सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
म मञ्जुल सागर पन्त। सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको सुन्दर ठाउँ पाटन उपत्यकामा बस्छु। मेरो घर नजिकै पाटन एयरपोर्ट, उदयदेव मन्दिर र पाटन भ्याली स्कुल छन्। त्यसको पारितिर धान फल्ने ठूलो सेरो छ। अलि परपर गयो भने हस्पिटल र बिजुली निकाल्न बनाएको पानीको ठुलो पोखरी छ। त्यहाँबाट सुर्नया नदी बगेको छ।
त्यतैतिर पानी बग्ने अँध्यारा सुरुङ र बिजुली निकाल्ने टर्बाइनहरू छन्। वरिपरि पहाडै पहाडले घेरेको पाटनलाई माथिबाट हेर्दा निकै राम्रो देखिन्छ।
हाम्रो ठूलो परिवार छ। म र मेरो भाइ घरका साना बालक हौं। चैत महिनामा कक्षा ४ को वार्षिक परीक्षा भएको थियो। त्यति बेला विश्वमा फैलिरहेको कोरोना महामारी नेपालमा पनि फैलिन थालिसकेको थियो। चैत महिनाको ११ गते नेपालले लकडाउन गर्दा मेरो परीक्षा सकिएको थियो।
कोरोना महामारी हो, लकडाउन भनेको सबै बन्द हो भन्ने मलाई पनि थाहा भयो। यस पछिका केही दिनहरू टि.भी., युट्युब हेर्दै र रिजल्ट कुर्दै बिते। रिजल्ट आयो। मैले कक्षा ४ पास गरे। लकडाउनले कक्षा ५ मा भर्ना खुलेन। अब म घरमा के गरी बस्ने भनेर सोच्न थालेँ।
नजिकै गाउँमा पनि अर्को घर भएकाले हामी त्यहाँ गयौं। माथिबाट आउने सुर्नया नदी हाम्रै गाउँको घरको बाटो हुँदै बग्छ। त्यहाँ मानिसहरु पौडी खेल्ने, माछा मार्ने गर्छन्। वैशाखको महिना थियो। म पनि बिस्तारै ठुला दाजुभाइसित पौडी खेल्न, माछा मारेको हेर्न जान थालेँ।
पहिले त्यहाँ पौडी खेल्न गए पनि राम्ररी सिक्न पाएको थिइनँ। यस पालि धेरै दिन स्कुल बन्द भएकाले पौडी सिक्ने मौका मिल्यो। त्यहाँ पानी भित्र ठुला ठुला माछा पनि पौडिरहेका देखिन्थे।
घर नजिकै पिपलको चौतारोमा कपडा फुकाल्थे। अरु साथी भाइसँगै धनेता तालको किनारमा नडुबिने ठाउँमा हाम फाल्थे। किनारतिर धेरै दिनसम्म यसरी पौडी खेलेँ। बीच नदीमा गयो भने डुबिने र पानीले बगाएर लैजाने डर हुन्थ्यो। सुरुमा डराएर किनार मै पौडी खेल्थेँ। पछि सानो सानो डुब मार्न जान्न थालेँ। पौडी खेल्न त सारै मजा आउने रहेछ।
भाइ र म दुवै सानो सानो गहिरो भएको ठाउँमा गएर पौडी खेल्थ्यौं। यसरी धेरै दिन खेलेपछि हामीले पौडी खेल्न सिक्यौं।
गाउँमा दुई तीन महिना लगातार बस्दा मैले घरमा हजुरबुवा र हजुरआमालाई पनि सघाएँ। बिहानै माक्स लगाई बाख्रा चराउन साथी भाइसित जङ्गलतिर जान्थे। सुन्दर वनजङ्गलमा हामी टाढा टाढा बसेर खुबै रमाइलो गर्थ्यौं। पछि गाउँमा रोपाइँ पनि सुरु भयो। खेतमा गएर हामी हिलोमा निकै रमाइलो गर्थ्यौं।
हिलोमा डुबेर रोपाइँबाट फर्केपछि हामी त्यही धनेता तालमा पौडी खेल्थ्यौं। गोरुहरुलाई पनि त्यही तालमा नुहाउने रहेछन्। यसरी पौडी खेल्दै, माछा मारेको हेर्दै, बाख्रा चराउन जङ्गलतिर जाँदै, रोपाइँमा लतपतिएर रमाइलो गर्दै दिन बिते।
कोरोना महामारी सबैतिर बढ्दैछ, लकडाउन उस्तै छ। स्कुल खुलेन के गर्ने भन्ने सोचेर फेरि म बजारको घर आएँ। बुवासित एउटा भिडियो सुटिङ गर्ने ठुलो क्यामरा थियो। अलिअलि त चलाउन आउँथ्यो। त्यो राम्ररी सिकाइ मागेँ। अहिले मैले सानो सानो भिडियो गर्न र अनेक खालका फोटो खिच्न जानेको छु। मम्मीसित मिलेर ऊनबाट फुल बनाउन पनि सिके। सँगसँगै मैले कम्प्युटर पनि सिकिरहेको छु।
समाचारमा कोरोना महामारी नेपालमा धेरै फैलिसकेको छ भनेर आउँछ। केही दिनदेखि भाइ र म घरमा बसेर ड्रइङ गरिरहेका छौँ। स्कुलको माया लागेर त्यहाँ जान मन लाग्छ। स्कुल वरिपरि बिहान हिँडेर आउँछौं।
मैले एउटा कुरा भन्नु छ, यस्तो समयमा लकडाउन मान्नु होला। घरभित्र बस्नुहोला। विशेष कामले बाहिर जाँदा माक्स लगाएर जानुहोला। टाढा टाढा बस्नुहोला। घरमा आएर साबुनपानीले हात धुनुहोला। स्यानिटाइजर प्रयोग गर्नुहोला र सुरक्षित रहनुहोला।
(मञ्जुल सागर पन्त पाटन भ्याली स्कुल पाटन, बैतडी कक्षा ५मा अध्यनरत छन्)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)