सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना भाइरसको डरले हामी सबै घरमै बसेका छौ। स्कुल बन्द छन्। स्कुल कहिले खुल्ने भन्ने थाहा छैन। हाम्रो स्कुलले अहिले अनलाइनबाट कक्षा लिइरहेको छ।
जुममा कक्षा लिन पाए पनि साथीहरूसँग नभेटेको, नखेलेको पनि धेरै भइसक्यो। कहिले स्कुल गएर साथीहरूसँग खेल्न पाइने हो थाहा छैन। घरमै रहेका बेला मेरो विद्यालय श्री नन्दिनाच एक्याडेमीले टिकटक नृत्य प्रतियोगीता आयोजना गर्याे। तीज र गौराको अवसरमा यो प्रतियोगीता गरिएको हो। यो प्रतियोगीता मैले पनि भाग लिए। आज म यहाँहरूलाई त्यही नृत्य प्रतियोगीतामा भाग लिदाको अनुभव सुनाउन चाहन्छु।
विद्यालयका कुनै पनि क्रियाकलापमा सहभागी हुन नपाएको अवस्थामा हाम्रो विद्यालयबाट टिकटक नृत्य प्रतियोगीता हुने खबर आयो। खबर सुन्दा मलाई पनि भाग लिन मन लाग्यो। यसअघि नृत्यमा मैले कहिले भाग लिएको थिएन। टिकटकमा मेरो आफ्नै आइडी छैन। तर मामुको आइडीबाट चलाउने, बनाउने र हेर्ने गर्थेँ। ममीलाई प्रतियोगीतामा म पनि भाग लिन्छु भन्दा खुसी हुनुभयो। अरू बेला टिकटक बनाउन सहयोग माग्दा ममी मलाई गाली गर्नुहुन्थ्यो। यो टिकटक बनाउँदा भने सहयोग गर्नुभयो। कुन गीतमा नाच्ने कसरी नाच्ने भन्ने कुरा ममीले नै मलाई सिकाउनु भयो। मैले रूमालैमा छ मन्द मन्द भन्ने गीतमा अभ्यास गरेँ।
मैल दउरा, सुरूवाल र ढाका टोपी लगाएर टिकटक बनाएर पठाए। मेरो कन्टेसटेन्ट नम्बर १७ हो। मेरा साथीहरूले पनि नृत्य बनाएर पठाएका छन्। मेरो स्कुलले आफ्नो फेसबुक पेजमा सबै नृत्य राखेको छ। मैले अरूका नृत्य पनि हेरेँ। आफ्नो नृत्य हेर्दा अलिअलि लाज पनि लाग्यो।
सानो नृत्य गर्दा पनि तयारी र अभिनयमा धेरै समय लाग्यो। मिहिनेत पनि धेरै चाहिने रहेछ। पूरै गीतमा नाच्दा र धेरै नाच्ने मान्छेलाई झन् कति मेहनत गर्नुपर्छ होला। मेरो मामुले मलाई धेरै सहयोग गर्नुभयो। प्रतियोगिताको नतिजा आउन बाँकी छ। मलाई परीक्षाको नतिजा आउँदाको जस्तै डर लाग्दैछ। म के हुँला छिटो रिजल्ट आए हुन्थयो भन्ने लाग्छ। मैले मामुलाई यो कुरा भन्दा उहाँ मलाई के भयौ भन्दा पनि भाग लिनु ठूलो कुरा हो भन्नुहुन्छ। आफ्नो प्रतिभा देखाउनु ठूलो कुरा हो भन्नुहुन्छ।
मैले विद्यालयका कार्यक्रममा त पहिला पनि भाग लिएको छु तर प्रतिष्पर्धामा पहिलो पटक हो। मलाई त पुरस्कार पाए हुन्थ्यो जस्तो लाग्छ। प्रतिष्पर्धामा जे भए पनि यसले मेरो आत्मविश्वास भने बढाएको छ। यस्ता कार्यक्रममा भाग लिदा मिहिनेत गर्नुपर्ने रहेछ भन्ने पनि सिकेँ। यसले मलाई घरमै बस्दा समय कटाउन पनि सजिलो भयो। अहिले अरू विद्यालयले पनि यस्तै प्रतियोगिता गरे त्यहाँ पढ्ने विद्यार्थीले पनि धेरै कुरा सिक्न पाउथे जस्तो लागेको छ।
प्रतियोगितामा जितेँ म खुसी हुन्छु तर नजिते पनि खुसी हुन्छु किनकी धेरै सिक्न पाएँ। यस्ता प्रतियोगितामा भाग लिन नडराउनुहोला भनेर सबैलाई अनुरोध गर्न चाहन्छु।
(अर्नभ उपाध्याय पनेरू श्री नन्दिनाच एक्याडेमीमा कक्षा ३ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)