सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
अन्धविश्वासलाई अङ्ग्रेजी भाषामा 'सुपरस्टिसन' भनिन्छ। यो शब्द 'ल्याटिन' भाषाबाट आएको हो। यसको अर्थ 'परमेश्वरबाट डराउनू' भन्ने हुन्छ।
अन्धविश्वास भनेको त्यस्तो विश्वास वा अभ्यास हो जसको आधार भाग्य वा परम्परागत अवैज्ञानिक विश्वास हो। अन्धविश्वास जागरूकता र शिक्षाको अभावका कारण मात्र अस्तित्वमा रहेको होइन। यो अज्ञातको डरबाट पैदा भएको हुन्छ।
कुनै व्यक्तिसँग तार्किक जवाफ छैन भने उसले अन्धविश्वासको सहारा लिएको देखिन्छ। विश्वभरीका धेरै मानिस अन्धविश्वासमा भर पर्ने गरेका छन्। यसको जग परम्परा, संस्कृति र पुस्तौंदेखि गरिएको अभ्यास नै हो। यसले समाजमा जरा गाडेर बसेको हुनाले यसलाई हटाउन निकै गाह्रो छ।
मानिसहरूले किन अन्धविश्वासमा विश्वास गर्छन् भनेर दुई शब्दमा भन्ने हो भने यो पुष्टिकरण पूर्वाग्रह (कन्फरमेसन वायस) हो। यो नयाँ प्रमाणलाई आफ्नो अन्तर्मनमा अवयस्थित विश्वास वा सिद्धान्तहरूको पुष्टिको रूपमा व्याख्या गर्ने प्रवृत्ति हो। मानिसहरूले सफलतालाई मिहिनेत र परिश्रमसँग मात्र नभएर भाग्यसँग जोडेर हेर्ने गर्छन्। यस्तो प्रवृत्ति विश्वव्यापी नै रहेको छ।
उदाहरणका लागि यदि एक फुटबल खेलाडीले आफ्नो भाग्यशाली जुत्ता लगाउँछ र उसको समूहले जित्यो भने उसले त्यो जुत्तासँग आफ्नो विजयलाई जोड्छ। उसलाई थाहा छ जुत्ताले भाग्य ल्याउने होइन। आफूलाई सजिलो लाग्ने जुनसुकै जुत्ताले पनि खेल्न सकिन्छ। अनि जित्नु नितान्त खेलको कला र समूहको समन्वयसँग सम्बन्धित छ। तर खेलाडीलाई भाग्यशाली जुत्ता लगाउँदा उसलाई बलमाथि सजिलै नियन्त्रण गर्न सकेको आभास हुन्छ। यो पनि अन्धविश्वास नै हो।
विश्वका विभिन्न भागका मानिसले अन्धविश्वास पालेर राखेको पाइन्छ। अन्धविश्वासका विश्वव्यापी रूपमा नै उदाहरणहरू छन्। जापान र कोरियामा रातो मसीले नाम लेखेमा नाम लेखिने मानिसको मृत्यु हुन्छ भन्ने विश्वास गरिन्छ। अमेरिकामा आफूले भनेको कुरा सत्य नहोस् भनेर मानिसले काठमा टकटक पार्छन्। अमेरिकी तथा अन्य पश्चिमाहरूले १३ अङ्कलाई नराम्रो मान्ने र यसले दुर्भाग्य निम्त्याउँछ भन्ने विश्वास गर्छन्। उनीहरूले १३ अङ्कित वा १३ लेबल लगाइएको कुनै पनि चीजबाट आफूलाई टाढा राखेर खराब भाग्यबाट बच्न कोसिस गर्छन्। यसलाई 'ट्रिस्केडेकाफोफिया' पनि भनिन्छ।
रूसमा कसैलाई जोडा सङ्ख्याको फूल दिएमा फूल लिने मानिसलाई दुर्भाग्यको कामना गरेको रूपमा लिइन्छ। यसैगरी, आयरल्याण्डमा 'म्याक पि' नामको चराको सङ्ख्या अनुसार भाग्य र दुर्भाग्यको निर्णय गरिन्छ। यस्ता धेरै उदाहरणहरू छन्।
