सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना भाइरस महामारीका कारण नेपालमा चैत ११ गतेदेखि लकडाउन भयो। परीक्षा सकिएको र शैक्षिक सत्र सुरू नभएकाले एक महिना त रमाइलोसँग बित्यो।
नयाँ वर्ष २०७७ लाग्ने बित्तिकै स्कुल जान पाइएला भन्ने आश थियो। तर लकडाउन नखुल्दा स्कुल गएर नयाँ कक्षामा साथीभाइसँग बसेर पढ्न पाइएन। घरै बस्न बाध्य हुनुपर्यो। केही दिनपछि स्कुलले अनलाइन कक्षा सुरू गर्यो।
अनलाइनमा पढ्न थालेपछि केही कुरा सजिलो भएको छ– स्कुल जान बिहान चाँडै उठ्नु पर्दैन। ड्रेस लाउनु पर्दैन। बसमा कोचाकोच भएर यात्रा पनि गर्नु पर्दैन। धुवाँ, धुलो र हिलोमा हिँड्नु पर्दैन। वर्षामा रूझ्नु पर्दैन।
केही कुरा भने गुमेको छ– कक्षाकोठामा बसेर पढ्न पाइएको छैन। साथीभाइसँग खेल्न पाइएको छैन। उनीहरूसँगै बसेर खाजा खान पाइएको छैन। मिठामिठा कुराकानी गर्न पनि पाइएको छैन। गुरूगुरूआमाको माया र गाली दुवै पाइएको छैन। मुख्य कुरा त नयाँ साथी बनाउन पाइएको छैन। अनि नयाँ कक्षामा पढाउने गुरूहरूसँग चिनजान पनि हुन पाएको छैन।
यी कुरा सम्झँदा बेलाबेला नरमाइलो लाग्छ। स्कुल जान नपाए पनि पढाइ भने अनलाइनबाट चलिरहेको छ। कहिले बत्ती जान्छ, कहिले नेटले काम गर्दैन। दुःखसुख भए पनि घरमै बसेर पढिरेहका छौं।
यस्तो बेला मेरो दैनिकी केही फरक भएको छ। बिहान उठेर नित्यकर्म सकेपछि चिया पिउँछु। केही बेर पढ्छु। खाना खाएपछि अनलाइन कक्षा सुरू हुन्छ। लगभग तीन बजेसम्म पढाइ हुन्छ भने बीचमा केही बेर ब्रेक पनि हुन्छ। कक्षा सकिएपछि गृहकार्य गरेर इमेलमा पठाउँदा चार बजिहाल्छ।
चार बजेदेखि म फेरि व्यस्त हुन्छु। करिब दुई घण्टा म शान्त खरेल गुरूसँग अनलाइनमा योग सिकिरहेको छु। यसबीच मैले योगका विभिन्न आसन जानिसकेको छु भने ध्यान गर्न पनि सक्ने भएको छु। यस्तै प्राणायाम, योगनिद्रा जस्ता कुराको पनि मलाई अनुभव भएको छ।
योग शरीर र आत्मा शुद्धीकरणको विज्ञान रहेछ। योगले शरीर, दिमाग र आत्मालाई पूर्ण रूपमा शुद्ध गर्छ। योगले मांसपेशी प्रणालीमा सन्तुलन राख्न कायम गरी हड्डीको लचकता बढाउन मद्दत गर्दो रहेछ। योग गर्न थालेपछि मलाई स्फूर्ति बढेको छ। खाना रूच्न थालेको छ भने पढेका कुरा पनि राम्ररी सम्झन सक्ने भएको छु।
सुरूसुरूमा योग गर्न केही कठिन भयो। तर हरेक दिन अभ्यास गर्दै गएपछि बानी पर्न थाल्यो। यसमा गुरूले पनि सिक्ने हौसला दिँदै जानुभयो। योग निद्राको आसन गर्दा शरीर मनलाई यति धेरै आनन्द हुन्छ कि त्यसको के बयान गरूँ?
६ बजेसम्म योगको कक्षा लिइसकेपछि एक घण्टा गृहकार्यका बाँकी काम पूरा गर्छु। अनि सात बजेदेखि एक घण्टा हप्ताको पाँचै दिन अनलाइन संस्कृत कक्षामा सहभागी हुन्छु। संस्कृत संसारको सबैभन्दा पुरानो भाषा मानिन्छ। विश्वकै सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेद संस्कृतमै लेखिएको छ। नेपाली भाषाको जननी भएकाले पनि मैले संस्कृत सिक्न थालेको हुँ।
अहिले मलाई 'समज्ञा संस्कृत अभियान'ले संस्कृत सिकाइरहेको छ। गणेश तिमल्सिना गुरूबाट संस्कृत भाषाका सामान्य कुराहरू सिक्ने अवसर पाएको छु।
मैले यही बेला संस्कृतका केही नीति-श्लोक कण्ठ गरेँ। दुर्गाशप्तसती चण्डी र गीता पनि सामान्य रूपमा पढ्न थालेको छु। बाँकी समय म युट्युबमा नयाँ-नयाँ भिडियो हेर्छु। मलाई यात्रासँग सम्बन्धित भिडियोहरू हेर्न खुब मन पर्छ।
अहिले संसार नै महामारीले आक्रान्त छ। यस बेलामा घरैमा बस्नुको विकल्प छैन। त्यसैले घरमै बसौं, केही नयाँ कुरा सिकौं। कुनै दिन प्यारा साथीभाइसँग विद्यालयको चौरमा खेल्न दिन पक्कै आउनेछ। त्यो दिन चाँडै आओस् भन्ने सबैले कामना गरौँ।
(मीमांसक नेपाल नाइटिंगेल अन्तर्राष्ट्रिय मा.वि, कोपुण्डोल ललितपुरमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)