सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
म स्कुलमा साथीहरूसँग खेल्छु। घरतिर पनि मेरा साथीहरू छन्। यी साथीहरू मेरै उमेरका छन्।
मेरो एउटा साथीको उमेर भने मभन्दा धेरै बढी छ। उमेर फरक भए पनि हामी रमाएर खेल्छौं। कहिलेकाहीँ हामी कुस्ती खेल्छौं, रिसाउछौं पनि। हामी खेल्दा बुबु (हजुरबुवा) र नी (मामा घरको हजुरआमा) ले नगर भन्नुहुन्छ। हामी सोफामा खेल्दा आमु (आमा) ले गाली गर्नुहुन्छ।
मलाई मेरा अरू साथीहरूले पिट्न पनि सक्छन् भनेर डर लाग्छ। तर यो साथीसँग भने डर लाग्दैन। कोरोनाको बेला बाहिर जान पाइँदैन। त्यसैले हामी घरभित्रै खेल्छौं। घरभित्र चेस, लुडो आदि खेल खेल्छौं।
हामी कहिलेकाहीँ छतमा फुटबल पनि खेल्छौं। एक दिन फुटबल घर नजिकैको झाडीमा खस्यो। त्यो साथीले जुक्ति लगाएर फिर्ता ल्यायो। साथीले मलाई ज्ञानगुनका कुरा पनि भन्छ। उसले मलाई दक्षिण एसिया, राजनीति र व्यापारका बारेमा पनि भन्छ। म उसका यस्ता सबै कुरा बुझ्दिनँ।
म धेरै प्रश्न सोध्छु। कहिलेकाहीँ ऊ वाक्क हुन्छ। तर पनि उसको कुरा सुन्न मलाई मनपर्छ। म पनि ठूलो मान्छे भए जस्तै लाग्छ।
मलाई धेरै खेल्न मनपर्छ। तर ऊ अल्छी पनि छ। ऊ सुतिराख्छ र मोबाइल धेरै चलाउन मन पराउँछ। यस्तो बेला मैले खेलौं भन्दा सुरूमा नाइँ भन्छ। तर म उसलाई फकाउँछु। अनि फेरि हामी खेल्छौं। उसँग खेल्न मलाई रमाइलो लाग्छ।
मेरो यो साथी अरू कोही नभई मेरो बाबा हो।
लकडाउन हुनुभन्दा अगाडि बाबासँग धेरै खेल्न पाइँदैन थियो। अहिले पाइन्छ। बाबा मेरो लकडाउनमा मिल्ने साथी हो। बाबा मेरो साथी।
(बेला अवस्थी रातो बंगला स्कुलमा कक्षा तीनमा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)