सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
इन्टरनेट विश्वभरीका कम्प्युटरहरूको नेटवर्क हो। वेबसाइटको माध्यमबाट संसारभरी यसले आफ्नो जालो फैलाएको छ।
विभिन्न वेबसाइटहरू इन्टरनेटमा रहेका सर्भरहरूमा भण्डार गरिएको हुन्छ। इन्टरनेटको माध्यमबाट हामीले संसारको जुनसुकै कुनामा बसेर पनि औंला चलाएको भरमा आफूलाई चाहिएको सूचना प्राप्त गर्न सक्छौं।
हामीले विभिन्न उद्देश्यका लागि इन्टरनेटको प्रयोग गर्ने गरेका छौं। यसलाई ज्ञान आर्जनको साधन बनाउन सकिन्छ। यो सूचना आदान-प्रदानको माध्यम हुनसक्छ। सञ्चार र कुराकानी गर्न उपयोग गर्न सकिन्छ। मनोरञ्जनको साधन पनि हुनसक्छ। अनि व्यवसाय गर्ने ठाउँ पनि बनाउन सकिन्छ। साथीभाइसँग छलफल गर्न सकिन्छ।
हामीले यसलाई धेरै कुराका लागि प्रयोग गरिरहेका पनि छौं। जस्तै: अनलाइन स्कुलका लागि, अध्ययन र अनुसन्धानका लागि, समाचार र मनोरञ्जनका लागि, आदि। अनि हामी बालबालिकाले भिडियो गेमहरू खेलेर समय बिताउन पनि यसलाई उपयोग गरिरहेका छौं।
मेरो विचारमा हामीले इन्टरनेटलाई सदुपयोग मात्रै हैन दुरूपयोग पनि गरिरहेका छौं। इन्टरनेटमा राम्रो सामग्री मात्र हुँदैन। मानिसलाई कुलतमा लगाउने खालका नराम्रा सामग्री पनि हुन्छन्। हामीले छानेर राम्रो सामग्री पत्ता लगाउन सक्नुपर्छ। हामीले इन्टरनेटमा राम्रो, ज्ञानवर्द्धक, मनोरञ्जक र सूचनामूलक सामग्री छान्न सक्नुपर्छ।
हामी बालबालिकाले आँखा दुख्ने गरी भिडियो गेम खेलेर मात्र बस्नु हुँदैन। भड्काउने खालका सामग्रीबाट टाढा रहनु सक्नुपर्छ। कहिलेकाहीँ फुर्सदमा खेल्नुलाई नराम्रो मान्न सकिँदैन तर यसलाई कुलत बनाउनु हुँदैन। म यहाँ इन्टरनेटको सही सदुपयोग कसरी गर्ने भन्ने सन्दर्भमा चर्चा गर्न चाहन्छु।
सामाजिक सञ्जाल:
यसमार्फत विचार आदान प्रदान, आफ्ना कुरा व्यक्त गरी प्रतिक्रिया लिने आदि गर्न सकिन्छ। साथै, आफूले लेखेका लेख, रचना आदिलाई सुझावका लागि राख्न सकिन्छ। साथै, आफूलाई लागेको विचार व्यक्त गर्न सकिन्छ। तर यसको नाम नै सामाजिक भएकाले समाजले पचाउने सामग्री मात्र यसमा राख्नुपर्छ। फेसबुक, ट्वीटर, युट्युब, इन्स्टाग्राम, आदिको सभ्य प्रयोग गर्नुपर्छ। कसैको लेख, रचना, विचार वा फोटोमा आक्रामक र असभ्य प्रतिक्रिया दिनुहुन्न।
अध्ययन र अनुसन्धान (यदि हामीसँग इन्टरनेट छ भने हामी अनुसन्धान गरेर विभिन्न कुराहरू पत्ता लगाउन सक्छौं। हामीलाई विभिन्न विषयको पढाइका लागि चाहिने राम्रो सामग्री प्रयोग गरेर पावर प्वाइन्ट तथा गृहकार्य गर्न सक्छौं। जति धेरै इन्टरनेटमा सामग्री खोजेर प्रयोग गर्छौं, हाम्रो प्रस्तुति उति नै राम्रो हुन्छ।
