सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
मेरो नाम प्रशन्नबाबु तिवारी हो। म ११ वर्षको भएँ। अहिले म कक्षा ६ मा पढ्छु।
कोरोना महामारीका कारण म स्कुल जान भने पाएको छैन। म अहिले अनलाइन कक्षा लिइरहेको छु। मलाई घरमा मामु र बाबाले पनि पढाउनुहुन्छ। तर, मैले यहाँ घरका काम किन सिक्नुपर्छ भन्ने बारेमा लेखेको छु।
मलाई यस बारेमा लेख्न मेरो मामु र बाबाले सुझाव दिनुभएको हो।
हामीले सानो हुँदादेखि नै आफूले सक्ने घरका काम सिक्दै जानुपर्छ। यदि हामीले यसो गर्यौं भने भविष्यमा हामीलाई घरको काम गर्न सजिलो हुन्छ। हामीले सानो हुँदा स–सानो काम सिक्नुपर्छ जस्तै, आफूले खाएका र भान्छाका साना भाँडाहरु माझ्ने, चिया पकाउने, मोजा जस्ता स–साना कपडाहरु धुने आदि।
हामी अलिक ठूलो हुँदै गएपछि अलिक गाह्रो र ठूला ठूला काम पनि सिक्नुपर्छ। जस्तै खाना पकाउने, खाजा पकाउने, ठूलो ठूलो कपडा धुने, भान्छामा खाना पकाएका ठूला भाँडा पनि माझ्ने।
यीमध्ये मैले केही काम सिकिसकेँ भने केही काम सिक्दैछु। म आफू सुतेको ओछ्यान आफैं मिलाउन सक्छु। जस्तै मैले तन्ना मिलाउन, सिरक, कम्बल पट्याउन र झुल मिलाउन जानेको छु।
मैले युट्युबमा हेरेर तन्ना धेरै नखुम्चिने गरेर मिलाउन सिकेँ। मेरो मामु र बाबाले पनि यो तरिका रुचाउनुभयो र प्रशंसा गर्नुभयो।
मैले आफूले खाएको खाना र खाजाको भाँडा आफैं माझ्छु। म आफ्नो कोठा आफैं सफा पनि गर्न सक्छु। मैले भात, कुनै कुनै तरकारी र कुनै कुनै किसिमका खाजा बनाउन जानेको छु। मलाई रोटी बेल्न पनि आउँछ।
आफूले सकेको काम गर्दै जानुपर्छ भनेर मलाई मेरो मामु र बाबाले सिकाउनुभएको हो। मैले यस्ता कामहरू जानेको र सिक्दै गरेको देखेर उहाँहरु खुशी हुनुहुन्छ।
कहिलेकाहीँ भने मलाई घरका काम गर्न अल्छी पनि लाग्छ। हामीले प्रत्येक दिन केही समय घरका काम गर्न र यस्ता काममा हाम्रा अभिभावकहरुलाई सहयोग गर्नु पर्छ।
त्यसो गर्ने हो भने हामी ठुलो भएपछि यस्ता काम गर्न हामीलाई सजिलो हुन्छ। अरुको भर पर्नु पनि पर्दैन।
(प्रशन्नबाबु तिवारी ज्ञानकुञ्ज स्कुल रविभवनमा कक्षा ६ मा अध्ययनरत छन्)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)