सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो कक्षा ६ को अन्तिम परीक्षा २०७६ चैत्र ५ गते सकियो। परीक्षा सकिएको भोलिपल्ट नै म मामाघर विराटनगरमा पारिवारिक कार्यक्रममा गएँ।
म र ठूलो मामु हवाइजहाजबाट विराटनगर पुग्यौं। मलाई मामाघरमा रमाइलो भएको थियो। त्यहाँ मेरो सबैसँग भेट पनि भयो। तीन दिनपछि म मेरो ठूलो बाबाको घर इटहरी गएँ। इटहरीमा रहँदा नै कोभिड-१९ को कारण देशभर लकडाउन सुरू भयो। त्यसैले, म इटहरीमा नै रहेँ, काठमाडौं फर्किन पाइन्।
लकडाउनको सुरूको अवस्था रमाइलो भयो। धेरै समयपछि हजुरबुबा, ठूलो बाबा, ठूलो मामु, दिदी, भिनाजु र भाञ्जासँग भेट भएको थियो। लकडाउनकै अवस्थामा नयाँ वर्ष पनि आयो। तर यो नयाँ वर्ष पहिलेको जस्तो लागेन। लकडाउन नखुलेपछि मेरो स्कुलको अनलाइन कक्षा वैशाख ८ गतेबाट सुरू भयो। एक-दुई दिन मेरो अनलाइन कक्षा राम्ररी चलिरहेको थिएन। किनकी मेरो लागि अनलाइन कक्षा बिल्कुलै नयाँ र नौलो अनुभव थियो।
कुनै पनि नयाँ कुरा झट्टै नजाने पनि प्रयास गर्दा-गर्दै बिस्तारै सिकिने रहेछ। एक-दुई दिनपछि धेरै प्रयास गरेपछि यसमा सफल भएँ। यसरी नै बितेका थिए मेरा दिनहरू इटहरीमा। बिहान उठ्थेँ, तातो पानी र चिया पिउँथे। मेरो अनलाइन कक्षा छ भनेर दिदीले हतार-हतार खाना पकाउनु हुन्थ्यो अनि म खाना खान्थेँ। मेरो अनलाइन कक्षा बिहान ९ बजे सुरू हुन्थ्यो र दिउँसो ३:३० मा सकिन्थ्यो। प्रत्येक कक्षा सकिएपछि बीच-बीचमा ब्रेक हुन्थ्यो, म त्यसबेला शौचालय जाने, खाजा खाने गर्थेँ।
म इटहरीमा हुँदा मेरो भाइलाई एकदमै धेरे सम्झिरहन्थेँ। ऊ काठमाडाैं मै थियो। ऊ मेरो भाइ मात्र थिएन, साथी पनि थियो। त्यसो त भाइको मात्रै होइन, बाबामामुको पनि सम्झना आइरहन्थ्यो। काठमाडौं आउनको लागि धेरै प्रयासहरू भइरहेका थिए। तै पनि कोभिडका कारण देश लकडाउनमा थियो। त्यसैले, सम्भव भइरहेको थिएन।
यसै बीच मेरो भिनाजुको साथीको गाडीमा जापान जाने मान्छेहरूलाई लिएर काठमाडौं जाने कुरा भयो र म पनि त्यही गाडीमा काठमाडौ फर्किएँ। काठमाडौं आउनेक्रममा म पहिलो पटक परिवारको सदस्य बीना यात्रा गर्दै थिएँ। म यसरी कहिल्यै पनि बाबामामु वा कोही न कोही आफन्त बिना यति टाढा गएको थिइनँ। मलाई कस्तो-कस्तो लागिरहेको थियो। झ्याल बाहिर हेर्दा पनि एकदमै अन्धकार थियो। म कतिखेर निदाएँछु, बिउँझिँदा बाहिर उस्तै अँध्यारो थियो। कुन ठाउँमा पुगियो भनेर हेर्न कोशिस गरे तर सकिन।
