सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
यस सुन्दर संसारमा हामीलाई ल्याउने काम हाम्रो आमाले गर्नुहुन्छ। आमाले हामीलाई जन्माई हुर्काउनुहुन्छ। आमाले हामीलाई हिँड्न र बोल्न पनि सिकाउनुहुन्छ।
भगवान विश्वका हरेक घरमा जान नपाएर उहाँले हरेक घरमा आमालाई पठाउनुभयो। आफ्नो शीतल छायामा आमाले हामीलाई ज्ञानगुनका कुरा सिकाई योग्य र सफल व्यक्ति बनाइदिनुहुन्छ।
आमा आफ्नो अमूल्य समय र सम्पूर्ण काम त्यागेर हाम्रो हितको बारेमा सोच्नुहुन्छ। आफू खाना नखाए पनि आमा हामीलाई खाना जसरी पनि खुवाउनुहुन्छ। आमाको त्याग निकै महान हुन्छ। दुःखकष्ट वा कुनै समस्या पर्दा आमा हाम्रो हौसला बढाई हामीलाई त्यस समस्याबाट निस्कन प्रेरणा दिनुहुन्छ।
हाम्रो आँखामा आँसु देखे आमाको चित्त दुख्छ भने हाम्रो मुखमा मुस्कान देख्दा आमा खुसी हुनुहुन्छ। हाम्रो खुसीमा नै आमाको खुसी रहेको हुन्छ। हामीलाई ज्वरो वा कुनै रोग लाग्दा आमा नै हाम्रो हेरचाह गर्नुहुन्छ। हामी सन्तानको लागि आमा हाम्रो छाता जस्तै हुनुहुन्छ। जसरी छाताले हामीलाई घाम र पानीबाट जोगाउँछ, आमाले पनि हामीलाई दुर्घटनाहरूबाट जोगाउनुहुन्छ।
जीवनमा आमा हाम्रो मार्गदर्शक बनी हामीलाई सही मार्गमा हिँडी असल कर्म गर्न प्रेरणा दिनुहुन्छ। हामी सन्तानले आमाको महत्त्व बुझ्नुपर्छ र आमाको भावनाको कदर गरी सम्मान गर्नुपर्छ।
सफा मनले हामीले आमाको सेवा गर्नुपर्छ। आमा भनेकै भगवान हुनुहुन्छ र मार्गदर्शक बनी हाम्रो सुख र दुःखमा आमाले नै हाम्रो साथ दिनुहुन्छ। आमाको महिमा साँच्चिकै अपरम्पार छ।
(सिद्धान्त यादव बुढानीलकण्ठ स्कुल, नारायणस्थान काठमाडौँमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)