सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
वित्तीय साक्षरता भनेको पैसा व्यवस्थापन गर्ने ज्ञान र कला हो। मानिसको व्यवहारमा आइपर्ने अनेक प्रकारका आर्थिक निर्णयहरू गर्न आवश्यक हुने ज्ञान हो। जन्मदेखि मृत्युसम्मका लागि आवश्यक पर्ने खर्चको जोहो गर्ने विषय हो।
वित्तीय साक्षरता हाम्रो दैनिक जीवनको पनि अभिन्न अङ्ग हो। पैसाले मान्छेमात्र नभएर संसारलाई नै घुमाइरहेको छ। अनि पैसा व्यवस्थापन गर्न गाह्रो पनि हुन्छ। जसरी पैसा नभएर व्यवहार चलाउन गाह्रो हुन्छ उसैगरी भएको पैसा प्रतिफल पाउने गरी व्यवस्थापन गर्नु पनि महत्वपूर्ण छ।
वित्तीय साक्षरताले मानिसहरूलाई स्वतन्त्र र आत्मनिर्भर हुन मद्दत गर्छ। यो रोजगारी, व्यवसाय, लगानी, आय, खर्च, कर्जा, कर, बचत, वित्तीय बजार, पूँजी निर्माण तथा बजेटको आधारभूत ज्ञानसँग सम्बन्धित छ।
हालै मैले विज्ञ अर्थशास्त्रीबाट एउटा अनलाइन कक्षा लिने अवसर पाएँ। उक्त कक्षामा अर्थतन्त्रका धेरै पाटाहरू अनि वित्तीय पक्षहरूका बारेमा जान्ने मौका पाएँ। अर्थ व्यवस्थाका विभिन्न क्षेत्रहरूको बारेमा सिकेँ। शेयर बजार र लगानीको बारेमा पनि सिकेँ।
हामीले वित्तीय साक्षरता हासिल गर्न सम्पत्ति र दायित्व बीचको भेद थाहा पाउनु पर्ने रहेछ। सम्पत्तिले पुनः आय आर्जन गर्छ भने दायित्वले खर्च अझ बढाइरहेको हुन्छ। तसर्थ वित्तीय स्वतन्त्रता हासिल गर्ने हो भने आय आर्जन हुने खालका सम्पत्ति खरिद गर्नु आवश्यक छ।
घर किनेर भाडामा लगाएमा आय आर्जन हुन्छ भने धेरै कर्जा लिएर घर किन्दा आवधिक रूपमा कर्जाको व्याज तिर्न खर्च बढिरहेको हुन्छ। रोजगारी, व्यवसाय र लगानी गरी तीन प्रकारले आय आर्जन गर्न सकिन्छ। रोजगारीबाट प्राप्त हुने आय सीमित हुन्छ। रोजगारीका लागि हामीले पैसाको लागि काम गर्नुपर्छ।
यसको विपरीत यदि हामीले व्यवसाय वा लगानी गर्छौं भने पैसाले हाम्रो लागि काम गर्न सुरु गर्छ। लगानीकर्ताले आफूले काम नगरे पनि सही लगानी गरेको भए लगानी भएको रकमले आय आर्जन गरिरहेको हुन्छ। सानै उमेरदेखि वित्तीय साक्षरता हासिल गर्न सके थोरै पैसाको समयमै व्यवस्थापन गर्न जानेमा भविष्यमा वित्तीय स्वतन्त्रता हासिल गर्न सकिने हुन्छ।
