कविताः
पूर्वमा मेची बग्दै छ पश्चिम बग्छ महाकाली
उत्तर ठाडो सगरमाथा दक्षिण खेतमा धानका बाली
क्षेत्रफलमा धेरै ठूलो छैन होला मेरो देश
तर पनि १२५ जातिका अनेक छन् भाषा, अनेक भेष।
समथर तराईमा यहाँ पाइन्छ मलिलो माटो
पहाडतिर गई हेरौं ऊकाली ओरालीको बाटो
हिमाल पुग्दा हिउँ पर्ने, चिसो हुन्छ है त्यहाँ
यस्तो विविधता भूगोलमा पाइन्छ अरू कहाँ?
ताप्लेजुङ पाथीभरा जाऔं, हिडौं जानकी मन्दिर
दर्शन गरौं मनकामना, पूरा हुनेछ कामना हुने छैन पीर
सीता यही जन्मेकी थिइन्, जन्मेथे बुद्ध जस्ता महाज्ञानी
सपुतहरूको भूमी हो यो, हुँदैन कोही अभिमानी।
वर्तमान परिस्थिति भने अलिकति नाजुक छ
न मेरो देश कहिल्यै झुकेथ्यो, न त अब झुक्छ
हामी कमजोर भएका होइनौं, छिमेकी अभिमानी भयो
छिटो प्रगति गर्यो उसले अहंकार हाबी भयो।
हाम्रो एकता अझ बलियो छ कुनै शंका छैन
बुद्धको भूमि हो यो रावणको लंका होइन
पूर्वमा मेची बग्दै छ पश्चिम बग्छ महाकाली
उत्तर ठाडो सगरमाथा, दक्षिण खेतमा धानका बाली।
(आयुश मिश्र रत्न राज्य मा.वि., काठमाडौंमा कक्षा १० मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)