सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
लोकतन्त्र भनेको जनताको शासन हो। लोकतन्त्रलाई पहिले नेपालमा प्रजातन्त्र भनिन्थ्यो रे। लोकतन्त्रमा जनताले आफ्ना प्रतिनिधि छान्छन्। नेपालमा बेला बेलामा चुनावको कुरा भएको हामीले थाहा पाएका छौं।
नेपालमा संसदको चुनाव हुँदा म पनि चुनाव भएको ठाउँ हेर्न गएको थिएँ। मेरा बाबाआमा र आफन्तले भोट खसालेपछि हामी एकछिन घुमेर घर फर्केका थियौं। हाम्रो विद्यालयमा बिदा भएको थियो।
चुनावमा जसले सबभन्दा बढी भोट ल्याउँछ उसैले जित्छ। यो सामान्य नियम हो।
ईसापूर्व ७०० वर्ष पहिले संसारका धेरै ठाउँमा राजतन्त्र थियो। राजतन्त्रमा राजाको छोरा वा छोरी मात्र राजा वा रानी हुन्थे। वंशबाट राजा वा रानी हुने चलनले केही खराब राजा र रानीलाई जन्म दियो। जस्तै स्कटिस रानी मेरी क्वीन, एडवर्ड दोस्रो आदि।
मानिसहरूले राजतन्त्रमा खराबी देखे। त्यसैले ग्रीसका मानिसहरूले लोकतन्त्र भनिने प्रणाली चलनमा ल्याए। लोकतन्त्र भन्ने शब्दलाई अङ्ग्रेजीमा डेमोक्रेसी भनिन्छ। यो दुई ग्रीक शब्दहरूबाट आएको हो: 'डेमो' जसको अर्थ हुन्छ एक क्षेत्रभित्र बस्ने नागरिक र 'क्राटोस' जसको अर्थ हुन्छ शक्ति वा नियम।
प्रसिद्ध अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले लोकतन्त्रलाई 'जनताका लागि जनताले नै शासन गर्ने व्यवस्था' भनेका थिए। यसको अर्थ हो- जनताले आफ्नो मनपर्ने नेतालाई चुनावमा भोट हाल्छ र जसले जित्छ उसले जनताको लागि काम गर्छ।
लोकतन्त्रमा सबै कुरा राम्रा मात्र हुँदैनन्। यसका नराम्रा कुराहरू पनि छन्। लोकतन्त्रमा धेरै पार्टी र नेता हुन्छन्। त्यहाँ भ्रष्टाचारको धेरै सम्भावना पनि हुन्छ। आफ्नो र अर्काको पार्टीको मान्छेमा विभेद भइरहेको हुन्छ। जनताको चित्त बुझाउनुपर्ने भएकोले सरकारको काम ढिलो हुन्छ। विकासका काममा पनि धेरै अप्ठ्यारा हुन्छन्।
चुनावमा हारेकाहरू असन्तुष्ट हुन्छन्। नेताहरूले कामभन्दा धेरै कुरा गर्छन्। विचारमा धेरै मतभेद भइरहेको हुन्छ। अनि चुनावमा धेरै पैसा खर्च हुन्छ।
लोकतन्त्र तानाशाही प्रणाली भन्दा ठीक उल्टो हुन्छ। लोकतन्त्रमा हामी सबैको स्वतन्त्रता कायम हुन्छ। लोकतन्त्रमा मानिसहरूले व्यक्तिगत फाइदाको लागि कडा परिश्रम गर्छन्। यसको कारण हो व्यक्तिगत सम्पत्तिको अधिकार। व्यक्तिगत स्वतन्त्रता हुनाले लोकतन्त्र राम्रो व्यवस्था मानिएको हो। यस प्रणालीले भेदभाव भएका र सिमान्तकृत मानिसहरूलाई पनि अवसर दिन्छ। उनीहरूले चुनावमा भाग लिन र सरकारमा जान पाउने व्यवस्था गरिएको हुन्छ।
लोकतन्त्रमा बालबालिकाको अधिकारको रक्षा हुन्छ। बालबालिकालाई आय आर्जनका लागि काममा लगाउन पाइँदैन। अनि बालश्रम शोषण गर्न पनि नपाइने व्यवस्था हुन्छ। बालबालिकाको स्वास्थ्य, शिक्षा र पौष्टिक खानाको अधिकार हुन्छ।
बालबालिकालाई पिट्न र यातना दिन नपाइने व्यवस्था हुन्छ। बालबालिकालाई उनीहरूको बौद्धिक विकासको अधिकार हुन्छ। त्यसैले हामी बालबालिकाले पनि आफ्नो अधिकारका बारेमा सचेत हुनुपर्छ। हाम्रा अधिकार हनन् भएका छन् भने सम्बन्धित ठाउँमा उजुरी गर्नुपर्छ।
बालबालिकालाई देश र समाजमामात्र होइन घरमा पनि लोकतन्त्र चाहिन्छ। हामी आफ्नै घरमा पनि लोकतन्त्र छ कि छैन अनुभव गर्न सक्छौं। यदि बाबा आमाको व्यवहार लोकतान्त्रिक छ भने हामीलाई हाम्रा बारेमा निर्णय गर्दा सोधिन्छ। कुन विद्यालय पढ्ने, होस्टल बस्ने कि नबस्ने, हामीलाई मनपर्ने लुगा किनिदिने, हामीलाई मनपर्ने खाना खुवाउने, हामीलाई आवश्यक सामाग्री किनिदिने आदि।
मलाई मेरो परिवारमा पूर्ण लोकतान्त्रिक वातावरण रहेको महसुस भएको छ। बाबाआमाले मेरो बारेमा कुनै निर्णय गर्नु अघि मलाई सोध्ने गर्नुहुन्छ। मैले कुरा बुझिन भने मलाई सम्झाउनु हुन्छ। पिट्ने र जबरजस्ती निर्णय लाद्ने काम कहिल्यै गर्नुहुन्न। तर हामीले अधिकार प्रयोग गर्ने नाममा मनपरी भने गर्नु हुँदैन।
बालबालिकाको वृद्धि र विकासको लागि लोकतन्त्र चाहिन्छ। हामीले पढ्ने विद्यालय जबरजस्ती बन्द गराउन पाइँदैन। सबै बालबालिकाले आधारभूत शिक्षा पाउनुपर्छ। आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सरकारले हेर्नुपर्छ। राम्रो शिक्षा, स्वास्थ्य, खानपान र व्यवहार पाएमामात्र बालबालिकाको शारीरिक तथा मानसिक विकास हुन्छ।
कुनै बालबालिकालाई अवसरबाट वञ्चित गर्न पाइँदैन। सबै ठूला, असल र चर्चित मानिसहरूले बाल्यकालमा अवसर पाएका वा प्रेरणा लिएका हुन्छन्। कसैले सकारात्मक र कसैले नकारात्मक कुराबाट प्रेरणा लिएका हुन्छन्। नकारात्मक कुराबाट सकारात्मक बाटोमा हिँड्ने प्रेरणा लिनसक्ने निकै कम हुन्छन्।
आजका सामान्य बालबालिकाले भोलि समाज, देश र विश्व बदल्न सक्ने क्षमता राख्छन्। के थाहा हामीमध्ये कोही भोलि हाम्रो देशको भविष्य बदल्न सक्ने बन्छौ कि? त्यसैले बालबालिकाको लोकतान्त्रिक अधिकारको संरक्षण गरौं। उनीहरूलाई अवसरबाट कहिल्यै वञ्चित नगरौं।
(अपिल पौडेल बंगलादेश, ढाकामा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)