सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
जुनसुकै मुलुकको समृद्धि, प्रगति र चौतर्फी विकासको मूल मियो भनेको अर्थतन्त्र नै हो। बलियो अर्थतन्त्र तब मात्र सम्भव छ जब देशका अधिकभन्दा अधिक युवा जनशक्तिले आफ्नो मुलुकको माटोलाई आफ्नै पसिनाले सिंचित गर्ने हुटहुटी लिएर त्यसमा खरो उत्रिन सक्छन्।
युवा जनशक्तिलाई युवा स्वरोजगारमार्फत आफ्नै माटोमा केही गरौं न, भन्ने अवसरको द्रुत सृजना गर्न हाम्रो जस्तो मुलुकको भौगोलिक अवस्थिति र वातावरणीय अनुकूलनसँग मेल खाने र अवसरहरूले भरिएको क्षेत्र वा पेशा कृषि र पर्यटन नै हो।
छिटपुट केही अपवादलाई केलाइकुलाइ गरी अध्ययन गर्दा हाम्रो जस्तो मुलुकको आर्थिक विकासको प्रमुख आधारकै रूपमा रहेको पर्यटन क्षेत्र र कृषि पेशालाई एक आपसमा जोडेर प्रभावकारी कार्यान्वयनमा ध्यान पुर्याउन आवश्यक छ। यसलाई मिहिनेतको जलपले सिँगार्न सकियो भने विदेशी मुद्रा आर्जन, रोजगारी सृजना, आर्थिक कृयाकलाप अभिवृद्धि एवं समग्र आर्थिक विकास र समुन्नतिमा मुलुकलाई टेवा पुग्नेमा कुनै शंका छैन।
अहिले कोभिड १९ को महामारीका कारण विश्वमै पर्यटन क्षेत्र नराम्रोसँग थला परेको छ। हाम्रो मुलुकले पनि पर्यटन वर्ष २०२० लाई भव्य स्वागत गर्दै अधिकभन्दा अधिक पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो तर महामारीको चपेटाकै कारण हाम्रो पर्यटन क्षेत्रको पनि यो वर्ष दुरावस्था रहने निश्चित प्राय छ।
जलविद्युत उत्पादन पनि हाम्रो जस्तो नदीनालाले भरिपूर्ण मुलुकमा आर्थिक विकासको लागि प्रचुर सम्भावना बोकेको क्षेत्र हो। यद्यपि वैदेशिक रोजगारी गुमाएर आफ्नो मुलुकमा फर्किरहेका युवालाई तत्काल रोजगारीको सृजना गर्न यो क्षेत्रमा सम्भव छैन। यसको लागि दीर्घकालीन योजनाहरू बनाएर भविष्यको लागि रोजगारीको सुपर बैंक बनाउन भने अवश्य सकिन्छ।
अहिले विदेश पलायन भएका अधिकतम युवाहरू कोभिड १९ महामारीका कारण रोजगारी गुमाइ मातृभूमि फर्किरहेका छन्। त्यसैगरी देशमा पनि सोही कारण ठूलो जनशक्ति रोजगारविहीन भएको अवस्था छ। यस्तो अवस्थामा तत्काल स्वतस्फुर्त रोजगारीको सृजना हुने र युवाशक्तिको चाँडो भन्दा चाँडो उचित सदुपयोग हुनेगरी आर्थिक उपजको माध्यम बन्न सक्ने क्षेत्र कृषि नै हो।
मानव जीवनको अस्तित्वसँग जोडिएका गाँस, बास र कपासको परिपूर्तिका लागि पनि कृषिको योगदान महत्वपूर्ण छ। नेपालको विगत र वर्तमानलाई हेर्ने हो भने पनि कृषि पेसा नेपालीको निम्ति प्रमुख पेसाकै रूपमा रहिआएको छ। वर्तमान तथ्यांकअनुसार करिब ६५ प्रतिशत नेपाली जनता कृषि पेसामा संलग्न छन्। लोकप्रियता र सम्भावना हुदाँहुदै पनि नेपालमा कृषि पेसाको सक्दो विकास र अपेक्षित प्रतिफल आउन सकेको छैन।
अन्य मुलुकलाई उदाहरणको रूपमा हेर्ने हो भने अष्ट्रेलिया, इजरायल जस्ता मुलुकलाई एउटा प्रेरक उदाहरणको रूपमा प्रस्तुत गर्न सकिन्छ। करिब २ प्रतिशत मात्र अष्ट्रेलियन कृषि पेसामा संलग्न भएको तथ्यांकले देखाउँछ तर उनीहरूको उत्पादनले त्यहाँको माग पुर्ति गरेर पनि बाहिरी मुलुकमा निर्यात हुन्छ। अर्को अनौठो, विश्वमा हुने प्रमाणित अर्ग्यानिक खेतीमध्ये आधा (करिब ५१ प्रतिशत) अष्ट्रेलियाको कृषि भूमिमा हुने गर्छ।
इजरायलले पनि आफ्नो मुलुकको लागि आवश्यक पर्ने खाद्यान्नमध्ये ९४ प्रतिशत आफैं उत्पादन गर्छ। उनीहरू आफ्नो कुल कृषि उत्पादनले मुलुकको खपतलाई धानेर ताजा उत्पादन अन्य मुलुकमा निर्यात गर्ने देशको रूपमा चिनिन्छन् । इजरायल आफैंमा कृषि प्रविधिको उच्चतम प्रयोग गर्ने देशमध्ये विश्वमै अग्रणी स्थानमा रहेको छ।
