सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना भाइरस संक्रमणको सम्भावना बढ्ने हुनाले विद्यालय बन्द गरिएका छन्। विद्यालय बन्द भएकाले अनलाइन माध्यमबाट पठनपाठन सुरू भएको छ।
सबै विद्यालयमा विद्युत आपूर्ति नहुँदा र इन्टरनेट सेवा नभएकाले अनलाइन कक्षाहरू सञ्चालन भएका छैनन्। धेरै विद्यार्थीहरू विद्यालयको पठनपाठनबाट बञ्चित हुनु परेको छ। अनलाइन कक्षा सुरू गरेका विद्यालयका कतिपय विद्यार्थी समेत कम्प्युटर, इन्टरनेट र निरन्तर विद्युत आपूर्ति नभएर अनलाइन कक्षामा सहभागी हुन पाएका छैनन्।
मैले अनलाइन कक्षामा सहभागी हुन पाएकोमा आफूलाई भाग्यमानी ठानेको छु। धेरै दाजुभाइ दिदीबहिनीहरू अनलाइन कक्षामा सहभागी हुनबाट बञ्चित हुनु परेकोमा दुःख लाग्छ। मेरो विद्यालयमा भने जेठबाट नै अनलाइनबाट पठनपाठन सुरू भएकाले पाठ्यक्रम धेरै अगाडि बढिसकेको छ। अनलाइन कक्षा सुरू नभएका विद्यालयमा सुरू नै भएको छैन होला।
मैले हाम्रो विद्यालयबाट हुने कक्षामा सधैं सहभागी हुने कोसिस गरिरहेको छु। कहिलेकाहीँ अचानक कक्षा सुरू हुँदा बीचैमा विद्युत आपूर्ति बन्द हुनाले कक्षा छुट्ने गर्छ। कहिले जुम एपमा आउने खराबीले समेत कक्षामा सहभागी हुन सकिँदैन। सुरूका महिनामा अनलाइन कक्षामा सैद्धान्तिक विषयहरूको पठनपाठन मात्र हुन्थ्यो। शारीरिक क्रियाकलापहरू सञ्चालन हुन्थेनन्।
विगत दुई महिनादेखि भने ध्यान, शारीरिक कसरत, गायन, नृत्यका कक्षाहरू पनि हुने गरेका छन्। यस्ता कक्षाका क्रियाकलापमा सहभागी हुन धेरै रमाइलो लाग्छ। शारीरिक कसरत, ध्यान गर्दा कक्षाकोठा र विद्यालयको चौरमा गुरूआमा र साथीहरूसँग भएको अनुभव हुन्छ।
बन्दाबन्दीको सुरूको समयमा त नजिकैको चौरमा गएर दौडने र विभिन्न शारीरिक कसरत गर्ने गरेको थिएँ। आजकल भने कोरोनाको संक्रमण बढ्दै गएकाले घरभन्दा बाहिर जाने गरेको छैन। पहिले बिहान आठ बजेदेखि बेलुकी चार बजेसम्मको समय विद्यालयमा नै बित्ने गर्थ्यो। आजकल विहान आठ बजेदेखि ११ बजे सम्मको समय अनलाइनबाट कक्षा सञ्चालन हुने गर्छ। बाँकी समय घरभित्र नै बिताउनु पर्छ।
पहिले त मलाई रात-दिन घरभित्र बस्नु पर्दा उकुसमुस भई दिक्दार लाग्ने गर्थ्यो। आजकल मैले पुस्तक पसलबाट मुना पत्रिका, नेपाली र अंग्रजी भाषाका बाल उपन्यास, कथा संग्रहका किताबहरु ल्याई मागेको छु। नेपाली भाषामा अनुवाद गरेको रबीन्द्रनाथ टैगोरको कथा संग्रह, लुई स्टेभेन्सनको ट्रेजर आइल्याण्ड बाल उपन्यास, बुढी आमाको लौरो बाल उपन्यास, अक्फोर्ड रिडिङ्गका विभिन्न अंकहरू लगायत विभिन्न बालकविता र कथाहरू पढेँ।
त्यसैगरी टेलिभिजनबाट प्रसारण हुने अनलाइन कक्षाहरू समेत भ्याएसम्म नियमित हेर्ने गरेको छु। खाली समयमा विभिन्न पत्रपत्रिकामा छाप्नका लागि मनका कुराहरू लेख्ने गरेको छु।
यसका साथसाथै, किताबमा भएका विषयवस्तुहरू गुगल र युट्युबमा खोज्ने गरेको छु। गुगल र युट्युबबाट सिकेका कुराहरू आमाबुवाको सहयोगमा फेसबुक र युट्युबबाट लाइभ स्ट्रिमिङका माध्यमबाट प्रस्तुत गर्ने गरेको छु। लाइभ स्ट्रिमिङबाट आफूले सिकेका कुराहरू प्रस्तुत गर्ने गर्नाले म आजकल निर्धक्क भएर मनमा लागेका कुरा स्पष्टसाथ प्रस्तुत गर्न सक्छु।
मैले फेसबुक र युट्युबबाट प्रस्तुत गरेको स्ट्रिमिङबाट साथीहरूले पनि सिकून् भन्ने लाग्छ। उनीहरू पनि लाइभ स्ट्रिमिङबाट आफूले सिकेका र मनमा लागेका कुराहरू प्रस्तुत गर्न सक्छन्। यसो गर्दा एकआपसमा अनुभव आदानप्रदान हुन सक्छ। हामी एकआपसबाट धेरै कुरा सिक्न सक्छौं।
सायद बन्दाबन्दी नभई नियमित कक्षा सञ्चालन भएको भए हामीले जुम एपबाट कक्षामा सहभागी हुने अवसर पाउन्नथ्यौं होला। अनि विद्यालयको एपबाट गृहकार्य हेर्ने र गृहकार्य गरेर पेश गर्ने कुरा पनि सिक्नु पर्थेन होला।
त्यसैगरी, विद्यालयमा पढाएका विभिन्न पाठ सम्बन्धी थप विषयहरू गुगल र युट्युबमा खोजेर पनि पढिन्थेन होला। अनलाइन कक्षाले कम्प्युटर र अनलाइन पढाइ सम्बन्धी धेरै कुरा सिकाएको छ।
यति हुँदाहुदै पनि मलाई विद्यालय, साथीभाई र गुरूगुरूमाको न्यास्रो लागिरहन्छ। विद्यालय कहिले जाउँला र साथीभाइसँग भेटौंला लागिरहन्छ। विद्यालयमा हुने खेलकुद र कक्षाकोठामा हुने क्रियाकलापको याद आइरहन्छ। मलाई अब छिट्टै कोरोना संक्रमण हट्ला र विद्यालय चाँडै जान पाइएला जस्तो लागेको छ।
(पिनाकबहादुर सिंह सेन्ट जेभियर्स स्कुल गोदावरी, ललितपुरमा कक्षा ५ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)