सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
२०७६ वैशाखको कुरा हो।
म कक्षा ६ मा अध्ययन गर्न सैनिक आवासीय महाविद्यालयमा भर्ना भएको थिएँ। स्कुलको नियमअनुसार त्यहाँ पढ्ने विद्यार्थी होस्टलमा नै बस्नुपर्ने भएकाले वैशाखको ११ गते आफ्ना सबै सामान लिएर होस्टलमा आएँ।
मलाई होस्टलसम्म छोड्न मेरो काका-काकी आउनुभएको थियो। त्यहाँको वातावरण मलाई एक-दुई दिन त धेरै रमाइलो लाग्यो पछि-पछि परिवार त्यसमा पनि आमाको याद आउन थाल्यो। म कहिलेकाहीँ बेस्सरी रून्थेँ पनि। मेरा साथीहरूले भनेअनुरूप राती निद्रामा म 'ममी...ममी...' भनेर बर्बराउथेँ रे। यसरी यादैयादमा मेरा दुई महिना पनि बिते।
हामीलाई त्यहाँ बिहानै ५ बजे नै उठ्नुपर्थ्यो। बिहानका नित्यकर्म गर्न हामीसँग मात्र १५ मिनेट बाँकी हुन्थ्यो। ५:१५ देखि ६:५० सम्म दिनहुँ परेड र पि.टी. खेलाइन्थ्यो। त्यसपछि स्कुलको पोसाक लगाएर खाना खानको लागि मेसमा पंक्तिबद्ध हुन्थ्यौं। खाना खाएपछि अध्ययनका लागि कक्षातिर जान्थ्यौं।
लगभग ९ बजेसम्म हामी कक्षामा पढ्थ्यौं। त्यही समयमा अन्य विद्यार्थी पनि आउने क्रममा हुन्थे। हामी भने ९:३० सम्म टि.टी. खेल्थ्यौं। ठीक १० बजे घन्टी बजेसँगै हाम्रो बिहानी प्रार्थना सुरू हुन्थ्यो। त्यसपछि नियमित कक्षा सुरू हुन्थे। हामीले कक्षा ६ मा बाह्रवटा विषय पढ्नु पर्थ्यो। दिनमा आठ घन्टी पढाइ हुने गर्थ्यो।
मेरो ‘सी’ सेक्सनमा हामी ४० जना विद्यार्थीहरू थियौं। तीमध्ये २८ जना छात्र थियौं भने १२ जना छात्रा। ती २८ जना छात्रमध्ये पुकार, सुबोध, युकेश, सुशान्त, रजत, सक्षम, सृजल र सुदर्शन लगायतका मेरा मिल्ने साथी थिए। ११:१० मा छात्रहरू खाना खाँदा छात्राहरू भने खेल्थे अनि १:३० मा छात्रहरूले खाना खाँदा छात्रा पनि खेल्थे।
स्कुलमा पढाइका साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद, नृत्य, गायन लगायत कार्यक्रमहरू पनि हुन्थे। म र मेरा साथीहरू खाजा सत्रमा टि.टी. नै खेल्थ्यौं। चार बजे स्कुल सकिएपछि हामी फेरि बेलुकाको खाजा खान्थ्यौं र ठूलो चौरमा खेल्न जान्थ्यौं। हामी त्यहाँ कहिले फुटबल त कहिले क्रिकेट खेल्थ्यौं।
कुनै दिन यसरी नै खेल्दै गर्दा मेरो खुट्टा नराम्रोसँग मर्किएको थियो। अत्यधिक पीडाका कारण त्यो रात मलाई सुत्न निकै गाह्रो भयो। मैले त्यति बेला परिवारको एकदमै याद गरिरहेको थिएँ। परिवार भएको भए यस्तो बेलामा मेरा बलिया साहारा हुन्थे भन्ने लाग्थ्यो।
महिनाका चार शनिबारमा दुइटामा घर जान पाइने भएकाले कहिले शनिबार आउला भनी हामी सबै साथीहरू पर्खाइमा हुन्थ्यौं। 'आउटिङ' शुक्रबार बेलुकी हुन्थ्यो भने आइतबार बिहान स्कुलमा आइसक्नुपर्थ्यो। घरमा बसेर स्कुल फर्कदा साह्रै नियास्रो लाग्थ्यो। शनिबार स्कुलमा नै रहँदा बिहानको खाजा खाएपछि तीन घन्टा खेल खेल्थ्यो।
शनिबार अन्य दिनजस्तो तोकिएको समयजस्तो पढ्नु पर्दैनथ्याे। खाँदा, खेल्दा र टिभी हेर्दा नै दिन बित्थ्यो। शनिबार होस्टल बसेको दिन बहिनी, बाबा र आमा भेट्न आउनुहुन्थ्यो। मलाई मिठा-मिठा खाने कुरा पनि ल्याइदिनुहुन्थ्यो। आमाकाे आँखा रसाइरहेको अवस्था हुन्थ्यो। त्यो अवस्था देखेपछि म पनि आँसु थाम्न सक्दिनथेँ। मलाई छोडेर नगइदिए जस्तो हुन्थ्यो।
