सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
भौतिक सुख र विकासको खोजीमा आजको मानव बेलगाम दौडिरहेको छ। विश्वव्यापीकरणका कारण विश्व सानो गाउँमा परिवर्तन भइरहेको छ।
संसारका मानिसहरूको गतिशीलता पनि बढिरहेको छ। प्रविधिको र पुँजिका कारण बेरोजगारी समस्या पनि उत्तिकै बढिरहेको छ। मानिसले भौतिक सुख त प्राप्त गरेको छ। तर सुखसँगै शारीरिक, मानसिक, सामाजीक, साँस्कृतिक, आर्थिक आदि तनावहरूको भुमरीमा समेत फसिरहेको छ।
यसैको कारण मानिसहरूलाई विभिन्न खालका सर्ने र नसर्ने रोगहरूले अक्रान्त बनाइरहेको छ। अप्राकृतिक खानपान र आधुनिक जीवनशैलीका कारण नेपालमा पनि उच्च रक्तचाप, मधुमेह, मोटोपन, हाडजोर्नीको समस्या, मेरूदण्डका समस्या, डिप्रेसन जस्ता नसर्ने रोगका रोगीहरू घरघरमा बढिरहेका छन्।
तनावको कारणले हृदयघात, मस्तिष्क घात जस्ता रोगले वृद्धवृद्धा मात्र होइन देशका मेरूदण्डका रूपमा रहेका युवा जनशक्ति पनि अकालमा मृत्युको मुखमा पुगेका छन्। मान्छेकाे जीवनशैलीका कारण चीनको वुहानमा देखापरेको कोरोना भाइरस सरूवा रोग संसारभरी महामारीको रूपमा फैलिएको छ।
विश्व विजय गरेको मान्छे कोरोनासँगको लडाइमा घरभित्रै लकडाउनमा बस्न विवश छ। तनावै तनावमा बच्चादेखि बुढासम्म रहेका छन्। यस्तो अवस्थामा योग, ध्यान, प्राकृतिक खानपान र स्वस्थ जीवनशैली महामारीबाट बच्ने र बचाउने एक मात्र विकल्प हामीसँग छ।
नेपाली माटोमा, हाम्रै पुर्खाहरूले अनुसन्धान र आविष्कार गरेको योग, ध्यान र खानपानका तरिकाहरू, संस्कारहरू विश्वभरी लोकप्रिय भएका छन्।
हाम्रो सभ्यता र संस्कारको रूपमा रहेको नमस्कार आज पश्चिमा मुलुकले समेत अनुशरण गरिरहेका छन्। ह्वाइटहाउस भित्र स्वस्तीपाठ गराउनु, जापान र बेलायतका प्रधानमन्त्रीहरूले नमस्कार गरेर शिष्टाचार गर्नु हाम्रो नेपाली संस्कृतिको सवलता हो।
हिन्दु सनातन धर्मको एक अंश भगवान कृष्ण, भगवान शिवले जानकारी गराएको र महर्षी पतञ्जलीले विकास गरेको योग विज्ञान र ध्यानद्वारा धेरै प्रकारका तनावबाट मुक्ति पाउन सकिने प्रमाणित भइसकेको छ। योग र ध्यानको बीचमा नङ र मासुको परस्पर सम्बन्ध छ।
योगले शारीरिक स्वास्थ्यलाई बलियो बनाउँछ। रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। ध्यानले मानसिक शान्ति दिन्छ। तनावलाई कम गर्छ। नेपालमै जन्मेर विश्वलाई अहिंसा शान्तिको उज्यालो प्रकाश दिनुभएका भगवान गौतम बुद्धले आविष्कार गर्नु भएको विपश्यना ध्यान रोग, भोक, भौतिक सुख र तनावमा परेका मान्छेलाई मुक्ति दिलाउने साधना बन्न सक्छ।
२१ सौँ शताब्दीसम्म आइपुग्दा पनि योग र ध्यानको महत्व उत्तिकै छ, जति महर्षी पतञ्जलीको पालामा थियो। भौतिकवादको चरम सुख पाए पनि आज मानिसले आत्मसन्तुष्टीको फल चाख्न पाउन असक्षम छन्। फलस्वरूप डिप्रेसन र चिन्ताको रहस्यमय जंगलमा भड्की रहेका छन्।
आधुनिक हुने नाममा आफ्ना प्राकृतिक खानपान, रहनसहन, दर्शन, संस्कार र संस्कृति छोडेर समाजलाई नकारात्मक दिशातिर लगिरहेका छन्। योगले हाम्रो शारीरिक स्फूर्ति मात्र नबढाई हाम्रो आन्तरिक उर्जालाई जगाउँछ। योगकै अंशको रूपमा रहेको ध्यानले आफूभित्र रहेको सकारात्मक विचारधारालाई जगाइरहन सक्छ।
शारीरिक बल, स्वासमा नियन्त्रण, सकारात्मक ऊर्जा र वैचारिक उत्तमता केवल योग र ध्यानबाट मात्र प्राप्त गर्न सकिने कुरा हुन्।आफ्नो जीवनमा आइलाग्ने हजारौँ तनाव र चिन्तासँग लड्नका लागि योग र ध्यान प्रमुख साधनाका रूपमा हामीले प्रयोग गर्न सक्छौं।
योग विज्ञान अन्तरगत पर्ने धेरै प्रणायाम र आसनलाई सही तरिका र निरन्तरताका साथ गर्ने हो भने हृदय रोग, श्वास-प्रश्वास, मधुमेह र पेटका रोगसँग लड्न सकिन्छ। योग र ध्यानले केवल प्रणायाम र आसनको मात्र प्रतिनिधित्व नगरी स्वास्थ्य जीवनशैली, सकारात्मक विचारधारा र भोजनको पनि प्रतिनिधित्व गर्छ।
अहिले मानिसहरू अस्वस्थ जीवनशैलीमा अभ्यस्त छन्। बालबालिका र किशोर किशोरीहरू पनि मोबाइल, टिभीमा अधिकांश समय बिताएका छन्। अस्वस्थ खाना खाइरहेका छन्। जसले गर्दा उनीहरू रोगी भइरहेका छन्। यसबाट छुटकारा पाउन योग र ध्यान गर्नु अत्यन्तै जरूरी छ। महामारीको यस समयमा डर र त्रासलाई हटाउन, रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति बढाउन योग साधनाको महत्व झनै बढेको छ।
नेपाल सरकारकारले योगलाई भविष्यमा पाठ्यपुस्तक, कक्षा र सिद्धान्तमा मात्र सीमित नराखी घरघर र मैदानमा पुर्याउन आवश्यक छ। योग र ध्यानलाई वृद्धवृद्धाको साधना मात्र नगराई युवापिँढीले पनि अपनाउन जरूरी छ।
अन्त्यमा, मानिसले तब मात्र खुसीको अनुभूति गर्न सक्छ जब उसले शारीरिक स्वास्थ्य, मानसिक शान्ति, आध्यात्मिक चेतना, भौतिक सुख र बाैद्धिक विकास प्राप्त गर्न सक्छ। योग र ध्यानबाट मात्र उल्लेखित कुरा प्राप्त गर्न हामी सक्षम हुन्छौं।
(दिपेश पौडेल काेहलपुर, बाँकेमा कक्षा ११ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)