सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कथा:
पहाडै-पहाड, डाँडै-डाँडाले भरिएको देश नेपालमा एउटी राता गाला, गाजलु आँखा, सुन्दर लामा कपाल मोहनी लगाउने केटी थिई। कान्छी आफ्ना प्यारा आमाबुवा र चकचके भाइसँग एउटा साधारण परिवारमा हुर्केकी गाउँकी सोझी केटी थिई।
ऊ एघार वर्षकी भए पनि काम गरेर कान्छी र उसको परिवारले गुजारा गर्थे। गरिब र अशिक्षित भएकाले कान्छी अरूको घरमा काम गर्थी। त्यसैगरी, उनी खेलेर-कुदेर काम गरेर बस्थी।
एक दिन सहरमा बस्ने एउटा लालची केटो कान्छीको गाउँमा पुग्यो। उसको नाम वितान्त थियो। उसले कान्छीलाई काठमाडाैं सहर लग्ने भनेर लालच देखाएर आफ्नो जालमा फसायो।
उसले भन्यो, 'तिम्रो परिवारको दु:ख-कष्ट सबै जान्छ। तिमी आफ्नो गाउँभन्दा सहरमा अझै सुखी हुनेछौ। सहरका झिलीमिली बत्ती, गाडी, घर र अरू सबै सुविधा तिम्रो गाउँको भन्दा धेरै राम्रा छन्।'
कान्छी अशिक्षित थिइन्। वितान्तको मायालु जालमा सजिलै फसिन्। त्यस दिनको भोलिपल्ट कान्छी रातीतिर कसैलाई नभनी फटाफट आफ्नो सामान बाँधेर झ्यालबाट हाम्फालेर सुटुक्क गई।
वितान्त र कान्छी बसमा चढेर बिहानतिर काठमाडाैं सहर पुगे। काठमाडाैंको झिलीमिली ठाउँहरू देखेर कान्छी आकर्षित भई। उसले तिन-चार दिनसम्म मीठो खाना खान पाई। सहरका राम्रा ठाउँ घुम्न पाई तर यो सुख धेरै दिनका लागि थिएन।
केही दिनपछि वितान्तले उनलाई अर्को बसमा बसालेर काम गर्ने ठाउँ पुर्याइदिन्छु भन्यो। त्यसपछि, अर्को दिन हेर्दा ऊ भारतको अनौठो ठाउँमा थिई। वितान्तले उनलाई आफ्नो फाइदाका लागि बेच्यो। उनलाई आफ्नो गलत निर्णयले ठूलो संकटमा परेको पछुतो भए पनि अब यस जालबाट बाहिर निस्किन सकिन्न भन्ने थाहा भयो।
यो कथाले भन्न खोजेको छ कि हरेक वर्ष थुप्रै महिला किनबेच हुन्छन्। त्यसैले, हामीले उनीहरूलाई शिक्षित बनाउनुपर्छ ताकि राम्रो-नराम्रो छुट्याउन उनीहरू सकून् र जीवनमा सफलता प्राप्त गर्न सकून्।
(मिसिका जयसवाल बुढानिलकण्ठ स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)