सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
अहिले हामी दोश्रो चरणको लकडाउनले घरभित्रै बस्न बाध्य छौं। हुन त हामी लकडाउनको अवधिमा घरबाट बाहिर निस्केका थिएनौं।
लगातार ५ महिनासम्म कतै नगई घरमा नै बसेर बिताएका थियौं। तर, हामीमध्ये धेरैले 'कोरोना न सोरोना' केही मतलब नै गरेका थिएनौं र लकडाउन लगाएर बाध्य नबनाउन्जेल घरमा बस्नै मानेका थिएनौं।
पहिलो चरणको लकडाउनको पछिल्ला दिनमा कारणबस बाहिर सडक बाटोमा निस्कँदा साह्रै अत्यास लाग्थ्यो, डर लाग्थ्यो। लकडाउन फुकुवा भएपछि पनि कुनै कारणबस मात्रै हामी घर बाहिर निस्कन्थ्यौं। त्यसरी घर बाहिर निस्कदा सडक बाटोमा र पसलमा मानिसहरूको भिड देख्दा आफूलाई अत्यास लाग्ने, डर लाग्ने भएको थियो।
सडक बाटोमा हिँड्नेहरूको, पसलहरूमा किनमेल गर्ने मानिसहरूको भिड देख्दा अचम्म र डरसमेत लगेर आउँथ्यो। र सोच्थेँ, मानिसलाई कस्तो डर नलागेको। कति अबुझ भएका?
अहिले कोरोना भाइरस निर्मूल भएर नभई हाम्रो जनजीवनलाई केही सहज बनाउ मात्रै लकडाउन हटाएको र खुकुलो बनएको हो नि। तर खै किन मानिसहरू त कोरोना भाइरस निर्मूल नै भएझैं गरी सडक बाटोमा निस्कने, ठेलमठेल गरेर एक आपसमा टाँसिएर हिँड्ने, चोक बजारमा जम्मा हुने, पसलहरूमा भिडभाड गरेर किनमेल गर्ने, रेस्टुरेन्टमा जम्मा भएर खाने गरेका?
म आफैंलाई सोध्थेँ, 'मानिसहरू किन आफ्नो, आफ्नो परिवारका सदस्य-नातागोता, आफन्तहरूको स्वास्थ्य जस्तो अति संवेदनशील कुरामा समेत गम्भीर नभएको?
अहिले हाम्रो देशको प्रायः सबै क्षेत्र र जिल्लामा कोरोना संक्रमण बढ्दै गएको र फैलिरहेको छ। कोरोना जनस्तरमा सर्दै छ। समुदायमा फैलिरहेको छ। अहिले को संक्रमित हो र कसबाट सर्छ भन्न सकिँदैन। जो कोही संक्रमित हुन सक्छ र कसैबाट कुनै पनि बेला हामीले थाहा नै नपाई कोरोना सर्न सक्छ। त्यसैले, अहिले आफ्नो लागि आफैं सचेत र सुरक्षित रहनु पर्ने अवस्था छ।
त्यसैले, कुनै पनि अपरिचित तथा नवआगन्तुक मानिसको नजिक नजाने, मानिसहरू जम्मा भएको स्थान, हुलमुलमा आफू नजाने, कारणबस जानुपरे सुरक्षित मास्क लगाएर जाने र घरमा पुग्नासाथ साबुनपानीले मजाले हात धुने, मिलेसम्म नुहाउने गर्नु पर्छ भन्ने कुरा मैले बुझेको छु।
अरूले पनि यिनै कुराहरू नै बुझेको हुनु पर्ने हो जस्तो मलाई लाग्छ। तर अहिले टोलछिमेक र त्यसमा देखाएको समाचार आदि कुराहरू हेर्दा खै कसैले पनि बुझेको, मनन गरेको जस्तो देखिँदैन।
कि बुझेर पनि नबुझेझैं गरेका हुन्? वा कोरोनालाई यस्ता जाबो भनेर हेपेका हुन्? ठम्याउनै मुस्किल भएको छ।
साँचो कुरा त, हामीले यिनै माथिका कुरा गम्भीरतासाथ नलिएको, मनन नगरेको र हेलचेँक्र्याइ गरेकै कारण अहिले प्रायः दिनदिनै कोरोना संक्रमित बढिरहेका छन्। साथै, मर्नेहरूको संख्या समेत बढिरहेको छ।
यस्ता कुराहरू अहिले हाम्रो समेत हातमा हुने मोबाइल, अन्य पत्रपत्रिकाहरू मार्फत हामी सबैलाई थाहा भएकै कुरा हुन्। प्रायः हामी त्यस्ता खबर हेर्छौं, सुन्छौं, पढ्छौ। दोष चाहिँ अरू मानिसमा थोपर्छौं। आफूले के गरेका छौं, त्यो कहिल्यै मनन गर्दैनौं।
कतै हामीबाट पनि गल्ती भएको छ कि भनेर कहिल्यै सोच्दैनौं। आफूले गरेका गल्ती समेत अरूमा थोपरेर गाली गर्न थाल्छौं। आफूलाई सही र सर्वज्ञानी सम्झने गल्ती बारम्बार दोहोर्याइ रहन्छौं।
हो यिनै कारणले आज हामी पुनः दोस्रो चरणको लकडाउनमा घरभित्र बस्न बाध्य भएका छौं। कोरोनाको सन्त्रासमा पुनः बस्नु परेको छ। कसैले त्यतिकै खोक्दा र हाच्छिँउ गर्दासमेत तर्सेर छ मिटर पर भाग्नु परेको छ।
अब त सचेत होऔं। सुरक्षित रहौं र स्वस्थ्य रहौं।
(सम्राज्ञी खत्री भ्यालि भ्यु स्कुल पुरानो बानेश्वर, काठमाडौँमा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)