होस्टल बस्दाका फाइदाहरू पनि छन्। आफ्ना पोसाक आफैंले लगाउने, जुत्ता पालिस गर्ने, मोजा रूमाल आफैंले धुने जस्ता व्यावहारिक कामहरू गर्नुपर्थ्यो। जसले हामीलाई आत्मनिर्भर हुने बानीको विकास गरायो। त्यस्तै, त्यहाँ सबै क्रियाकलाप जस्तै पढ्ने, खाने, खेल्ने, सुत्ने, उठ्ने रूटिनअनुसार नै गर्नुपर्थ्यो जसले गर्दा विद्यार्थीहरूमा अनुशासनको विकासका साथै समयको महत्त्वको पनि ज्ञात गराउँथ्यो।
जतिसुकै कुरा गरे पनि आफ्नो घरपरिवारसँग दु:ख-सुखमा छुट्टिनुपर्ने, धेरैजना भएर होला खाना पनि साह्रै नमिठो हुने जस्ता कुराले होस्टेलका दिन दु:खदायी नै हुन भन्न पनि मन लाग्छ। त्यहाँ रहँदा खाना कै कारणले मेरा पेट सधैैजसो बिग्रिरहन्थ्यो। वास्तवमा आफ्नो घरपरिवारबाट छुट्टिँदाको पीडा होस्टल बसेपछि मात्र थाहा हुने रहेछ।
स्वास्थ्यमा बारम्बार आएको समस्याले गर्दा म होस्टलमा एक वर्ष मात्र बसेँ। यसरी एक वर्ष होस्टल बस्दा जतिसुकै कुरा गरे पनि घर-परिवारजस्तो असल ठाउँ कुनै पनि नहुने रहेछ भन्ने कुराको अनुभव मैले लिएको छु।
अहिले २०७७ देखि म चाबहिल, सिफलस्थित डियरवाक स्कुलमा अध्ययनरत छु। म एकपटक पनि स्कुल जान त पाएको छैन। मेरा अनलाइन कक्षाहरू निरन्तर रूपमा चलिरहेका छन्। पहिलाको स्कुलभन्दा हालको स्कुलको पढाउने र काम गर्ने तौरतरिका मलाई निकै भिन्न लागेको छ। यहाँ त्यति धेरै किताबका भारी पनि छैनन्।
शिक्षकले पाठ्यपुस्तकसँग सम्बन्धित रहेर थुप्रै भिडियोहरू पनि बनाएका रहेछन्। ती भिडियोलाई फ्लिप्ड क्लासरूम भन्दा रहेछन्। यी भिडियोहरू https://dlc.dwit.edu.np/ मा निकै व्यवस्थित गरेर खारिएको छ। यी भिडियो सबैका लागि पनि रहेछ। अहिलेको परिस्थितिमा सबैले पढुन्, केही सिकुन भनेर मैले यो लिङ्क पनि राखिदिएको हाे।
स्कुलमा प्रत्येक महिना अङ्ग्रेजी र नेपालीको एउटा-एउटा किताब (कथा सङ्ग्रह र उपन्यास) पढ्नै पर्ने रहेछ। त्यो पनि विशेष रूटिनमा नै समावेश गरेर। प्रत्येक महिना नयाँ-नयाँ किताब पढ्न पाउँदा रमाइलो पनि हुँदो रहेछ। त्यति मात्र नभएर यहाँ कक्षा एकदेखि कक्षा आठसम्म संस्कृत पनि पढाइ हुँदो रहेछ।
मेरा लागि संस्कृत पूर्णरूपमा नयाँ विषय रहेकोले निकै नै कठिन पनि भएको छ। संस्कृतमा नै श्रीमद्भागवत गीता, चाणक्य नीति र आयुर्वेद पनि पढाइ हुँदो रहेछ। साथीहरूले श्रीमद्भागवत गीता र चाणक्य नीतिका श्लोकहरू फररर वाचन गरेको देख्दा मैले निकै कुरा गुमाएको अनुभव गरेको छु। त्यति मात्र नभएर ती वाचन गरिएका श्लोकहरूको भिडियो पनि बनाइदो रहेछ।
संस्कृत, नेपाली र अङ्ग्रेजी भाषामा विद्यार्थीहरूले समाचार वाचन पनि गर्दा रहेछन्। समाचार वाचन गरिएका भिडियोहरू हेर्दा मलाई पनि वाचन गर्न अति नै मन लागेर आउँछ तर त्यहाँसम्म पुग्न मैले कडा परिश्रम गर्नुपर्ने छ। गणित पढाउने शिक्षकले समेत लेख रचना लेख्न अभिप्रेरित गरेको देख्दा मलाई अचम्म मात्र होइन, लेखनको अभ्यास गर्न कति जरूरी छ भन्ने कुराको अनुभूति हुन्छ।
विद्यार्थीले लेखेका लेख-रचना प्रतिदिन स्कुलकै वेबसाइटको स्टुडेन्ट कर्नरमा प्रकाशित पनि हुन्छन्। सेतापाटीमा नै प्रकाशित नाइटिङ्गेल स्कुलमा अध्ययन साथी मीमांसक नेपालले संस्कृत पढ्न थालेको कुराले पनि म निकै उत्साहित भएको छु। किनकि मैले पढ्ने स्कुलमा त संस्कृत पढाइ नै हुन्छ।
स्कुलको क्यालेन्डर हेर्दा कोरोना महामारीका कारण अरू थुप्रै नयाँ कुरा गर्न र सिक्न छुटेको अनुभव भइरहेकाे छ।
(सक्षम कर्ण डियरवाक, सिफल स्कुलमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)