सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
म नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाडौंमा बस्छु। बुबाआमा र बहिनीसँग बस्छु। कोरोना भाइरसको बढ्दो जोखिमका कारण नेपाल सरकारले चैत ११, २०७६ बाट लकडाउन गरेको थियो। त्यसकारण, म आमा र बहिनीसँग घरमा बसेँ।
मेरो बुबा सिभिल इन्जिनियर हुनुहुन्छ। सिन्धुपाल्चोकमा निर्माणाधीन जलविद्युत परियोजनामा काम गर्दै हुनुहुन्छ। त्यही भएर उहाँ लकडाउन सुरूको समयमा हामीसँग हुनुहुन्नथ्यो।
लकडाउन अवधिमा मैले इन्टरनेटमा कोरोना रोकथामका उपायहरू खोजेँ। सामाजिक दूरी राख्ने, नियमित हात धुने र स्यानिटाइजर प्रयोग गरेँ। हामीले पसलमा आधारभूत सामानहरू जस्तै तरकारी, खानेकुरा, औषधि, आदि किन्न जाँदा केएन-९५ तथा सर्जिकल मास्क लगाउन सुरू गर्यौं।
हाम्रो स्कुल अन्तिम परीक्षा पूरा भएपछि बन्द भयो। लकडाउनको समयमा मैले विभिन्न कथा र कविताहरू अध्ययन गरेँ। लकडाउन अवधिले मेसेन्जरको माध्यमबाट आफन्तहरूसँग सञ्चार बढाएको थियो। मैले मेरो बुबासँग मेसेन्जर प्रयोग गरेर नियमित कुरा गरेँ। हामीले चितवन, अष्ट्रेलिया र अमेरिकामा रहेका आफन्तहरूसँग कुरा गर्न फेसबुक मेसेन्जरमा एउटा समूह बनायौं।
२०७७ वैशाखको पहिलो हप्तादेखि हाम्रो स्कुलले अनलाइन कक्षा सुरू गर्यो। म अनलाइन कक्षाको बारेमा धेरै उत्सुक थिएँ। अनलाइन कक्षाको प्रभावकारिता बारेमा सोचेँ। कक्षा सुरू भएपछि मेरो समय धेरै सजिलैसँग बित्यो। म प्रायः बेलुका गृहकार्य गर्थेँ। शिक्षकहरूद्वारा पढाइने अनलाइन कक्षाबाट धेरै प्रभावित भएँ। हाम्रो स्कुलले एलआरआई एप्स, माईक्रोसफ्ट टिम र जुम एप्समार्फत व्यवस्थित रूपमा अनलाइन कक्षा व्यवस्थापन गरेको थियो।
मेरो बुबा लकडाउनको बिदामा आउनु भयो। उहाँ हामीसँग दुई हप्तासम्म सम्पर्कमा आउनु भएन। अर्को कोठामा घरमा नै होम क्वारेन्टाइनमा बस्नु भयो। उहाँले हामीलाई भन्नु भयो कि यो कोरोना नियन्त्रण र रोकथामका लागि आवश्यक छ।
लकडाउन अवधिले यातायातका साधनको आवतजावत, आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू रोकेको थियो। हामी सबैको लागि धेरै गाह्रो अवस्था सृजना भएको थियो। सबैले आफ्नो साथी र परिवारसँग भेट्न पाएका थिएनन्। धेरै मानिसहरू बेरोजगार भएकाले पैसाको समस्या थियो। त्यस्तै, खाद्यान्न आपूर्ति र अन्य आवश्यकताको अभाव थियो। मानिसहरू खाद्यान्न र कृषिजन्य उत्पादनहरूको खोजीमा थिए।
लकडाउनले मलाई इन्टरनेटमा नयाँ पाठ्यसामाग्री अध्ययन गर्न मद्दत गर्यो। जसले मेरो ज्ञान बढाउन मद्दत गर्यो। मैले आफ्ना आमाबाबुलाई नियमित रूपमा घरेलु गतिविधिहरूमा पनि सहयोग गर्न थालेँ। संसारको अपडेट थाहा पाउन दैनिक समाचारहरू पढ्न थालेँ। लकडाउनको समयमा व्यायाम पनि गर्न थालेँ। विभिन्न अनलाइन लेख पढ्न सुरू गरेँ।
लकडाउनले हामीलाई खाना र कृषि उत्पादनको महत्त्व महशुस गरायो। मेरा छिमेकीहरूले प्रयोग नभएका जग्गाका प्लटहरू खनेर मकै र तरकारी रोपेँ। लकडाउन अवधिले हामीलाई मानिसको जीवनको महत्त्व सिकायो र हाम्रो पारिवारिक सम्बन्धहरू अझ बलियो बनायो।
(सुजल भुर्त्याल एलआरआई, कलंकिमा कक्षा नौ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)