सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
चीनको वुहान सहरबाट सुरू भएको कोभिड १९ महामारीले अहिले विश्व आतंकित छ। विश्वमा झैं नेपालमा पनि संक्रमित संख्या बढ्ने, मृत्यु हुने र निकाे हुने क्रम बढिरहेकाे छ।
नेपालमा महामारी फैलिएको ६ महिना भन्दा बढी भइसकेको छ। आज म यो लेख्दै गर्दा काठमाडौंमा निषेधाज्ञा भएर सुनसान छ। हामीले सोचेभन्दा धेरै कोभिड १९ ले गर्दा संसारभर विभिन्न खाले असर गरेको छ। नेपालमा पनि असर परेको छ।
हामी नेपालीलाई कोरोनाले गर्दा परेको असरमा- अन्तर्राष्ट्रिय विमानहरु चलिरहेका छैनन्। कामका लागि विदेश गएका नेपालीहरू उतै अलपत्र परेका छन्। उनीहरू नेपाल फर्कन सकेका छैनन्।
बालबालिका तथा बृद्ध-बृद्धाहरूलाई कोरोना भाइरसले छिटो संक्रमण गर्ने भएकाले उनीहरू लामो समयदेखि घरभित्रै बस्न बाध्य छन्। त्यसैगरी, क्यान्सर, मधुमेह, उच्च रक्तचाप जस्तो दीर्घ रोग भएका विरामीहरू समेत कोरोनाका कारण अरू बेलाको जस्तो अस्पताल जान सकिरहेका छैनन्। उनीहरूको स्वास्थ्यमा नराम्रो असर परेको छ।
कोभिड १९ का कारण कलेज तथा विद्यालयहरू लामो समयदेखि बन्द छन्। लाखौं विद्यार्थीहरूको पढाईमा नकरात्मक असर परेको छ। हामी जस्ता विद्यालयमा पढ्ने विद्यार्थीहरू ठूलो मारमा परेका छौं। केही-केही विद्यालयले यस अवस्थामा समेत अनलाइन कक्षा मार्फत पढाइरहेका छन्। धेरैजसो विद्यार्थीहरूको अनलाइन कक्षा समेत सञ्चालन नभएर घरमै बस्नु पर्ने बाध्यता छ।
सहरका केही विद्यार्थीहरू जसको घरमा इन्टरनेटको सुबिधा छ, उनीहरूलाई मात्र अनलाइन कक्षाबाट केही फाइदा पुगेको छ। गाउँका विद्यार्थीहरू जसको घरमा इन्टरनेट सुबिधा छैन, उनीहरूको लागि यो वर्षको पढाई नै खेर जान सक्छ। उनीहरूको अवस्था सम्झँदा मलाई झनै दुःख लागेर आउँछ।
त्यसैगरी, नेपालीका चाडवाडहरू अब क्रमश: आउदै छन्। नेपालीका चाडवाड मनाउने छुट्टै तरिका छ। हरितालिका तीज, ऋषि पञ्चमी जस्ता चाडमा आमा, दिदी, बहिनीहरू विभिन्न ठाउँमा भेला भएर नाच्दै, गाउँदै मनाउनु हुन्थ्यो। कोभिडका कारण यसपालि आफ्नै घरमा बसेर मनाउनु पर्ने बाध्यता भयो। त्यस्तै हो भने आउने दसैं, तिहार जस्ता महान चाडहरू समेतमा यसले असर गर्नेछ।
यो वर्ष भिजिट नेपाल २०२० मा धेरै भन्दा धेरै विदेशी पाहुनाहरू भित्र्याएर मनाउने भनि नेपाल सरकारले घोषणा गरेको थियो। तर कोभिडका कारण त्यो सम्भव भएन। यसले आगामी एक-दुई वर्ष समेत पर्यटन क्षेत्रमा असर गर्नेछ।
दैनिक कामकाज गरी जीवन चलाउने श्रमिक मजदुरहरूलाई पनि ठूलो असर गरी खान-लाउन समेत नपाउने अवस्था भएको छ। विभिन्न कारणले उद्योग, कलकारखाना, निर्माण, यातायात, व्यापार, व्यवसाय जस्ता सबै क्षेत्रलाई विभिन्न तरिकाले असर गरी आर्थिक गातिविधि शून्य जस्तो छ। जसले गर्दा विगत ६ महिनादेखि हाम्रो देश ठप्प जस्तै छ।
इतिहासमा हेर्दा कोभिडको महामारी भन्दा पहिले पनि यस्तै खाले महामारीमा धेरै मानिसको मृत्यु भएको पाइन्छ। कोभिडभन्दा पहिले सन् १९१८ देखि सन् १९२० सम्म स्पानिश फ्लूको महामारीले करिब २ करोड मानिसको ज्यान लिइएको थियो। त्यतिबेला मानिसहरूसँग अहिलेको जस्तो स्रोत साधन नभए पनि त्यो महामारीलाई जित्न सफल भएका थिए। हामीले जे जस्ता अवस्था भोग्नु परेता पनि केही समयपछि अवश्य पनि कोरोनालाई जित्न सफल हुनेछौं।
यसरी विभिन्न तरिकाबाट मानिसलाई कोरोनाले असर परेको भए पनि अहिलेको बेलामा धैर्यका साथ सबैले सकारात्मक विचार राखी अगाडि बढ्न आवश्यक छ।
(सुबिन अधिकारी, अक्षरा स्कुल, काँडाघारी, काठमाडौँमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)