कृषिमा आश्रित रहेका तर आर्थिक उन्नतिका लागि वैदेशिक रोजगारीको बाटो अपनाएका अधिकांश युवा घर फर्किरहेको परिस्थिति छ। यस्तो अवस्थामा सरकारले प्रविधिमैत्री कृषि पेसालाई थप जोड दिइ उनीहरूमा पुग्ने गरी आकर्षक र सहुलियतपुर्ण कार्यक्रम तयार गर्नुपर्छ। ती कार्यक्रम संघ, प्रदेश र स्थानीय तीनै तहबाट सम्बोधन गराउन सकेमा अहिलेको कृषकको स्थिति र देशको खस्किरहेको अर्थतन्त्रमा सुधार ल्याउन कोसेढुंगा साबित हुनेछ।
यसको उदाहरण हामीसामु प्रस्तुत भइसकेको छ। यस वर्ष भारत लगायत तेश्रो मुलुकबाट फर्किएका युवा-वर्ग र देशकै अधिकांश जनशक्ति पनि अन्य पेसामा व्यस्त नभइ आ-आफ्नै खेतबारीमा धान, मकै, कोदो, आलु आदि खेतिमै व्यस्त रहेको पाइयो। अर्को तर्फ धान खेती गर्ने मुख्य समय असार-साउनमा वर्षातले पनि कृषकहरूलाई मनग्य साथ दिएकाले होला कृषि मन्त्रालयले अधिकतम क्षेत्रफलमा धान रोपाइँ भएको तथ्यांक सार्वजनिक गरेको छ। उक्त तथ्यांकअनुसार साउन ६ गते सम्ममा नेपालमा ९१.६८ प्रतिशत रोपाइँ १२,५७,६०७.९३ हेक्टर क्षेत्रफलमा भैसकेको छ।
अघिल्लो वर्ष कृषि मन्त्रालयले दिएको साउन ६ गते सम्मकै तथ्यांक हेर्दा नेपालमा ६३.७९ प्रतिशत रोपाइँ ८,७४,९७१.९४ हेक्टर क्षेत्रफलमा भएको देखिन्छ। यस तथ्यांकलाई केलाउँदा यस वर्ष नेपालमा २७.८९ प्रतिशत बढि रोपाइँ भएको छ जुन अघिल्लो वर्ष भन्दा ३,८२,६३५.९९ हेक्टर बढि क्षेत्रफलमा रोपाइँ भएको हो।
हाम्रो देशको अन्न भण्डारको रूपमा लिइने तराई क्षेत्रमा यस वर्ष ९४.१७ प्रतिशत रोपाइँ ९,२०,३८२.३० हेक्टर क्षेत्रफलमा भएको छ। जुन यसभन्दा अघिल्लो साल निकालिएको धान रोपाइँको तथ्यांकभन्दा ३४.६६ प्रतिशतले बढि हो। यसरी आँकलन गर्दा यस वर्ष उत्साहजनक रोपाइँ भएको छ। अघिल्ला वर्षहरूमा असार-साउनमा बाँझा देखिने खेत, बारी, फाँट र पाखाहरू यस वर्ष धान, मकै, कोदो जस्ता बालिनालीले भरिपुर्ण भएका छन्।
यस उदाहरणबाट पनि अहिलेको समयमा युवावर्गको सक्रियताबाट कृषिलाई आधार बनाएर अर्थतन्त्र सुधारमा टेवा पुर्याउन सकिन्छ कि भन्ने झलक देखिएको छ।
बेरोजगार युवाहरूको सक्दो उपयोग गर्दै कृषिमा आधुनिक प्रविधिको समेत उच्चतम प्रयोगमा ध्यान पुर्याउनु अपरिहार्य छ। त्यस्तै मल, बिउ, उन्नत जात (बालिनाली र फलफूल र पशुपंक्षी) र सिंचाइजस्ता आधारभुत कृषि पूर्वाधारहरू किसानहरूको सरल पहुँचमा हुनुपर्छ। अहिले हामीले गरेका र भएका प्रगतिहरूलाई अनुभूति मात्र गर्न सक्यौं भने हामीलाई यस समयमा अरू थप सुधार गर्ने उर्जा प्राप्त हुन्छ र हाम्रो समृद्धिको यात्रा सहज हुन सक्छ।
यस वर्ष अघिल्लो वर्षको तुलनामा सक्दो उत्पादन गर्न सक्यौं भने उत्पादित वस्तुले देशको माग पूरा गर्न सक्छ। यो महामारीको स्थितिमा हामीले देशमा उत्पादित वस्तु निर्यात गर्न सक्षम नहौंला तर आयातलाई प्रतिस्थापन गर्न सक्यौं भने मात्र पनि हाम्रो मुलुकबाट छिमेकी तथा तेश्रो मुलुकमा जाने धनराशि (पुँजी र कर) बचत हुन सक्छ। उत्पादनलाई गणितीय तथ्यांकमा विचार गरी मुलुकभित्र खपत गराउने र आयात निर्यात बिच सन्तुलन मिलाउने कार्यमा सरकार चनाखो हुनैपर्छ।
यसरी सबै क्षेत्रमा उच्चतम ह्रास आइरहेको बेला अर्थतन्त्रको सुधारको निम्ति कृषिलाई निर्विकल्प अस्त्रको रुपमा लिन सकिन्छ। जो कोभिड १९ विरूद्धको लडाँइमा अर्जुनको सारथि कृष्ण जस्तै बन्न सक्छ।
(स्मृती बस्नेत गोरखा मा.वि., तुलसीपुर, दाङ कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)