सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोनाको कारण हामी अहिले घरमा छौं। देशभरीकै स्कुल चल्न सकेका छैनन्। तर नयाँ प्रविधिको कारणले गर्दा घरमै बसेर पनि कक्षा लिन पाइराखेका छौँ।
विद्यालयको अनुरोधमा कक्षाकार्य र गृहकार्य सच्चाउन मैले मेरो पहिलो इमेल खोल्नु पर्ने भयो। म एकदमै उत्साहित भए। आमा र बाबा मिलेर मेरो इमेल खोलिदिनुभयो। म एकदम खुसी भएँ। मैले पासवर्ड पाएपछि काका, काकी, छिमेकी काका, मामा, माइजू सबैलाई गर्वका साथ सुनाउँदै हिडेँ।
आमाबाबाले मेरो यो कृयाकलाप थाहा पाएपछि मलाई सम्झाउँदै भन्नुभयो, 'अनु तिमीलाई थाहा छ। पासवर्ड भनेको यसरी सबैलाई भन्दै हिँड्नु हुँदैन। यो त एकदमै संवेदनशील कुरा हो। यो त गोप्य राख्नुपर्छ। सबै कुरा बाँड्नु पर्छ तर पासवर्ड बाँड्नु हुँदैन छोरी।'
आमाबाबाले किन यस्तो भन्नुभएको होला जस्तो लागेर सोधेँ, 'हामीले किन पासवर्ड कसैलाई पनि भन्नु हुँदैन?'
उहाँहरूले सम्झाउँदै भन्नुभयो, 'हेर अनु! पासवर्ड भनेको हाम्रो घरमा लगाउने ताल्चाको चाबी जस्तै हो। त्यो चाबी कुनै अपरिचित व्यत्तिको हातमा पर्यो भने त्यस मान्छेले हाम्रो घरमा छिरेर के-के गर्न सक्छ? चोरी गर्न सक्छ। अरूको सामान हाम्रो राखेर चोर दोष लगाउन सक्छ, उसले चाहेको जे पनि गर्न सक्छ। ह्याक गर्न सक्छ। त्यसैगरी, पासवर्ड कुनै अपरिचित व्यक्तिले पायो भने हाम्रो इमेल आइडि खोलेर हाम्रो साथी वा परिवारलाई जे पनि पठाउन सक्छ। हाम्रो महत्वपूर्ण सूचनाहरू चोर्न सक्छ र हामीलाई ठूलो समस्यामा पार्न सक्छ।'
यसरी मैले पासवर्ड त भन्न नहुने कुरा रहेछ भन्ने थाहा पाएँ। आमाबाबाले मलाई अरूको कम्प्युटर प्रयोग गर्दा पनि बडो विचार पुर्याउनु पर्छ अरूको कम्प्युटरबाट आफ्नो इमेल आइडी खोलेर बन्द गर्दा, साइनआउट गर्न पनि बिर्सन हुन्न भन्नुभएको छ।
यति गर्यौ भने हामी अनावश्यक तनावबाट जोगिन सक्छौं। म त आजै पासवर्ड परिवर्तन गर्छु अनि कसैलाई पनि पासवर्ड भन्दिनँ। इमेल प्रयोग गर्दा अभिभावकको अगाडि बसेर मात्र गर्छु।
(अनन्या न्यौपाने मातृभुमी स्कुल मध्यपुर, ठिमीमा कक्षा ३ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)