सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना महामारीका कारण चैत ११ गतेदेखि लकडाउन हुँदा हामी घरमै थुनियौं। बाबा भने अफिस गइरहनुभएको थियो। बाबा र उहाँका साथी बानेश्वरको क्वारेन्टिनमा बसेर अफिसको काम गरिरहनुभएको थियो।
म, ममी र अंकल भने घरमै हुथ्यौ। एक हप्ता क्वारेन्टिनमा बसिसकेपछि बाबाले एकदिन साँझ मलाई फोन गरेर भन्नुभयो– म भोलि घर आउँछु, एक हप्ता बिदा हुन्छ। अब तिमी भोलिदेखि 'हेड अफ द फेमिली' हौ। लकडाउन भरी के–कसरी परिवार चलाउने तिम्रो योजना बनाएर राख्न भन्नुभयो।
मलाई सुरूमा कसो गर्ने भन्ने भयो। अनि मैलै बाबा, ममी र अंकल केही काम गर्दा गर्ने सल्लाहको कुरा मनमनै सोचे के गर्ने भनेर। अनि भोलिपल्ट बेलुका बाबा घर आउनुभयो र सोध्नुभयो, 'तिमीले के-के गर्यौ?'
बाबा आउँदासम्म मैले परिवारका लागि नियम बनाएर राखेको थिएँ। बाबा, ममी र अंकललाई सुनाएँ। सबैले मैले लेखेअनुसार हुन्छ भन्नुभयो। त्यसमा कति बेला उठ्ने, कसले के काम गर्ने, व्यायाम गर्ने जस्तो कुराहरू लेखेको थिएँ।
त्यसपछि बाबाले मलाई ६ हजार रुपैयाँ दिनुभयो। 'यो पैसा तिमी राख, एक हप्ता लकडाउन छ। त्यो बेलासम्म यो पैसाले घर खर्च चलाउनुपर्छ। घरमा जे-जे चाहियो हामी पनि तिमीसँगै माग्छौं। कसरी दिने कति दिने तिमीले आफैंले विचार गर्नू' भन्नुभयो।
अनि, घरमा सबैलाई काम मैले नै लगाएँ। बाबा पहिलो पटक त्यसरी हामीसँगै घरमा बस्नु भएको हाे। मैले काम लगाउँदा सबै जना हाँस्नु हुन्थ्यो। तर, भनेको मान्नुहुन्थ्यो। बिहान-बेलुका तरकारी लिन बाहिर जान पाइथ्यो। ममी बेलुका पार्वती आन्टीसँग तरकारी बजार जाँदा मसँग पैसा माग्नुहन्थ्यो। मैले के-के किन्ने भनेर सोधेर चाहिने जत्ति मात्रै पैसा दिन्थे।
हामीले घरमा मिठो-मिठो पकाएर खायौं। रामायण, हास्य कार्यक्रम र फिल्म पनि हेर्यौं। मलाई यो समय धेरै राम्रो पनि लाग्यो किनकी सबै जनासँगै घरमै हुन्थ्यौं। मैले धेरै कुरा सिक्न पनि पाएँ। हामीसँग पैसा जति छ त्यही अनुसारले खर्च गर्नुपर्ने रहेछ भन्ने सिकेँ।
बाबा, ममी सताउन नहुने रैछ भन्ने पनि जाने। अनि राम्रो योजना बनाउँदा परिवारमा खुसी आउने रहेछ भन्ने पनि सिक्न पाएँ। यसबाट मैले हाम्रो परिवारले कस्तो–कस्तो कुरामा ध्यान दिनुपर्ने रैछ भन्ने कुरा पनि अनुभव गरेँ।
(विषेश ऐरी प्रयागमार्ग, काठमाडौंमा बस्छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)