सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कुनै शब्द सोध्दा आएन भने बाबाले मलाई 'अनु गुगल गरेर हेर त' भन्नुहुन्थ्यो। मलाई पनि आफूलाई नआएका शब्दहरू स्कुलले किन्न लगाएको अक्सफोर्ड डिक्सनरी हेर्नुभन्दा गुगल गरेर हेर्न सजिलो लाग्छ।
गुगलमा एउटा शब्द खोज्यो भने त्यो शब्दको अर्थ चित्र, भिडियो सबै हेरेर म त्यो शब्दको अर्थ राम्रोसँग बुझ्न सक्छु। गुगलमा शब्दहरू खोज्दै जाँदा कहिलेकाहीँ म आफ्नो नाम पनि टाइप गरेर हेर्थेँ। तर मेरो नाम गुगलले कहिले पनि देखाउँदैनथ्यो।
अनि म बाबालाई सोधेँ, 'गुगलले मेरो नाम किन कहिले पनि देखाउँदैन?'
बाबाले भन्नु भयो, 'गुगलमा नाम आउन त तिमीलाई गुगलले चिन्ने गरी तिमीले राम्रो काम गर्नु पर्यो नि त।'
मैले बाबालाई सोधेँ, 'मैले के काम गर्दा गुगलले मलाई चिन्छ त बाबा?'
बाबाले भन्नुभयो, 'अनु, तिमी ठूलो भएपछि राइटर (लेखक) बन्ने भनेको हैन? त्यसो भए तिमी लेख, त्यसलाई छपाऊ। अनि तिम्रो लेख राम्रो पत्रपत्रिका, अनलाइनमा छापियो भने तिमीलाई पनि गुगलले चिन्छ।'
बाबाले भने जसरी नै मैले एउटा लेख लेखेर तयार गरेँ। त्यो लेख सेतोपाटी अनलाइन पत्रिकामा छापियो। लेख छापिएलगत्तै मैले बाबाले भनेझैं मलाई गुगलले साँच्चै चिन्यो कि चिनेन भनेर हेरेँ। आफ्नो नाम टाइप गरेँ।
त्यहाँ मैले फोटोसहितको मेरो नाम देखेँ। मलाई एकदमै खुसी लाग्यो।
मैले बाबालाई दंग पर्दै भनेँ, 'बाबा मलाई त गुगलले साच्चिँकै चिनेछ नि।'
बाबाले मलाई स्याब्बासी दिँदै भन्नुभयाे, 'सधैं यसरी नै राम्रा-राम्रा काम गर्दै जानू। सारा संसारले तिमीलाई चिन्ने छ, अनु।'
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)