सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
एकदिन म बाबासँग बसेर कान्तिपुर टेलिभिजनमा समाचार हेरिरहेको थिएँ। कोरोना भाइरसको महामारी चलिरहेका बेलामा प्रधानमन्त्री निवास बालुवाटारबाट अहिलेको सरकारको पार्टीका नेताहरू पार्टीको मिटिङ सकेर महँगा र आरामदायी गाडीमा निस्किएको देखेको थिएँ।
त्यस लगतै अर्को समाचार आयो। त्यो समाचारले मलाई एकदम नरमाइलो लाग्यो।
त्यसमा स्वास्थ्य मन्त्रालयमा डाक्टरहरूले कोरोना भाइरसको महामारी बढ्न सक्ने अवस्था बढ्दै गएकाले जाँचको दायरा बढाउनुपर्छ भनेका थिए। तर सचिवले सरकारसँग पैसा नभएकाले संख्या बढाउन नसकिने भनेर विवाद भएको कुरा उल्लेख थियो। त्यसले हाम्रो देशको सरकार, शासन र सरकारको कामको अवस्था देखाउँछ।
सबै मिलेर कोरोना महामारीसँग लड्नुपर्ने बेला सरकार केही नगर्ने र अरू पनि सत्ताका लागि लडिरहने! अनि दु:खमा परेका जनतालाई सहयोग कसले गर्छ? जनतालाई दु:ख परेका बेला सहयोग नगर्ने? आफ्ना जनतालाई महामारीबाट नबचाउने सरकार हामीलाई किन चाहियो? मैले बुझेको छैन।
कोरोना महामारी रोक्न सरकारले केही पनि गर्न सकेको छैन्। कोरोना जाँच्ने औषधी र उपकरण आफैं निर्माण गर्न सकेको छैन। कोरोना जाँचका लागि विदेशीले दिएका र केही आफैले किनेर काम चलाउनु परेको छ। यसमा पनि भ्रष्टाचार छ भनेर मैले समचारमा सुनेको र पत्रिकामा पढेको छु।
मलाई लाग्छ, हाम्रो सरकारमा भ्रष्टाचार गर्ने मानिस देश बनाउने भन्दा धेरै छन्। नेपाल एउटा विकास हुँदै गइरहेको देश हो। तर नेपालका मन्त्री र सरकारमा काम गर्नेहरूले राम्रो काम नगरेर हाम्रो विकास रोकिएको छ। मैले हाम्रो कक्षा ६ को सामाजिक किताबमा एकताका नेपाल र कोरिया उत्तिकै धनी र विकसित थिए भन्ने पढेको थिए। कोरिया र नेपालबीच अहिले आकास-पाताल जत्तिकै फरक छ। तुलना गर्नै मिल्दैन।
नेपालमा विकासका धेरै सम्भावना र विकास गर्न सकिने धेरै माध्यमहरू छन्। हामीसँग ठूलो मात्रामा नदीनाला, जडिबुटी, कृषि उत्पादन, पर्यटनको सम्भावना छन्। तीब्र गतिमा बग्ने नदीबाट हामीले बिजुली निकालेर उद्योग सञ्चालन गर्न सक्छाैं।
अरू देशमा पनि बिक्री गर्न सकिन्छ। तर राजनीति गर्ने र देश चलाउनेहरू आफ्ना लागि मात्र सोच्ने स्वार्थी र खराब भएका कारण नेपालमा विकास हुन सकेको छैन। मलाई अब हामी सरकारको मात्र भर पर्नु हुन्न भन्ने लाग्छ। हामी सबै देश विकासको लागि एकजुट भएर काम गर्नुपर्छ।
कोरोना भाइरसका कारण गरिब र ज्याला मजदुरी गरेर खाने मानिस भोकभोकै बस्नु परेको छ। धेरै मानिस बेरोजगार भएर परिवारको पालनपोषण गर्न सकेका छैनन्। हाम्रा नेता र सरकारमा बसेकाहरूले तिनीहरूको दु:ख-पीडा बुझ्न सकेका छैनन्। धेरै बालबालिका गाउँमा भएका कारण पढ्न पाएका छैनन्। उनीहरूको अनलाइन कक्षामा पहुँच नै छैन। सहरमा मात्र सञ्चालन भएको अनलाइन कक्षाले उनीहरूलाई छोएको छैन। त्यहाँ इन्टरनेटको सुविधा नै छैन।