एकछिनमा ड्राइभर अंकलले गाडी रोक्नु भयो र मलाई गाडीबाट झर्न भन्नुभयो। ड्राइभर अंकलले नै बाबालाई फोन गरेर बोलाउनु भएको रहेछ। म घर आउन पाउँदा उत्साहित थिएँ। म करिब रातको १२ बजेतिर गठ्ठाघरमा ओर्लिएँ। मलाई लिन मेरो बाबा आउनु भएको थियो। घर आउँदा अत्यन्तै खुशी थिएँ।
त्यसैगरी, मेरो अनलाइन कक्षा काठमाडौं आएपछि पनि चालु रह्यो। मेरो परीक्षा पनि हुने भयो, त्यो पनि अनलाइनबाटै। अहिले पनि मेरो अनलाइन कक्षा चलिरहेको छ।
हामी सबैलाई थाहा छ, अहिले कोभिड-१९ को कारण संसारभर आतङ्क फैलिएको छ। त्यसैका कारण भएको लकडाउन मेरो लागि वा हामी सबैको लागि नौलो अनुभव होला। लकडाउन नभएको भए हामी विद्यार्थीहरू रमाइलोसँग विद्यालय जान्थ्यौ, आफ्ना साथीहरूसँग खेल्थ्यौ। बिदाको समयमा सिनेमा हेर्थ्यौं। परिवारसँग नयाँ-नयाँ ठाउँ घुम्न पनि जान्थ्यौं। तर लकडाउन भएकाले हामी घरमै बस्न बाध्य छौ।
लकडाउनको धेरै फाइदाहरू पनि पाएँ। जस्तै, इन्टरनेटको माध्यमबाट घरमै बसी-बसी विद्यालयमा जस्तैगरी अध्ययन गर्न मिल्दो रहेछ। विद्यालय जसरी नै गुरू तथा गुरूआमाले दिनुभएको कक्षाकार्य वा गृहकार्य इन्टरनेटको माध्यमबाट नै गर्न मिल्दो रहेछ। कक्षाका विषयबस्तु भन्दा बाहेक संगीत, योग, खानपान सम्बन्धी, साहित्य, आदि कुराहरूको बारेमा समेत जानकारी पाउन सकिँदो रहेछ। इन्टरनेटमार्फत नै स्कुलको परीक्षा दिएर रिजल्ट पनि प्राप्त गर्न सकिँदो रहेछ।
अचम्मको कुरा त, सबै अभिभावकहरूको मिटिङ्ग पनि इन्टरनेटमार्फत नै हुँदो रहेछ। लकडाउनको अर्को फाइदा हाम्रो वातावरण पहिलेको भन्दा स्वच्छ पनि भएको छ। अनि आफूलाई मन लागेको कुरा गर्नलाई समेत समय पाइँदो रहेछ। लकडाउनमा परिवारसँग बसेर धार्मिक तथा आध्यात्मिक कुराहरूको बारेमा जानकारी पाउने अवसर पनि मिल्यो।
समग्रमा भन्नु पर्दा, लकडाउन दुखद भएता पनि मेरा लागि विभिन्न नयाँ अनुभवहरू महशुस गर्ने अवसर भयो र अझै पनि भइरहेको छ। बाबामामुको अफिस जानुपर्ने भएकाले म अझै घरमै लकडाउनको अवस्थामा नै दिन बिताइरहेको छु। लकडाउन खुकुलो भए पनि पूर्ण रूपमा हटेको छैन। काठमाडौ उपत्यकामा त अहिले सटडाउन भएको छ।
हामीले अझै कहिलेसम्म अनलाइन कक्षामा नै पढ्नु पर्ने हो थाहा छैन। अहिलेको लागि त म अनलाइन कक्षामा नै रमाइलो गर्दैछु। साथीहरू, तपाईंहरू पनि सुरक्षित रहेर खुशीसाथ उज्यालो भविष्यको कामनाका साथ दिन बिताउनुहाेस्।
(सुबिन अधिकारी अक्षरा स्कुल, काँडाघारी काठमाडाैंमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)