सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
कथाः
पेसाले सुमना एउटी कुशल नर्स थिइन्। पढाइमा पनि अब्बल उनी आफ्नो अध्ययनको सिलसिलामा समेत सबैको मिलनसार थिइन्। पढाइ सकेपछि उनी सरकारी नर्सको रूपमा छनौट भइन्। आफ्नो काममा इमान्दार सुमना बिरामीहरूको अत्यन्तै सुक्ष्म रूपमा हेरचाह गर्थिन्।
मिठो बोली र राम्रो व्यवहार गरेमा बिरामीको आधा रोग निको हुन्छ भन्ने सोच भएकी उनी आफ्नो क्षमता र योग्यताले भ्याएसम्म मरिहत्ते गरेरै बिरामीको हेरचाह गर्ने गर्थिन्। उनको यस्तो व्यवहार देखेर त्यहाँ भएका अन्य नर्सहरू पनि उनको कामको तारिफ गर्ने गर्थे। अस्पतालका सबै कर्मचारीहरू पनि नर्स हुनु त सुमना जस्तो भनी प्रशंसा गर्ने गर्थे।
आफ्नो कामलाई सबैले प्रशंसा गरेको सुनेर सुमनालाई थप ऊर्जा मिल्थ्यो र अझ मेहेनतका साथ काममा लाग्ने गर्थिन्। उनको कामप्रतिको लगनशिलता देखेर अस्पतालले उनलाई उत्कृष्ट कर्मचारी पुरस्कारसमेत प्रदान गरेको थियो र उनले प्राप्त गरिरहेको सेवा सुविधामा बढोत्तरीसमेत गरेको थियो।
सुमनाले काम गरेको पाँच वर्ष पूरा भयो। सुमनाको कामको उच्च कदर गर्दै अस्पतालले उनलाई उच्च शिक्षा अध्ययनका लागि सरकारले खर्च व्यहोर्ने गरी छनौट गर्याे। यो कुरा सुमनालाई सुनाउन अस्पताल व्यवस्थापनले उनलाई कार्यालयमा बोलायो र बधाई तथा शुभकामना दियो।
खुशीले गदगद सुमना हाँसीखुसी हुँदै घर फर्किन्। सार्वजनिक यातायातबाट आवतजावत गर्ने उनी यो खुसीको समाचार आफ्नो परिवारसँग रमाइलोसँग साटासाट गर्ने मनमनै योजना बनाइरहेकी थिइन्। तर दुर्भाग्य उनी चढेको बस अकस्मात विपरीत दिशाबाट आइरहेको मालवाहक ट्रकसँग जुध्न पुग्यो।
दुर्घटना भएको दुई दिनपछि उनी होसमा आउँदा उनी आफूले काम गर्ने अस्पतालको आकस्मिक कक्षमा थिइन्। उनकाे एउटा खुट्टा काटिएको अवस्थामा थियो। दुई दिनअघि भएको त्यो खुसी परिवारसँग बाड्न नपाउँदै उनी एउटा डरलाग्दो र कहालीलाग्दो अवस्थामा पुगिन्।
आफूलाई त्यस्तो हालतमा देखेर उनले आफ्नो मन समाल्न सकिनन् र पटक पटक रोइकराई गरिन् र गरी नै रहिन्। अपसाेच! जे नहुनु पर्ने थियो त्यही भयो।
घरपरिवारले उनलाई सम्झाइबुझाइ गर्न लाग्यो। रोइकराइ गरेर अब केही उपाय छैन, तिमीले आफ्नो आत्मबल बलियो बनाउनुपर्छ भनेर परिवारले उनलाई ढाडस दिन थाले। आफन्त तथा परिवारको सकारात्मक प्रेरणाले गर्दा बिस्तारै उनमा आत्मबल वृद्धि भयो।
उनले पत्रपत्रिका र सामाजिक सञ्जालहरूमा आफूजस्तै दुर्घटनामा परेर अपांगता भएकाहरू र जन्मदै अपांगता भएकाहरूको फरक क्षमतालाई राम्रोसँग हेर्न र अध्ययन पनि गर्न थालिन्। पारिवारिक उच्च मनोबल र सामाजिक सञ्जालमा रहेका फरक क्षमताका व्यक्तिहरूको कहानी देखेर सुमनामा नयाँ उत्साह पैदा भयो।
आफ्नो शरीरका कयौं अङ्गमध्ये एउटा अङ्ग गुमाउँदैमा जीवन अँध्यारो हुने रहेनछ भन्ने सोच उनमा पलायाे। आफूसँग बाँकी रहेका अन्य अरू अङ्ग र क्षमताले धेरै काम गर्न सकिन्छ भन्ने सोचको विकास भयो। त्यसैले उनी उच्च शिक्षाको लागि छनौट भएकीले त्यसलाई निरन्तरता दिने मनस्थितिमा पुगिन्।
