सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
लकडाउन भएको ६ महिना भयो। अहिले दिनमा एक घण्टा जति अनलाइन कक्षा हुन्छ। लगभग दुई घण्टामा गृहकार्य गरेर सकिन्छ। बाँकी समय कसरी कटाउने भनेर सधैं पीर लागिरहन्छ। यसै बीच मेरो मनमा युट्युब च्यानल खोल्ने विचार आयो।
च्यानल त खोल्ने तर कस्तो भिडियो बनाउने भन्ने बारेमा अलमल भयो। वातावरण सम्बन्धी भिडियो बनाउँ कि आफ्नै परिवारको अनुभव सम्बन्धी बनाउँ कि, खासै निर्णय गर्न सकिनँ। यत्तिकैमा दुई वर्ष अगाडि एउटा 'रोब्लेक्स' भन्ने भिडियो गेम खेलेको याद आयो र सोचेँ म जस्तै बालबालिकाहरूको लागि गेमको भिडियो बनाउँछु। यसरी मेरो युट्युब यात्रा सुरू भयो।
मैले युट्युब खाता खोलेँ र पहिलो भिडियो हालेँ। मेरो च्यानलको नाम 'नयन-आर-बि-एल-एक्स' हो। पहिलो दिनमा मेरो भिडियो जम्मा १० जनाले मात्र हेरे। यसले मलाई दुःखी बनायो। आमाबुवाले मलाई सम्झाउनु भयो र अझै मिहिनेत गरेर राम्रो बनाऊ भन्नुभयो। दोस्रो दिनमा हेर्दा ५० जनाले हेरेछन्। यसपछि मलाई थप बनाउन प्रेरणा मिल्यो।
दिनका दिन भिडियो बनाउनु भन्दा धेरै समय लगाएर हप्तामा एउटा अथवा दुइटा राम्रो भिडियो बनाउने विचार गरेँ। बिस्तारै मेरो युट्युब च्यानल विकसित हुन थाल्यो। दुई हप्तामा १ सय ५० सब्सक्राइबर्स प्राप्त गरेँ। अहिलेसम्म मैले ८ वटा भिडियो बनाएछु र हरेकमा सयजना भन्दा बढीले हेरेका रहेछन्।
भिडियोमा लाइक्स मात्र होइन डिस्लाइक्स पनि धेरै आयो र मन परेन भनेर कमेन्ट पनि आयो। यस्तो आएपछि मलाई दिक्क लाग्यो र सोचेँ- यस्ता युट्युब भिडियो अब कहिल्यै बनाउँदिनँ।
म दुःखी भएको देखेर आमाबुवा पनि चिन्तित हुनुभयो र मलाई सम्झाउँदै भन्नुभयो, 'बाबु, सबैलाई सबै चिज उत्तिकै मन नपर्न सक्छ। जस्तै तिमीलाई सिमीको तरकारी एकदम मन पर्छ तर तिम्रो साथीलाई पटक्कै मन पदैन। यसको अर्थ सिमीको तरकारी नमिठो भन्ने होइन तर तिमीहरूको रोजाई फरक-फरक छ भन्ने हुन्छ। तिम्रो भिडियोमा धेरै लाइक्स र राम्रो कमेन्टस् पनि त छ नि। त्यसैले, सानो मन नगर र अझै मिहिनेत गरेर राम्रो बनाऊ।'
आमाबुवाको यस्तो कुरापछि मलाई डिस्लाइक्स र नेगेटिभ कमेन्टले पनि राम्रो गर्नुपर्छ भनेर ऊर्जा दिन थाल्यो। त्यस्तो गर्नेहरूलाई पनि मैले धन्यवाद दिएँ र अझै राम्रो गर्न के गर्नु पर्ला भनेर सुझाब मागेँ। आजभोलि म तिनले दुःखी हुँदिनँ बरू नयाँ आइडिया दिएकोमा खुशी हुन्छु।
मैले यो छोटो युट्युब अनुभवमा के सिकेँ भने हामीले सबैलाई खुशी पार्न सक्दैनौं किनकि उनीहरूको चाहना र रोजाई फरक–फरक हुन सक्छ। त्यसैले, लाइक्स र डिस्लाइक्स दुवै आउँछन्। धेरै व्यक्ति यस्ता कुराले आफ्नो काम बीचमै छोडिदिन्छन्। मैले पनि झण्डै छाडेको तर आमाबुवाको सहयोगले मलाई प्रेरणा दियो। मैले आफ्नो पुरै मिहेनत लगाएर भिडियो बनाउँदै गएँ।
यसबाट मैले के पनि सिकेँ भने हामी असफल्तमा दुःखी भएर बस्नु हुँदैन। आफ्ना गल्ती सुधार गर्दै अगाडि बढ्नु पर्छ।
(नयन उपाध्याय सेन्ट जेभियर्स स्कुल, गोदावरी, ललितपुरमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)