सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
लाखौंका इँट्टा, बालुवा, सिमेन्ट अनि हजारौंका रङ दलिएका ती महंगा भित्तामा टाँसिएको फोटो धुलाम्मे थियो। जति महत्व ती निर्जीव भित्ताले बोकेका छन् त्यति महत्त्व त त्यो फोटोले बोकेको नहुँदो हो।
एक मात्र उद्देश्य थियो त्यो तस्बिरको त्यहाँ, आफ्नोपनको देखावटी। करोडौंमा रम्ने घरका मालिकको त्यो तस्बिरमा ध्यान नपुग्नु स्वभाविक होला। त्यहाँ त नोकरको समेत ध्यान पुगेको थिएन। आफ्नो अस्तित्व भुलेर नाम कमाउँदै थिए ती घरका सदस्य या भनौं मेट्दै थिए आफ्नो पहिचान।
नाम दिनेलाई बिर्सिएर आफ्नो नाम कमाउनु रित बन्दै छ यहाँ। जति पुरानो सम्बन्ध थियो फोटोको ती घरका परिवार र आँगनसँग, उति नै बदलिँदै थियो त्यो फोटोसगँको सम्बन्ध।
कहीँ टाढा पैसाको लोभमा खोलिएका 'इल्डरली केयर होम' सजिँदै थिए वृद्धवृद्धाको रेखदेखमा फेरि उही देखावटीको व्यापारमा। यहाँ त लोभी सेवाग्राही र सञ्चालनकर्ता मात्रै थिए। ती घर फर्किने आशमा अस्ताउनै लागेका जन्मकर्ता र जन्मदातालाई भने यथार्थले छोएकै रहेनछ। उनीहरू घृणामा पनि माया खोज्दै थिए। लकार्नुमा पनि सत्कार खोज्नु कतिसम्मको उचित हो?
प्रत्येक दिन ती धमिला दृष्टि ढोकालाई नियाल्थे जहाँबाट कोही आफ्नो बनेर छिर्ने छैन। टेबल र खाट पुराना भए पनि त्यहाँ राखिएका तस्बिर र सम्झना पुराना भएका थिएनन्। ती चाउरी परेका फुस्रा छालाभन्दा ती तस्बिरहरू चम्किन्थे। धुलो र फोहोरसँग परिचय नै पाएका थिएनन् ती फोटाहरूले।
ती आशाले भरिएका सपना देख्नेमध्ये एक थिए, डा.भरत सिंह।
कुनै बेला यो नाम नै काफी थियो उनको घर भरिभराउ हुन्। पत्नी 'देवी'को साथ छुटेको ४५ दिन नहुँदै उनको साथ छुट्यो आफ्नै घरबाट। जुन छोराको हात समाएर उनले आफ्नो घर भनी चिनाएका थिए उही छोराले उनको हात समाएर 'इल्डरली केयर होम' चिनाए। पत्नी वियोगको पीडालाई परिवारको स्नेह र ममताले साट्न खोज्ने दुष्प्रयासको फल भोग्दै थिए उनी।
ज्यालादारी र मजदुरी गरेरै भरतका बाबुआमाले उनलाई डाक्टर बनाएका थिए। जीवनमा पहिलोपटक आफ्नै छोराबाट उनीहरूले ज्वरो र बिपी नापेका थिए। आफ्नी आमाले सिलाइदिएको पहिलो सेतो कोट अझै उस्तै छ। सायद बाबुआमाको दुःख महशुस गरेर होला उनलाई उनीहरूसँग टाढा रहने सोचले समेत छोएको थिएन।
आफूलाई शिखरमा चढाएर सतहमा रम्ने बाआमाको अन्तिम साससम्म साथ रहे उनी। भरतलाई गरिबी र अध्याँरोको बाल्यपनको पीडा राम्रोसँग थाहा थियो। नाम र दाम नभएसम्म यो समाजमा टिक्न नसकिने सत्यसँग अवगत थिए उनी। भरत एक सुखी बाल्यकाल दिन चाहन्थे आफ्ना छोराछोरीलाई। उनले आफ्नो क्षमताभन्दा पनि बढी खुसी भरिदिएका थिए उनीहरूको जिवनमा।
'नाइँ' र 'कमी'को कहिल्यै भान भएन उनीहरूलाई। जुन कुरामा उनी गर्व गर्थे त्यहीँ परिवेशले उनलाई आज हेला महशुस गरायो। सायद छोराछोरीलाई 'कमी'को महशुसबाट टाढा राख्नु नै उनको गल्ती थियो। यदि भरत र देवीले उनीहरूलाई जस्तै आफ्ना सन्तानलाई पनि थोरै परिश्रम र असहजताको पाना पढाएको भए आज उनी वृद्धाश्रम धकेलिने थिएनन् कि?
आफूलाई जिवनको अन्तिम पलमा साथ दिनु त परैको कुरा विदा लिइसकेपछि दागबत्ती पनि दिन नभ्याउने व्यस्त सन्तानबाट कस्तो आश राख्नु उत्तम हुनेछ एक अभिभावकले? माया बटुल्ने उमेरमा चौगुना हेला बटुलेका ती बुढा आमाबाबुलाई सत्य थाहा थिएन होला त? उनीहरू औंशीको रातमा जुनको अपेक्षा गर्दै थिए।
भरतलाई भेट्न आउने नातिनातिनाबाट झोलाका पोकाभन्दा पनि मायाको ढिक्काको प्रतीक्षा रहन्थ्यो। उनका नातिनातिनालाई त रगतको नाताभन्दा पनि बोझको नाता बढी थाहा थियो। उनीहरूका नजरमा उनी बाबुको बा (हजुरबुबा) थिएनन्। उनीहरूका लागि उनी एक बुढो फलको वृक्ष थिए जुन वृक्षको मनमोहक फूल र स्वादिलो फलको रस भुलिसकेका थिए।
याद थियो त त्यो बेकामको बुढो वृक्ष जसको मेटिनुबाहेक अरू कुनै वास्तविकता छैन। आफ्नै आमाबुबाले अवहेलना गरेका हजुरबुवा प्रति त्यो हृदयमा कसरी माया र सम्मान गासिँयोस्?
आज लल्कारेको दृश्य देखेका ती नयनले भोलि कस्तो दृश्य देखाउने छन् यो सोच्नु के बेठीक होला?
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)