त्यसका लागि उनले तीन पाङ्ग्रे स्कुटर सिकिन्, स्कुटर किनिदिने काम उनकाे अस्पतालले गर्याे। उच्च मनोबल भएकी सुमनाले छिटो नै स्कुटर पनि सिकिन् र नियमितरुपमा अध्ययनका लागि जान थालिन्। पहिले पनि मेहनती सुमनाले उच्च शिक्षामा प्रथम भएर उतीर्ण समेत गरिन्।
उनकाे यो सफलताको कहानी देश तथा विदेशका विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा भाइरल भयो। विदेशमा बस्ने विभिन्न व्यक्तिहरू उनकाे यो उच्च मनोबलको मुक्तकण्ठले प्रशंसा गर्न थाले। विभिन्न सङ्घसस्था तथा सामाजिक अभियन्ताहरूले सुमनाको सहयोगार्थ बैङ्क खाताहरू खोले, जहाँ देश तथा विदेशबाट थुप्रै सहयोग प्राप्त हुन थाल्यो।
सुमनाले उक्त सहयोग प्राप्त रकमबाट आफूले एउटा सामाजिक संस्था खोल्ने र त्यो सबै रकम आफूजस्तै दुर्घटना परी दुःख पाएकाहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले ‘सुमना सहयोग प्रतिष्ठान’ नामक संस्था दर्ता गरिन्। प्रतिष्ठानले अपांगता भई जीवनयापनमा कठिनाइ हुनेहरूका लागि सहयोग गर्ने लक्ष्य लिई कार्य गर्न थालिन्।
उनकाे यस्तो कार्यप्रति देश तथा विदेशबाट अझ प्रशंसा हुन थाल्यो र उक्त संस्थालाई नियमित सहयोग गर्ने प्रतिबद्धतासमेत प्रकट हुन थाल्यो। उनकाे यस्तो कार्यको प्रशंसा गरी नेपाल सरकारले समेत उनकाे प्रतिष्ठानलाई रु. ५० लाख सहयोग गर्ने निर्णय गर्याे। सुमना सोही प्रतिष्ठानको संरक्षक भएर काम गर्न थालिन्।
अपांगता भई दुःख पाएकाहरूका लागि सबैले उनलाई सम्झन थाले। जो कोहीले त्यस्तो व्यक्ति देखे वा भेटे सुमनालाई खबर गर्ने र सुमना पनि थाहा पाउने बित्तिकै त्यस्ता व्यक्तिलाई उद्धार र उपचार गर्न थालिन्। उनकाे यस्तो कामको देश विदेशमा चर्चा अझ बढ्दै गयो।
त्यसैले सुमना अन्तर्राष्ट्रिय उत्कृष्ट १० व्यक्तिको सूचीमा सूचिकृत भइन्। सुमनाले अब विभिन्न देश विदेशको भ्रमण गर्न थालिन्। ठूलाठूला व्यक्तिहरुसँग उनकाे उठबस र भेटघाट हुन थाल्यो। यही सिलसिलामा उनलाई अस्ट्रेलियाकाे एक प्रतिष्ठित सस्थाले उनकाे खुट्टालाई नक्कली खुट्टा जोडी निशुल्क उपचार गरिदिने निम्ता गर्याे। उनी त्यहाँ गएर आफ्नो खुट्टा फेरिन् र पहिलेको जस्तै भएर नेपाल फर्किन्।
देशमा फर्किएपछि पनि सुमनाले आफ्नो प्रतिष्ठानलाई अझ प्रभावकारीरुपमा अघि बढाइन्। उनले अपांगता भएका व्यक्तिलाई अपांग भन्न नपाइने कानुनी व्यवस्था गर्न भूमिका निर्वाह गरिन्। फलस्वरुप अहिले त्यस्ता व्यक्तिहरूलाई फरक क्षमता भएका व्यक्ति भन्न थालिएको छ।
उनले देशका सबै जिल्लामा प्रतिष्ठानको शाखा बिस्तार गरेर फरक क्षमता भएका व्यक्तिहरूको शिक्षादीक्षा र आम्दानी वृद्धिका लागि कार्यक्रम सञ्चालन गर्न थालिन्। यसले देशका सबै स्थानमा रहेका फरक क्षमता भएका व्यक्तिहरुको मनोबलमा वृद्धि हुन थाल्यो।
आज देशमा कसैले अपांगता भएर बाँच्नु परेको छैन, सबैले फरक क्षमता भएको व्यक्ति भएर बाँच्न पाएका छन्। सडकमा कोही पनि फरक क्षमता भएको व्यक्ति देख्नु परेको छैन। आज सुमना अन्तराष्ट्रियस्तरमै प्रेरणाकी श्रोत बनेकी छिन्।
(सुनवी पोखरेल डियरवाक, सिफल स्कुलमा कक्षा ८ मा अध्ययनरत छिन्)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)