सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
मेरो मात्र नभएर सबै स्कुलहरू चैत ११ देखि बन्द भए। सुरू सुरूमा निकै रमाइलो पनि भयो। पढ्न, लेख्न र सरमिसहरूको सबै राम्रा-नराम्रा कुराहरू सुन्न परेन। खुबै मजा भयो। टिभी, मोबाइल सकेसम्म हेरेँ। यस्तैमा मलाई मामा घर जान खुब मनलाग्यो तर सबै ठाउँ बन्द भएकाले मेरो मामा घर जाने सपना मात्रै भयो।
बाबाआमासँग बस्न पाउँदा खुसी नै भयो। तर मलाई धेरै खेल्न र साथीहरूसँग बोल्न पर्ने भएकाले के गरौं, कसो गरौं भइरह्यो। बाबाआमा पनि घरमा नै भएकाले यो समयमा मैले धेरै कुरा सिक्न पाएँ।
हातहरू बीस सेकेन्डसम्म साबुनपानीले मिची-मिची धुनु पर्छ। बाहिर गएर आएपछि हातखुट्टा धुनुपर्छ। बिहान उठ्नेबित्तिकै नुहाउनु पर्छ। दिनमा दुई पटक बिहान खान खाएपछि र बेलुकाको खाना खाएपछि दाँत माझ्नु पर्छ। दिन बिराएर गर्ने मैले यो कार्य आज भोलि नियमित गर्न थालेको छु।
मामा घर जान नपाए पनि मैले ममीको फेसबुक मेसेन्जरबाट फोन गर्न सिकेँ। आजभोलि दिनहुँ जसो मेसेन्जरबाट मामा, माइजू हजुर बाबा र हजुरआमालाई फोन गर्छु।
युट्युबबाट भिडियो (फिल्म) हेर्न जानेँ। अहिले मैले धेरै फिल्महरु यसै च्यानलबाट हेर्छु। मैले सबभन्दा पहिला हेरेको फिल्म भने 'पशुपति प्रसाद' हो। यसमा पशुपतिप्रसाद र भष्मे डनको रोल साह्रै मन पर्यो। अहिले मैले धेरै यस्ता फिल्म यसै च्यानलबाट हेरिसकेको छु।
मैले गुगल सर्च इन्जिन चलाउन मेरो बाबा, ममी र दिदीबाट सिकेँ। यस इन्जिनले मलाई मेरो गृहकार्य लगायत मेरा अरु कार्यहरू जस्तै अप्ठ्यारो शब्दको अर्थ खोज्ने लगायत धेरै काम गर्न सहयोग गर्छ।
मैले यी काम गर्दा धेरै कम्प्युटर स्क्रिनमा बस्नु पर्ने भएकाले यसलाई कम हेर्न ममी-बाबाले सुझाव दिनुभएको छ। साथीहरू, तपाईंहरूलाई पनि म यस्तै कामहरू र ममीबाबाले सुझाएका कुराहरू गर्न अनुरोध गर्छु।
(हिमेश थापा , लिटल फ्लावर स्कुल, नारायणगढमा कक्षा ४ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)