सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
हामीहरू दुवै अहिले कक्षा पाँचमा पढ्छौं। जुम्ल्याहा हौं। दिदीभाइ हौं।
हाम्रो विद्यालय हात्तीवनमा छ। हाम्रो चार कक्षाको परीक्षा सकिने बित्तिकै देशैभर लकडाउन भयो। सुरूमा त लकडाउन भनेको कस्तो होला भनेर हामी अचम्ममा परिरहेका थियौं। पछि त थाहा भइहाल्यो लकडाउनमा घरबाहिर जताततै निस्कन नपाउने, हुलमुलमा जानु नहुने, सबै पसलहरू बन्द गर्नु पर्ने र गाडीहरू चलाउनु नहुने रहेछ।
हामीले धेरै कुरा समाचार हेरेर र आमाबुवालाई सोधेर पत्ता लगायौं। धेरै दिन हामी घरभित्रै बस्यौं। कहिलेकाहीँ आमाबुवाले यता-उता घुमाउन लैजानु हुन्थ्यो। यसो गर्दा-गर्दै धेरै दिनदेखि हामी घरमै बसिरहेका छौं। थुप्रै महिना भइसक्याे।
लकडाउन भएको केही दिनपछि हाम्रो विद्यालयले नतिजा प्रकाशित गर्छ भन्ने हामीले सोचिरहेका थियौं। तर यसपालि त अचम्म भयो। एक दिन विद्यालयले आमाको मोबाइलमा हामी दुवै पास भएको सन्देश पठाएछ। आमाले यो कुरा भन्दा हामी धेरै खुसी भयौं। अब नयाँ किताबहरू पढन पाइने र त्यसमा गाता हाल्नु पर्ने काम सम्झेर अझ खुसी भयौं। एकदिन आमाबुवाले विद्यालय गएर किताबहरू पनि ल्याइदिनु भयो। हामीले गाता हाल्न पनि पायौं।
अहिले पनि हामी घरैमा छौं। कोभिड-१९ भाइरसको बारेमा टिभीमा समाचारहरू हेर्छौं। नबुझेको कत्ति कुरा आमाबुवालाई सोध्छौं। धेरै कोभिड रोग लागेको देश अमेरिका हो। दोस्रो ब्राजिल र तेस्रो हाम्रो छिमेकी देश भारत हो। अहिले यो रोग लागेर धेरै मानिस बिरामी र मृत्यु भएको सुन्दा दिक्क लाग्छ।
हाम्रो देशमा सुरूमा कोभिड १९ का बिरामीहरू थोरै थिए। मानिसको मृत्यु त भएकै थिएन। पछि बढ्दै गयो। अहिले त कोभिड १९ का बिरामीहरू धेरैको संख्यामा हाम्रो देशमा छन्। कत्तिको त निधन पनि भैसकेको छ। यस्तो समाचार हामीलाई हेर्न र सुन्न मन लाग्दैन तर आमाले भन्नु हुन्छ- हामीले हरेक दुःखसँग लड्न सिक्नुपर्छ।
अहिले हामी घरमा सानो-तिनो 'एक्सरसाइज' पनि गर्छौं। बुबाले योग गर्न पनि सिकाउनु भएको छ। सागपात र अण्डा दैनिक खाने गरेका छौं। पहिले खाना खानुअगाडि, पछाडि र ट्वाइलेट गएको बेला मात्र हामी हात धुन्थ्यौं। अहिले खाजा खाँदा र बाहिरबाट आउँदा पनि साबुनपानीले हात धुने गरेका छौं।
पहिले हप्ताको एक दिन नुहाउथ्यौं। अहिले हप्ताको दुई दिन नुहाउने गरेका छौं। घर बाहिर जाँदा जहिले पनि मास्क लगाउँछौं। साथीहरूलाई भेट्दा टाढैबाट कुरा गर्ने गरेका छौं। यसो गर्दा कोभिड १९ सर्दैन रे।
अहिले धेरै दिनदेखि हाम्रो अनलाइन कक्षाहरू भइरहेका छन्। हप्तामा चार दिन हुन्छ। सर र म्याडमलाई देख्न त पाइन्छ। प्रिन्सिपल सरको आवाजमा पनि कहिलेकाहीँ सूचनाहरू भ्वाइस मेलमा सुन्न पाइन्छ। तर हामीलाई विद्यालयको धेरै याद आइरहेको छ। विद्यालय जान पाउने दिन चाँडै आइदिए हुन्थ्यो जस्तो लागिरहेको छ। त्यहाँको बगैँचा र फूलेका फूलहरू हेर्न मन लागेको छ। साथीहरूसँग खेल्न मन लागेको छ।
म्याडम र सरहरू कस्तो हुनु भयो होला? भेटेर देख्न पाए हुन्थ्यो जस्तो लागेको छ।
(अनुसुया लामिछाने र आर्यमन लामिछाने लिटिल एन्जेल स्कुल, हात्तीवनमा कक्षा ९ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)