मैले सुनेको छु कि धेरै मानिस मोबाइलको डाटा चलाएर कक्षा पढ्नु परेको छ। राम्रो र सरल सुविधा नभएर पढ्न पनि मोबाइको डाटा चलाएर धेरै पैसा तिर्नु परको छ। यसरी उनीहरूले धेरै पैसा खर्च गर्नु परेको छ। सहरमा नभएका र गरिब विद्यार्थीलाई पढन् निकै कठिन छ। बालबालिकाको भविष्य अन्धकारमय भएको छ।
सरकारले उनीहरूलाई कसरी पढाउने भन्ने योजना नै बनाएको छैन। यसले गर्दा भोलि धेरै निकै कठिनाई हुनेछ। देश विकासमा नराम्रो असर पर्नेछ। यी कुरालाई सरकारले बुझेर योजना बनाएर लागु गर्नुपर्छ।
तर हाम्रो सरकार र नेता देशका यी समस्यालाई भन्दा पनि सत्ता र कुर्चीका लागि लडिरहेका छन्। यो निकै दुःख लाग्ने कुरा हो। देशको विकास भएको भए हामीले यस्तो अवस्था भोग्नु पर्ने थिएन। यी कुरा हाम्रो सरकारले कहिले सोचेकाे छ? यो म जस्तै धेरै बालबालिकाको प्रश्न हो। नेताहरू आफू जहिले पनि 'कमफर्ट'मा बस्छन् तर जनता ज्यान जोखिममा राखेर बाँच्नु परेको छ।
हरेक वर्ष आउने बाढी-पहिरो र यस अघिको भुकम्पको समयमा पनि जनताले सारै दु:ख पाएका थियौं। कति मानिसले त आफ्नो घरपरिवार, आफन्त र आफ्नो रगत पसिनाले कमाएको धन-सम्पत्ति, खेतबारी पनि गुमाएका छन्। यस्तो अवस्थामा जनताले सरकारको मुख हेरेर बसेका छन्। तर सरकारले उनीहरूलाई उचित सहयोग गर्न सकेको छैन। देश विदेशबाट आएको सहयोग रकम पनि सही तरिकाले उपयोग भएको छैन। देशको विकासमा खर्च भएको छैन।
मलाई लाग्छ कि हाम्रो सरकारी धुकुटीमा पैसा नभएको हैन। त्यो पैसालाई सही तरिकाले उपयोग गर्न नसकेको हो। जनाताको पनि यस्तै गुनासो छ। कोरोना महामारी जस्तो विपत्तिका समयमा पनि देशको पैसा नेताहरूले भ्रष्टाचार गरेको कुरा लुकेको छैन। गरिब जनताको पेट भोकै छ। राम्रो र न्यानो लुगा लाउन पैसा छैन। सञ्चो नभएका बेला पनि उपचार गर्न सकेका छैनन्। औषधिको अभाव छ।
अस्पतालमा पनि राम्रो सेवा र सुविधा पाउन सकेका छैनन्। तर सरकारका मानिसहरू भने आफ्नो सुविधाको लागि महंगाे गाडी किन्छन्। आफू महंगाे र सुविधा भएको अस्पतालमा उपचार गर्छन्। यसले गर्दा जनताहरू सरकारसँग खुसी छैनन्। सरकारले घुसबाट पैसा कमाउन देखाएको जोश देश विकासका लागि देखाएको भए नेपाल आज कति अगाडि पुग्थ्यो होला।
अहिले हामीलाई कोरोना महामारीमा चाहिने सबै किट पनि आफैँ उत्पादन गर्न सक्ने थियौं। तर भ्रष्टाचारले देशको विकास नभएर हामीले अरूसँग मागेर र किनेर चलाउनु परेको छ। हाम्रो देशका नेता र सरकारका मान्छेले सोच्नुपर्छ र यो कुरा बुझ्नुपर्छ। तर त्यो कुरा हाम्रो सरकारले सोचेको र बुझेको जस्तो लाग्दैन।
उनीहरूले आफ्ना परिवारका लागि गर्ने माया जनताको लागि पनि गरे नेपालमा कोही भोकै बस्नुपर्ने थिएन। उनीहरूले जनताबाट माया कमाउने थिए। त्यसैले सरकार जनता र देशलाई पनि माया गर। देशका लागि राम्रो काम गरे जनताले सम्मान गर्छन्। भगवान स्वरूप ठान्नेछन्।
जनताका लागि अब भगवान बन्ने प्रयास गर, राक्षस हैन।
(सार्थक सिग्देल नाईटिङ्गेल अन्तरराष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com