सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
शिक्षाले मान्छेको जीवनमा ठूलो भूमिका खेलेको हुन्छ। यसले मान्छेको भविष्य निर्माण गर्न सघाउँछ। शिक्षाले बुद्धिको वृद्धि गर्छ र महत्त्वपूर्ण दक्षता दिलाउँछ।
विद्यालय शिक्षा पाउने एक मुख्य स्थान हो। आफ्ना उमेरका दौंतरी बनाउने ठाउँ पनि हो। शिक्षा सफलता र सचेतनाको मुख्य बाटो पनि हो।
शिक्षाका फाइदा धेरै छन्। यसले डाक्टर, इन्जिनियर, शिक्षक, लेखक जस्ता विभिन्न क्षेत्रमा व्यवसायीहरू उत्पादन गर्छ। यसले मानिसलाई अवसर प्रदान गर्छ र उसलाई अझ राम्रो मान्छे बनाउँछ। यसले मान्छेलाई के सही र के गलत हो भन्ने छुट्याउन सिकाउँछ। मान्छेमा अनुशासन, धैर्य र जिम्मेवारी जस्ता महत्त्वपूर्ण गुणहरू स्थापना गर्न सघाउँछ।
नेपालका ग्रामीण क्षेत्रमा कैयौं अभिभावक आफ्ना छोराछोरीलाई शिक्षा दिलाउनेप्रति त्यति जागरूक देखिन्नन। यो रोक्न भनेर ल्याइएका विशेष कार्यक्रम अझ बढी प्रभावकारी बनाउन आवश्यक देखिन्छ। कार्यक्रम प्रभावकारी बनाउन खासगरी अभिभावकलाई चेतना दिन आवश्यक छ। त्यस्तो चेतना विद्यालय पठाउ भन्ने मात्र होइन कि उनलाई शिक्षाको महत्त्व राम्ररी बुझाउन पनि जरूरी छ।
सरकारी विद्यालयहरूले आफ्नै सहर वा क्षेत्रमा राम्रो गरिरहेका विद्यालयसँग सिक्नुपर्छ। विद्यालय बच्चाहरूका लागि जाउँ-जाउँ लाग्ने स्थान बन्नुपर्छ। खाली पाठ्यपुस्तक पढाएर मात्र त्यस्तो वातावरण बन्न सक्दैन। बच्चाहरूका लागि खेल्ने, शारीरिक अभ्यास गर्ने, गीत सङ्गीतका कक्षाहरू कला सिकाउने कक्षाहरू पनि हुनुपर्यो। वादविवाद गर्ने कविता-कथा-निबन्ध प्रतियोगिता पनि हरेक वर्ष आयोजना गर्नुपर्छ।
शिक्षा विश्वका सबै कुनामा उपलब्ध हुनुपर्छ। जसले सबैलाई फाइदा पुर्याउँछ। विद्यालय जाने उमेरका सबै बच्चाहरू विद्यालय जान पाए भने त्यसले संसारमा ज्ञानको वृद्धि हुन्छ। यो विश्वमा कति उज्जवल दिमाग छन् जो विद्यालय जान र शिक्षा पाउन कुरिरहेका छन्। यदि देशले तत्कालै शिक्षामा लगानी गर्छ भने यसले भविष्यमा देशलाई नै फाइदा गर्नेछ।
अभिभावकहरू आफ्ना छोराछोरीलाई कुनै हालतमा विद्यालय पठाउन इच्छुक र तयार हुनुपर्छ। निजी विद्यालयहरूले सहयोग आवश्यक पर्ने सरकारी विद्यालयलाई सहयोग गर्नुपर्छ। यी सबै काम गरिएमा एक दिन विश्वभर सबैजना शिक्षित हुनेछन्। त्यसो भएमा नयाँ-नयाँ कुरा आविस्कार हुनेछन्।
(आश्रव वन्त रातो बङ्गला स्कुल, ललितपुरमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)