प्रसिद्ध जापानी मूलका अमेरिकी लेखक रबर्ट कियोसाकीले आफ्नो बहुचर्चित पुस्तक 'रिच ड्याड पुअर ड्याड' मा वित्तीय स्वन्त्रताका लागि रोजगारीबाट मात्र सम्भव नहुने र कुनै दुई वटाको संयोजन हुनुपर्ने बताएका छन्। यी संयोजनमा रोजगारी र व्यवसाय, रोजगारी र लगानी अथवा व्यवसाय र लगानी पर्छन्। रोजगारी गर्ने व्यक्तिले पनि शेयरमा निष्क्रिय लगानी गरेर कम्पनी खरिद गरिरहेका हुन्छन्। शेयर खरिद गर्नु कम्पनीको हिस्सा खरिद गर्नु हो। प्राथमिक शेयर (आईपीओ) मा लगानी गर्दा समय क्रममा यसले ठूलो फाइदा दिन्छ। शेयरको दोस्रो बजारमा भने बुझेर मात्र लगानी गर्नुपर्छ। यसमा जोखिम बढी हुन्छ।
वित्तीय साक्षरता प्राप्त गर्ने धेरै तरिकाहरू छन्।
केही तरिकाहरू: राम्रो व्यवसाय गर्ने, कम्पनी स्थापना गर्ने, भविष्यमा मूल्य बढ्ने खालको जमिन किन्ने र त्यसलाई पर्खेर राम्रो मूल्यमा बेच्ने, शेयर किन्ने र पर्खेर राम्रो मूल्यमा बेच्ने आदि। गलत व्यवसाय वा धेरै जोखिम हुने व्यवसाय र लगानीमा प्रतिफल त राम्रो हुन्छ तर धेरै सुझबुझपूर्ण तरिकाले मात्र लगानी गर्नुपर्ने हुन्छ।
मेरो बाबा अर्थशास्त्री र आमा शेयर लगानीकर्ता भएको कारण मैले सानै उमेरदेखि वित्तीय साक्षरता सम्बन्धी धेरै कुरा सुनेकी छु। साथै वित्तीय साक्षरता सम्बन्धी साधारण ज्ञान भएको कारण औंसी, पूर्णिमा, दसैं, तिहार, अन्य चाडपर्व र जन्मदिनमा मैले पाएको पैसा बचत गर्ने गरेकी छु। थोरै पैसालाई खुत्रुकेमा राखेर संकलन गर्ने र केही पैसा जम्मा पार्ने गरेकी छु। यसरी संकलित पैसा मेरो आमालाई आईपीओमा लगानी गरिदिन भन्छु। म स्वास्थ्यलाई हानी गर्ने पत्रुखाना (जंकफुड) र अनावश्यक कुरामा पैसा खर्च गर्दिनँ।
हामी बेला बेलामा घरमा वित्तीय साक्षरताका बारेमा छलफल पनि गर्छौं। मेरो बाबाआमाले मलाई समय समयमा आर्थिक कुराहरू पनि बताउनु हुन्छ। परिवारमा आर्थिक रूपमा परेका अप्ठ्यारा र हाम्रा सीमित स्रोत साधन अनुसार चल्नुपर्ने कुरा पनि सम्झाउनु हुन्छ। अनि भविष्यको वित्तीय स्वतन्त्रताको लागि अहिलेदेखि नै पैसाको बचत गर्ने र प्राथमिक शेयरमा लगानी गर्न सुझाउनु हुन्छ।
अहिले मसँग केही आइपीओ सेयरहरू छन्। आइपीओ सेयर खुल्यो कि हामी थोरै रकम भएपनि लगानी गर्छौं। मैले गरेको सानो बचत समेत यसका लागि निकै उपयोगी हुन्छ ।
सानैदेखि आफूले बचत गरेको थोरै पैसा पनि उपयुक्त तरिकाले लगानी गरेमा भविष्यमा हाम्रो लागि उच्च शिक्षामा लगानी गर्न धेरै सजिलो हुन्छ। थोपाथोपीबाट घैला भरिन्छ र पछि आवश्यक परेको बेला काम लाग्छ। त्यसैले हामीले सानै उमेरदेखि वित्तीय रूपमा साक्षर हुनु आवश्यक छ।
(अपेक्षा पौडेल, ढाका, बंगलादेशमा बस्छिन्।)
(सन्जोग दाहाल, श्री बुद्ध आदर्श माध्यमिक विद्यालय, झापामा कक्षा १० मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)