सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
कविताः
बारीको डिलमा चुपचाप ठिंग उभिएको बुढो रुख झैं
बा कहिल्यै उभिएनन्
भन्ज्याङको चौतारी झैं
ढसमस्स बसेनन्
बा त,
मैन झैं जलिरहे
हाम्रा खुसी समेट्न मोनो रेल झैं चलिरहे
जिन्दगीभर कुदिरहे कुदिरहे
थाकेर सुइयय नगरी
सधैं एक्लै कुदिरहे
त्यसैले त अग्लिदैछ एक्लो पनको हिमाल
बाको मन भित्र।
यति खेर
लम्पसार छ निरस जिन्दगी
बाकै अघिल्तिर थिचिएर त्रासले सधैं
घुरिरहन्छ घ्वाँर घ्वाँर
कुम्भकर्णको निद्रामा
बाको अन्योल जिन्दगी
तर बा,
कर्कलाको पातमा टलपल पानी झैं
आँसु टिलपिलाएका आँखामा
निद्रा हराएपछि
खुसीका शिला खोज्दैछन्
परेलीका डिलहरूमा।
फुंग रङ उडेका
उदासीका फूलहरू
फुलेका छन् बाका मुहारभरी
चाउरिएर ग्राफ जस्ता गालाका रेखाहरूमा
कतै एक धर्को सन्तोष छैन
कपाल झरेर खुइलेको बाको तालुमा
जिम्मेवारीको चर्को घामले
उदाएदेखि अस्ताउँदासम्म
ठुंगिरहन्छ।
भित्र मनमा कता कता
बिगत र आगतको
उही चिन्ताको पहाड उभिएको छ
र बा त्यही पहाडमा उभिएर
संसार जितेको नाटक गर्छन्
अनि बाँड्छन् हामीलाई
पैंचो मागेका उधारो खुसीहरू
तर यथार्थमा,
बा हारिरहन्छन् हरपल
मेरो लागि
तिम्रो लागि
हाम्रो लागि
हो बा त्यो हरूवा हो,
जो सधैं हारिरहन्छन्
केवल सन्तानका लागि।
(सन्जोग दाहाल, श्री बुद्ध आदर्श माध्यमिक विद्यालय, झापामा कक्षा १० मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)