सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
यति बेला विश्वभर कोरोनाको महामारी छ। चैत्र महिनादेखि नेपालभर लकडाउन भयो। मेरो स्कुल चैत्र ४ गतेदेखि बिदा थियो। त्यस लगत्तै लकडाउन पनि सुरू भइहाल्यो।
लकडाउनको समयमा घरमै बसेर दिन बिताए। दिन बिताउन साह्रै दिक्क लाग्यो। बजार, पसल, उद्योग, स्कुल, क्याम्पस सबै बन्द भए। तीन महिनापछि लकडाउन अलि खुकुलो भयो। लकडाउन खुकुलो भए पनि महामारी झन् झन् बढ्दै गयाे। जताततै कोरोनाका बिरामी देखा पर्न थाले। मानिसहरू मर्दै जान थाले।
अहिले फेरि लकडाउन सुरु भएको छ। दिनदिनै मानिसहरू मरेको र कोरोनाका विरामी बढ्दै गएको समाचार आइरहन्छ। वैशाखको अन्तिमतिर मेरो अनलाइनमा पढाइ सुरू भयो। अनलाइन कक्षामा पढ्दा, गृहकार्य गर्दा र गरेको मिलेन होला भनि सर, म्यामहरूले चेक गरी नपठाउदासम्म कौतुहल लाग्छ।
मेरो स्कुलको आफ्नै स्कुल एप छ। हामी सोही एपबाट अनलाइन कक्षामा प्रवेश गर्छौ। कक्षामा कति बेला माइक म्युट गर्ने, कति बेला अनम्युट गर्ने आफ्नै नियम छन्। कक्षामा बस्दा भिडिओ अफ गरेर बस्नु हुँदैन। भिडिओ अफ गरेर मोबाइल गेम खेल्नु र टिकटक भिडिओ हेरेर बस्नु बदामासी गर्नु हो। त्यसैले, जति बेला पनि भिडिओ अन गरेर बस्नु पर्छ। भिडिओ अफ गरेर बस्दा हामीले के गरिरहेका छौं भन्ने कुरा सर, म्यामहरूलाई थाहा हुँदैन। हामी आफ्नै घरमा भए पनि अनलाइन कक्षामा बस्दा स्कुलमा जस्तै अनुशासित भएर बस्नु पर्छ।
हाम्रो अनलाइन मै लेख्ने, चित्रकला र हाजिरी जवाफ प्रतियोगिता भयो। म चित्रकला फाइनलसम्म पुगेँ। अहिले अनलाइनबाटै परीक्षा पनि भयो। अनलाइनमा परीक्षा दिँदा रिजल्ट पनि तुरुन्तै थाहा हुन्छ। हामी साथीहरूसँग ग्रुप-भिडिओ कुराकानी गर्छौं। सर, म्यामहरूसँग पनि कुरा हुन्छ। नबुझेको कुरा जतिबेला पनि सरम्यामसँग सोध्न पाइएको छ। अनलाइन कक्षाले धेरै फाइदा पुगेको छ।
अहिले स्कुल जान नपाएको पनि ५ महिना भइसकेछ। स्कुल जान नपाउदा र साथीहरूसँग प्रत्यक्ष भेटेर कुरा गर्न, खेल्न, रमाउन नपाउदा नरमाइलो लागेको छ। कति बेला स्कुल खुल्ला अनि साथीहरूसँग भेट्न पाइएला भन्ने लागे पनि यो समय अति नै अप्ठेरो अवस्था छ रे। स्कुल खोल्दा कोरोना भाइरस झन् छिटो फैलिन सक्छ। त्यसैले, तुरून्तै स्कुल खुल्ने अवस्था छैन रे।
साउन १ गतेदेखि खै किन हो 'अनलाइन कक्षा अब नहुने रे' भन्ने हल्ला सुनेर मलाई साह्रै नरमाइलो लागेको थियो। धन्न एक हप्तापछि फेरी सुरू भइहाल्यो। कक्षा सुरू भएपछि म धेरै खुशी भएँ। अब फेरि कहिल्यै बन्द नहोस्। यो कोरोना महामारी रहुन्जेल अनलाइन कक्षा चलिरहोस् भन्ने लागेको छ।
(अश्विन पन्थी न्यु होराइजन मा.वि. बुटवलमा कक्षा ४ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)