छलफल र विचारहरूको आदान प्रदान:
उस्तै विचार तथा उस्तै सोख भएका मानिसहरूबीच साझा समूह बनाएर छलफल गर्न सकिन्छ। हाम्रा दिमागमा धेरै विचारहरू हुन्छन्। समयमा विचार व्यक्त गर्न सकिएन भने यस्ता विचार हाम्रो दिमागभित्र मरिरहेका हुन्छन्। यस्ता विचारलाई साझा समूहमा प्रस्तुत गर्ने र छलफलमा ल्याउनु राम्रो हुन्छ। सबैलाई राम्रो लागेमा यी विचारलाई बाहिर प्रकाशनमा ल्याउन सकिन्छ।
मनोरञ्जनको साधन:
इन्टरनेटबाट अनलाइन सामग्रीहरू जस्तै: राम्रो डकुमेन्ट्री र सिनेमा हेरेर मनोरञ्जन तथा ज्ञानसमेत लिन सकिन्छ। चित्र वा एनिमेसन बनाएर वा अभिनय गरेर अनलाइन प्रकाशन गर्न सकिन्छ। इन्टरनेटबाट सङ्गीत, कविता, नाटक, कथा, उपन्यास, आदि सुनेर आनन्द लिन सकिन्छ।
सूचना र समाचारको माध्यम:
घरमा बसेर संसारको कुनै कुनामा भएका घटना अनलाइन समाचारबाट तत्काल थाहा पाउन सकिन्छ। सूचना र समाचारका लागि विभिन्न साइटहरू हुन्छन्। गलत सूचना दिने साइट हेर्नु हुँदैन। विश्वासिला साइट (जस्तो कि कान्तिपुर, सेतोपाटी, आदि) बाट समाचारमा अपडेट हुनुपर्छ। आफू अपडेट भएको समाचार घर, परिवार, साथीभाई र आफन्तलाई पनि सुनाउनु पर्छ। समयमा पाएको सूचनाले कहिलेकाहीँ धेरै ठूलो फाइदा हुन्छ।
रोजगारीको माध्यम:
हामी इन्टरनेटबाट रोजगारी खोज्न सक्छौं। साथै, इन्टरनेटका माध्यमबाट काम गरेर पैसा कमाउन सक्छौं। घरमा बसेर इन्टरनेटमा काम गरेर जीविका चलाउन सक्छौं। हामी स्व-रोजगारी पनि गर्न सक्छौं। राम्रो भिडियो बनाएर युट्युबमा राखेर पैसा कमाउन सकिन्छ। तर यसका लागि सृजनात्मक र व्यवसायिक हुनुपर्छ। क्षणिक भाइरल हुने सोचले गलत भिडियो बनाउनु हुँदैन।
सामाजिक दूरी कायम:
कोरोना भाइरसका कारण लकडाउन हुँदा इन्टरनेटको अनलाइन उपयोग धेरै नै बढेको छ। हामी अनलाइनबाट कक्षा लिइरहेका छौं भने अनलाइन किनमेल पनि गरिरहेका छौं। यसैगरी, डाक्टरको सल्लाह अनलाइन लिइरहेका छौं। अनि अनलाइन बैंकिङसमेत गरिरहेका छौं। अनलाइनबाटै अफिसको काम पनि भइरहेको छ। अनलाइन उपयोगका कारण सामाजिक दूरी कायम हुने भएकाले कोरोना भाइरस फैलनबाट यसले बचाइरहेको छ।
र अन्तमा, इन्टरनेट एकदमै राम्रो साधन भएकाले यसलाई सदुपयोग गर्नुपर्छ। यसलाई सकारात्मक कार्यको लागि प्रयोग गर्नुपर्छ। अनि नकारात्मक पक्षलाई क्रमशः कम गर्दै लैजानु पर्छ। इन्टरनेटको दुरूपयोग गरी स्रोत र समयको बरबादी गर्नु हुँदैन। हाम्रो र समाजको भविष्य सुन्दर बनाउनका लागि नै यसको उपयोग गर्नुपर्छ।
(अपिल पौडेल बंगलादेश, ढाकामा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)