अब नेपालको सन्दर्भमा केही उदाहरणहरू हेरौं। नेपालमा उल्टो चप्पलले दुर्भाग्य ल्याउँछ भन्ने विश्वास गरिन्छ। कालो बिरालोले बाटो काट्यो भने नराम्रो हुन्छ भन्ने विश्वास गरिन्छ। नेपालमा धेरै मानिसहरू अन्धविश्वासको सिकार भएका छन्। यस्ता मानिसहरूमा विशेषगरी गरिब, कमजोर, हेपिएका, सीमान्तकृत र विधवा महिला आदि छन्। मानिसहरूले विधवा र कमजोर महिलालाई बोक्सीको आरोप लगाएर यातना दिने गरेका छन्। उनीहरूलाई अनेक दोष लगाएर फोहोर खुवाउने जस्ता अमानवीय काम समेत भएका छन्।
समाजमा छुवाछूत नामक कुप्रथा विद्यमान छ। छुवाछूत कुप्रथाको कारण मानिसलाई कुटेर मारेको जस्ता जिउ सिरिङ्ङ हुने घटना भएका छन्। महिलाहरूलाई मासिक धर्म भएको बेला अशुद्ध मानी छाउपडीमा राखिने गरिएको छ। कतिको छाउपडीमै मृत्यु हुने गरेको छ। यी सबै अन्धविश्वासका उदाहरण हुन्। बोक्सी, छुवाछूत, छाउपडी जस्ता कुप्रथाहरू कानून विरुद्धका प्रचलन हुन्। तर पनि दुर्गम क्षेत्रहरूमा यस किसिमका अमानवीय कार्य व्यापक रूपले भएको पाइन्छ। यी सबै नेपाली समाजमा परम्परागत रूपमा चलिआएको अन्धविश्वासका कारण हुने गरेका छन्।
म कुनै पनि अन्धविश्वासमा विश्वास गर्दिनँ। यो म हुर्किएको परिवेशको कारणले पनि हुन सक्छ। मेरा आमाबुबा र आफन्तहरूले मलाई अन्धविश्वासमा विश्वास गर्न कहिल्यै पनि सिकाउनु भएन। परिश्रम, तर्क र तथ्यमा मात्र विश्वास गर्न सिकाउनु भयो। यसरी म कहिले पनि कुनै पनि अन्धविश्वासको पछि लागेको छैन। साथै, अन्धविश्वासका कारण हुने सफलता वा भाग्यले हुने सफलतासँग पनि परिचित छैन।
यद्यपि, मैले नेपाली समाजमा हुने गरेका अन्धविश्वासहरू सुन्ने र समाचारमार्फत थाहा पाउने गरेकी छु। अन्धविश्वासले मानिसहरूलाई आधुनिक विज्ञान र प्रविधिमा भन्दा अलौकिक शक्तिमा निर्भर हुन सिकाएको छ। यसले हाम्रो समाजमा नराम्रो असर पारिरहेको छ। यदि समाजमा अन्धविश्वास जारी रह्यो भने यसले समाजको आधुनिकीकरणमा समेत अवरोध पुर्याउँछ। यसले विकासमा बाधा पुर्याउँछ र समाजको उन्नतिमा गतिरोध ल्याउँछ।
हामीले अन्धविश्वासलाई उन्मूलन गर्न जनतामा चेतना जगाउनु पर्छ। शिक्षा र चेतनाको स्तर बढ्दै जाँदा तर्क र तथ्यमा विश्वास गर्ने प्रवृत्ति बढ्छ। यस प्रवृत्तिले अज्ञातबाट पैदा हुने डरबाट बच्न अन्धविश्वास हैन आत्मविश्वासको विकास गर्न प्रेरित गर्छ। त्यसैले, हामीले अन्धविश्वासको सट्टा वैज्ञानिक तथ्यहरूमा विश्वास गर्नुपर्छ। भाग्यभन्दा कार्यमा विश्वास गर्नुपर्छ। श्रम र परिश्रममा विश्वास गर्नुपर्छ। तसर्थ, हामीले अन्धविश्वास त्यागेर विज्ञान र तर्कको बाटोमा लाग्नुपर्छ।
(अपेक्षा पौडेल, ढाका, बंगलादेशमा बस्छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)