सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
सन् २०१९ को नेभेम्बरबाट छिमेकी मुलुक चीनको हुवान सहरमा कोरोना भाइरसको संक्रमण फैलिएको थियो। यस भाइरसले विश्वका २२० भन्दा बढी मुलुकहरुमा ठूलो क्षति पुर्याइसकेको छ।
नेपालमा पनि कोरोना भाइरसका कारणले ४५ हजार भन्दा धेरै जना संक्रमित भइसकेका छन भने २८० जनाले ज्यान गुमाइसकेका छन्। सरकारले गत चैत ११ गतेबाट पूर्ण रुपमा लकडाउन गरेको थियो। अर्थतन्त्र पनि चलाउनु पर्ने भएकाले परिस्थितिलाई मध्यनजर गर्दै गत साउनबाट लकडाउनको अन्त्य गरिएको थियो।
मुलुकमा लकडाउन अन्त्य गरे पनि संक्रमणको दर अत्यधिक बढ्न थाले पछि पुनः निशेधाज्ञा घोषणा भएको छ।
कुनै पनि प्राकृतिक विपत्तिको पूर्व योजना तथा तयारी नहुनुले नेपालमा त्यसको प्रत्यक्ष असर परेको छ। कोरोना भाइरस परीक्षणका लागि टेकुमा रहेको प्रयोगशालाले परिक्षणको दायरालाई फराकिलो बनाउन कठिन भएपछि सरकारले दर्जनौं ठाउँमा कोरोना परीक्षण गर्ने प्रयोगशाला निर्माण गरेको छ।
आन्तरिक तथा बाह्य उडान बन्द भए पनि छिमेकी मुलुक भारतसँग नेपालको सिमाना खुला भएकाले मानिसको आवागमन नियन्त्रण गर्न ध्यान पुगेको छैन। नेपालका दुरदराजमा पनि भाइरस फैलिँदै छ।
स्थानीय सरकारले आइसोलेसन र क्वारेन्टाइन व्यवस्थामा ध्यान दिए पनि पर्याप्त भएको देखिँदैन। केही ठाउँमा बनाइएका क्वरेन्टाइनहरू मानिस बस्न अस्वस्थकर रहेका र त्यहाँबाट झनै संक्रमण फैलिएको भन्ने समाचार पनि आइरहेका छन्।
त्यति मात्रै नभएर त्यस्ता क्वारेन्टाइनमा रहेका बालबालिका तथा महिलामा हिंसा बढेको घटना पनि सार्वजनिक भएका छन्।
नागरिकको सुरक्षा, राहत र उद्धारमा सरकारले विशेष ध्यान पुर्याउनु पर्ने समयमा सरकार पार्टी विवादमा अल्झेकाले झनै समस्या बढाएको छ। औषधि खरिदमा भएको लापरबाही, गैरजिम्मेवारीपन जस्ता कुराले जनतामा निराशा छाएको छ।
कोरोना संक्रमित बढिरहेका छन्। पूर्ण लकडाउन गर्नुपर्ने बेलामा लकडाउन हटाउनु र पिसिआर परीक्षण दायरा बढाउन नसक्नुले जोखिम झनै बढिरहेको छ। सरकारले धेरैभन्दा धेरै परीक्षण गराएर नागरिकलाई सुरक्षित बनाउनु पर्छ। यसका लागि केन्द्रीय सरकारले सबै प्रदेश तथा स्थानीय सरकारलाई आवश्यक प्रबन्धसहित निर्देशन दिनु पर्छ। सरकारले निजी अस्पताललाई पनि संकटका बेलामा अधिकतम प्रयोग गरेर नागरिकलाई सहजता प्रदान गर्न सक्नु पर्छ।
अन्योलमा शिक्षा क्षेत्र
भाइरसका कारण शिक्षा क्षेत्रमा गम्भीर असर परेको छ। विद्यालयहरू बन्द छन। विद्यार्थीको पढाइ तथा परीक्षाहरू अन्यौलमा परेका छन्। स्कुल बन्द भएको लामो समय भएपछि विद्यार्थीमा पढ्ने बानी पनि कम हुँदै गएको छ। स्कुलको वार्षिक क्यालेण्डर पनि तितरवितर भएको छ। विद्यालयमा पठन पाठन कहिलेबाट सहज हुन्छ भन्ने कुरा अनिश्चित छ।
भदौ १ गतेबाट स्कुलमा भर्ना प्रक्रिया अगाडि बढाउने सरकारको निर्णय पुनः बदलिएको छ। मुलुकमा कोरोना संक्रमण बढ्न थालेसँगै सरकारले अनिश्चितकालका लागि विद्यालय बन्द घोषणा गरेको छ।
अनलाइन कक्षाः
कोरोनाका कारण विद्यालयहरू बन्द भएपछि निजी विद्यालयहरूले अनलाइन कक्षाबाट शिक्षा प्रदान गरिरहेका छन्। अनलाइन कक्षालाई सरकारले पनि समर्थन गरेको छ। यद्यपि अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच नहुनाले एकदमै थोरै विद्यार्थी संख्या मात्र उपस्थित छन्। बाँकी छुट्न गएका विद्यार्थीको पढाई बर्बाद भएको छ।
अनलाइन कक्षालाई चाहिने इन्टरनेट लगायत सामग्री जोहो गर्न अभिभावकलाई कठिन भएको गुनासो पाइन्छ। कतिपय विद्यार्थी लकडाउन भएपछि आफ्नो घर फर्किएकाले पनि यो शिक्षाबाट बञ्चित छन्। उल्लेख्य संख्यामा भरिभराउ कक्षामा पढ्ने र पढाउने कार्य अहिले ४-५ जना विद्यार्थीको उपस्थितिमा सीमित छ।
तै पनि केही निजी विद्यालयका शिक्षकले नियमित कक्षा लिइरहनुभएको पाइन्छ। नियमित अनलाइन कक्षा पढाए पनि पाउनु पर्ने पारिश्रमिक समयमा नै नपाएर निजी विद्यालयमा कार्यरत शिक्षकहरु आन्दोलित हुनुपरेको यथार्थ दुखद हो। सरकारी विद्यालयमा कार्यरत शिक्षकले घरै बसेर पनि पारिश्रमिक पाइरहने अर्थात कुनै कक्षा लिन बाध्यकारी नहुने यस्तो विभेदकारी प्रणाली आफैंमा ठीक होइन।
यो विश्वव्यापी संकटको बेला हो। अभिभावकले पनि आफ्ना नानीबाबुलाई यो बेलामा सकेसम्मको ख्याल गर्नुपर्छ। संकट अझै बढ्ने निश्चित छ।
विकसित मुलुकहरू पनि यो संकटको सामना गरिरहेका छन। हामी सबैले यस्तो महामारीबेला आफू बच्ने र अरुलाई पनि बचाउने समय हो। भनिन्छ, सेवा नै धर्म हो। सकेसम्मको सहयोग अरुलाई प्रदान गरेर संकटको घडीमा सामूहिक सामना गर्न सिक्नु पर्छ।
यस्तो बेलामा धेरै सत्य, तथ्यपरक समाचारहरू सुन्ने, अनावश्यक घरबाहिर ननिस्कने, निस्कनु परे पनि विश्व स्वास्थ्य संगठनले भनेका कुराहरु अक्षरस पालना गर्नुपर्छ। यो सचेत भएर बस्ने समय हो।
(राजकुमार खत्री नागार्जुना एकेडेमी, कुपन्डोलमा कक्षा ९ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)