 'पोस्ट' कसरी गर्ने? यो समस्या बुझिदिने को हो?
विद्यालयले अभिभावकलाई फोन गरिदिने वा आन्तरिक परीक्षामा थोरै नम्बर पाउने डरले भन्न नसकेको अवस्था पनि हुनसक्छ। यो आवाज भनेको म जस्ता सबै विद्यार्थीको प्रतिनिधि आवाज हो। मेरा मनभित्र यस्ता खुल्दुली मच्चाउने र कसरी सफल होला अनलाइन परीक्षा भन्ने विषयमा धेरै कुरा आइरहन्छन्। के मैले सोचेको जस्तै अंक आउला त? के मेरो प्रतिस्पर्धाले सार्थकता देला त?
(तेजस्वीतिमिल्सिना राजर्षीगुरूकुलमा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)