सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
२०७५ साल, कात्तिकमा म राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भेट्न बाबासँग उहाँको घर लैनचौर गएकी थिएँ। हामी त्यहाँ पुग्दा कविज्यूलाई भेट्न धेरै मानिसहरू जम्मा भएका रहेछन्। सबैले उहाँलाई भेट्ने पालो पर्खेर बसेका थिए।
त्यहाँ गएकामध्ये म सबभन्दा सानी थिएँ। त्यसैले कवि खुसी भएर मलाई नै सबभन्दा पहिला पालो दिनुभयो।
भित्र गएपछि मैले सबैलाई नमस्ते भनेँ। उहाँका छोराले मलाई माथि तलामा रहेको राष्ट्रकविको कोठामा पुर्याइदिनुभयो। अनि उहाँलाई पनि नमस्कार गरेँ।
उहाँले भन्नुभयो– बस।
एक सय वर्ष पुग्नुभएका उहाँलाई जन्मदिनको उपहार दिन भन्दै मैले लौरो टेकेको चित्र बनाएर लगेकी थिएँ र त्यही दिएँ। त्यसपछि उहाँले मेरो नाम र स्कुल सोध्नुभयो।
मैले मेरो नाम मानुषी भण्डारी हो, सेन्टमेरिजमा पढ्छु भनेँ। त्यसपछि उहाँसँग कुरा गर्न थालेँ।
एकजना आन्टीले बाबा र मलाई जुस दिनुभयो। मैले स्कुलमा उहाँको भंगेरा र भंगेरी कविता पढेकी थिएँ। त्यही कविता सुनाएँ। अनि कविले पनि मसँगै कविता सुनाउँदै ताली बजाउँदै गर्नुभयो।
अनि मलाई कुर्चीबाट बोलाएर विस्तारमा आफ्नै छेउमा राख्नुभयो। हामीले फेरि कवितालाई गीतजस्तै गायौं। अनि टालाटुली बटुली पनि सुनाउनुभयो। मैले त्यो पनि गाए उहाँसँगै।
मैले कविता कसरी लेख्ने हो भनेर सोधेपछि मलाई कागको कुरा सुनाएर लेख्न सिकाउनुभयो। काग काग नभाग नभाग भनेर लेख्ने हो भन्नुभयो। धेरै रमाइलो भयो। अनि मलाई भंगेरो बाठो कि भंगेरी भनेर सोध्नुभएको थियो। मैले भंगेरो बाठो छ भनेको त कविले बाबासँग छोरी बाठी रहिछन् भनेर हाँस्नुभयो।
धेरैबेर बस्दा पनि उहाँले मसँग गाउँदै हात घुमाएर नाच्दै गर्नुभएको थियो। उहाँको अर्को कोठाभरि उपहार र फोटाले भरिएका थिए। हामीले ती सबै हेरेका हौं। कविले मलाई तिमिले कविता लेखेर सुनाउन फेरि आउनु है भन्नुभएको थियो। मैले हस भनेकी थिएँ।
चैतमा छुट्टि भएपछि जाने भनेर बाबाले पनि भन्नुभएको थियो। तर कोरोना भाइरस आएर जान पाइएन।
अहिले उहाँको निधन भएको कुरा मेरो बाबाले त्यसैदिन साँझ फोन गरेर सुनाउनुभयो। अहिले म मामाघर कपिलवस्तु छु। कविको निधनले मलाइ नरमाइलो लाग्यो।
(मानुषी भण्डारी कक्षा ३ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)