सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
कथाः
मध्य पहाडमा एउटा सुन्दर गाँउ थियो। पवित्र तपोभूमि रेसुंगा काखमा रहेको उक्त गाउँको नाम सभ्यतापुरी थियो। नाम जस्तै गाउँका बासिन्दा असाध्यै सभ्य र शालीन थिए। सोही गाउँमा बस्थे विनम्र र उग्र।
विनम्र र उग्र आँठो जाडिएका छिमेकी थिए। विनम्र आफ्नो नाम जस्तै विनयशील थियो। विनम्रको विनयशीलता गाउँभरी प्रशंसनीय थियो।
तर आफ्नो जग्गाको साँध र सिमाना जोडिएका छिमेकी उग्रको स्वभाव भने अत्यन्तै फरक थियो। चामलमा बिँयाजस्तै सभ्यतापुरीमा पनि उग्र एउटा अपवाद थियो। उसमा मिजास र नम्रता एक रत्ति थिएन।
विनम्रको नम्रता जसरी गाउँभर चर्चित थियो, त्यत्तिकै चर्चित थियो उग्रको उग्रता। रिसको झोंकमा उसले वेद पढ्दैन थियो। फोहोर गाली र बोलीभन्दा छिटो उसको मुक्का चल्थ्यो। त्यसैले गाँउलेहरू उग्रको सामुन्ने पर्न रुचाउँदैन थिए।
विनम्र र उग्र भने साँध सिमाना जोडिएका छिमेकी भएकाले नियमित भेटघाट भइरहन्थ्यो। उग्र स्वभावैले अराजक थियो। उसलाई अरु कसैले सम्मान पाएको मन पर्दैन थियो। त्यसैले विनम्रलाई गाउँलेले सम्मान गरेको उसलाई पटक्कै मन पर्दैनथ्यो त्यसैले उसले विनम्रलाई उत्तेजित पार्ने प्रयास गरिरहन्थ्यो। विनम्रलाई पटक पटक झमेलामा फसाउने प्रयास गरिरहन्यो।
तर विनम्र असाध्यै सहनशील भएकाले यी दुई बीच झगडा कहिल्यै भएन। उग्रले भने विनम्रलाई भड्काउने प्रयास गरी नै रहन्थ्यो।
उग्रले विनम्रको खेतमा मकै लहलहाएको बेला खेतमा बाख्रा छोडिदिएर सबै मकै स्वाहा पारिदिन्थ्यो। तोरी खेतमा भैंसी छोडिदिन्थ्यो। धान खेतमा सिंगै कुलो लगाइदिएर सबै खेत भत्काइदिन्थ्यो। यसका बावजुद विनम्र उग्रसँग झगडा गर्नुको साटो मौन रहन्थ्यो।
अति भएपछि विनम्रले खेतमा मकैको साटो अदुवा र हलेदो लगायो। तोरीको साटो उखु लगायो। पाखामा अम्रिसो लगायो। उसले लगाएको वैकल्पिक बालीको चर्चा गाउँभरी भयो। टाढा टाढाबाट व्यापारीहरू आए र धेरै पैसा तिरेर खेतबाटै उसको बाली उठाए।
आफ्नो बाली बेचेर विनम्रले गाउँमा चिटिक्कको घर बनायो। हेर्दा हेर्दै विनम्र गाउँको धनी मान्छे भयो।
यता उग्रको अवस्था भने दिनदिनै बिग्रिँदै गयो। सामान्य निहुँमा पनि झगडा गर्ने उग्रको बानी थियो। दिनकै झगडा र मारपिट। त्यसपछि तिर्नुपर्ने दण्ड जरिवानाका कारण उग्र गरिब बन्दै गयो। खराब स्वभावका कारण छिमेकी र गाँउलेको साथ पनि उग्रले पाएन।
घरमा कामै नगर्ने भएकाले उसको आम्दानी थिएन तर खर्च भने असाध्यै धेरै थियो। आम्दानी चार आना खर्च आठ आना गर्ने भएकाले उृसले आफ्नो पैतृक सम्पत्ति सबै बेचेर सकायो।
यता विनम्र दिनदिनै धनी भयो। सम्पत्ति सकिएको उग्र भने गाँउबाटै बेपत्ता भयो।
(विदीशा पाण्डे सियस नेसनल एकेडेमी, बालाजु कक्षा ६ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)