सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
'कोरोना भाइरस चाइनामा आयो अरे' भन्ने सुन्दा त मलाई खासै चिन्ता लिनुपर्ने कुरा जस्तो लागेन। बिस्तारै युरोपियन, अमेरिकन तथा अरू मुलुकमा दैनिक हजारौं संक्रमित थपिनुका साथै मृत्युका खबरले विश्वभरको वातावरण त्रासपूर्ण बन्न पुग्यो।
हाम्रो अन्तिम परीक्षा पनि अघि सार्यो र परीक्षा पनि चाँडै सिद्धियो। नेपालमा पनि केही मात्रामा संक्रमित देखिन थालेपछि सरकारले चैत ११ देखि लकडाउन घोषणा गर्यो।
परीक्षा सिद्धिएपछि धेरै ठाउँ घुम्न जाने मेरो इच्छा थियो। यस महामारीका कारण कहीँ पनि जान नपाउने भएकाले म निराश थिएँ। अर्कोतिर कोरोना भाइरसको त्रास पनि मनभित्र उब्जिरहेको थियो। सुरूतिर त केहि पनि काम नभएर होला मलाई दिन बिताउन गाह्रो हुन्थ्यो। पछि यस्तो अमूल्य समय खेर फाल्नु हुँदैन जस्तो लाग्यो। त्यसपछि मैले समय राम्रोसँग सदुपयोग गर्न थालेँ।
बिहान उठेर आमाबुवासँग योग-ध्यान र कसरत गने थालेँ। आमाको दैनिक गृहकार्यमा सघाउन थालेँ। राम्रो चित्र कोर्न सिकेँ र आफैँले मीठो कविताहरू पनि लेखेँ। आमाबुवाको मुख हेर्ने दिनमा अरू बेला पैसा हाली उपहार किनेर दिने छोरीले यसपलि भने राम्रो चित्र र आफैँले सिर्जना गरेकाे मिठो कविता उपहारको रूपमा दिँदा आमाबुवा पनि खुसी हुनु भयो।
आमाले मलाई बारीमा लगि फर्सी, भिन्डी, लौका, आलु, राजमा, मकै जस्ता अन्य तरकारी फल्ने प्रक्रिया प्रत्यक्ष देखाउनु भयो। विभिन्न उपन्यास पढ्ने र दिनदिनै दैनिकी लेख्ने बानी बसाएर होला मेरो लेखन कौशलमा पनि सुधार आएको महशुस हुन्छ। घर बसेर विज्ञानसम्बन्धि भिडियो हेर्ने भएर होला मैले किताबी ज्ञानबाहेकका अरू धेरै बाहिरी ज्ञान प्राप्त गरेकी छु।
लकडाउनले मलाई आत्मनिर्भर बनाएको छ। चिया पकाउन अल्छि मान्ने म आजकल दैनिक मीठो खाना पकाउन थालेकी छु। घरको काम गर्न अल्छि मान्ने म आजभोलि भाँडा माझ्ने, लुगा धुने, घर सरसफाइ गर्ने र घरको अन्य काम गरी आमालाई सघाउन थालेकी छु। अरूबेला आमाबुवालाई समय दिन नसक्ने म आजभोलि आमाबुवाको अझै नजिक हुन थालेकी छु।
आमाबुवाले मेरा लागि गर्नुभएको दु:ख र त्यागबारे पनि राम्रोसँग बुझ्न थालेकी छु। अरू बेला बुढा भइसकेका मेरा हजुरबुवा हजुरआमासँग मन खोलेर कुरा गर्नै नभ्याउने म आजभोलि उहाँहरूको जीवन भोगाईको अनुभवका साथै उहाँहरूको अर्ति उपदेश सुनेर पलना गर्न थालेकी छु।
आजभोलि विद्यालय जाने अवसरबाट बञ्चित हुन परे पनि लकडाउनले मलाई किताबी ज्ञानबाहेकको नयाँ सीप र व्यवहारिक ज्ञान सिक्ने अवसर दियो जसकारण मेरा लागि लकडाउन उपयोगी बन्यो।
विश्वव्यापि रूपमा कोभिड १९ दिनानुदिन फैलिदै गइरहेको छ। हाम्रो देशमा पनि संक्रमित थपिनुका साथै मृत्युको संख्या बढिरहेको छ। यसले झन् कति असर पर्ने हो, कहिले सम्म यसको असर देखा पर्ने हो भन्ने कुरा यकिन गर्न सकिने अवस्था छैन। तर पनि हामी यसबाट सजग भएर हरसम्भव जोगिने र अरूलाई पनि जोगाउन चेतना जगाउने काम गर्नुपर्छ।
(प्राप्ती पाण्डे एल.आर.आई स्कुल, कलंकी काठमाडाैंमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)