सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
बालबालिकाको अधिकारलाई स्थापित गरी बालमैत्री शासन व्यवस्था कायम गर्न नेपालमा बालदिवस मनाइन्छ। बालबालिकालाई प्रत्यक्ष रूपमा सहभागी गराएर उनीहरूसँग सम्बन्धित विभिन्न बालमैत्री कार्यक्रमहरू आयोजना गरी बाल दिवस मनाइन्छ।
नेपालमा वि. सं. २०३१ साल भदौ ४ गतेदेखि बालदिवस मनाउन थालिएको हो। तत्कालीन बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाहको जन्म दिन पारेर यस दिवसको सुरूआत गरिएको थियो। तर गणतन्त्र स्थापनापछि भदौ २९ मा यो दिवस मनाउने गरिएको हो।
जन्मपूर्व र जन्मिसकेपछि बालबालिकाको आधारभूत आवश्यकता एवम् मौलिक हक व्यवस्था हुनु नै बालअधिकार हो। ती अधिकार परिपूर्ति गर्ने दायित्व अभिभावकको हुन्छ। त्यसका लागि आवश्यक कानुन बनाउने र वातावरण तयार गर्ने उत्तरदायित्व भने राज्यको हो।
बालबालिका ऐन, २०७५ अनुसार १८ वर्ष मुनिका व्यक्ति नै बालबालिका हुन्। ती कलिला, अपरिपक्व, निर्दोष, अवोध बालबालिका आफ्ना अभिभावकप्रति परनिर्भर हुन्छन्। खेल्नु, कुद्नु, रमाउनु, अनौठा–अनौठा जिज्ञासा राख्नु, चकचक गर्नु, चुलबुले हुनु बालबालिकाका विशेषता हुन्।
तिनीहरूको शारीरिक–मानसिक विकासका लागि यी विशेषता आवश्यक छन्। त्यसैले हरेक आमाबुबाले आफ्ना बालबच्चाको मनोभावना बुझ्न र उनीहरूसँग समय बिताउनु आवश्यक छ। तिनको शारीरिक तथा मनोवैज्ञानिक अवस्था अरूको तुलनामा फरक हुन्छ । तिनीहरूलाई मन पर्ने कुरा, अरूसँग व्यवहार गर्ने शैली पनि बेग्लै किसिमको हुन्छ, जसलाई हामी बालापन भन्छौं।
कतिपय बालबालिकाहरू परनिर्भर भएकै कारणले आफ्नो अधिकारबाट वञ्चित भइरहेका छन्। पढ्ने, खेल्ने, मनोरञ्जन गर्ने, घुम्ने, तथा आफ्ना अभिभावकसँग खुसियाली साटासाट गरेर बालापन बिताउने बेलामा अरूको घरमा बसेर बालश्रम गर्न बाध्य छन्।
बालबालिकाहरू आफ्नो अभिभावक भएर पनि गरिबीका कारण अरूका घर तथा होटलमा बसेर काम गर्न बाध्य छन् भने केही बालबालिका आफ्ना अभिभावक नभएर यस्तो बाध्यतामा परेका पाइन्छ।
विविध कारणले आफ्ना अभिभावकको मायाबाट बञ्चित बालबालिकाहरू सानै उमेरमा कुलतमा लाग्ने, नराम्रा कार्य गर्न अग्रसर हुने गरेका समाचार पनि आइरहेका छनन्। आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारणले गर्दा सहर बजारमा केही बालबालिका सानै उमेरमा विभिन्न होटल, सार्वजनिक बसमा सहचालक, ठुलाबढाका घरमा काम गर्ने मान्छेका रुपमा कडा श्रम गरिरहेका पाइन्छन्।
मुलुकका विभिन्न दुरदराजमा बस्ने बालबालिका समयमै स्कुल पढ्न जान नपाएर आफ्नो वा अरू कसैको गोठालो जानु परेको छ। विभिन्न ऐतिहासिक तीर्थस्थल जाँदा केही बालबालिका दर्शनार्थीहरूसँग खानेकुरा मागिरहेका भेटिन्छन्। हातमा किताब समाएर स्कुल जाने कलिलो उमेरमा उद्योगी, व्यवसायीको भरिया बनेर गह्रौं भारी बोकेर पसिना चुहाइरहेका पाइन्छन्।
तर, नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३९ को उपधारा १ मा बालबालिकाको हकलाई मौलिक हकको रूपमा व्याख्या गरिएको छ। भनिएको छ, प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामाकरण र जन्मदर्ताको हक हुनेछ। उपधारा २ मा भनिएको छ, प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वांगिण व्यक्तित्व विकासको हक हुनेछ।
यसरी संविधानमा बालबालिकाको अधिकारका विषयमा स्पष्ट व्याख्या गरिएता पनि खासै कार्यान्वयन भएको छैन। बालबालिकाको क्षेत्रमा आवाज उठाउने विभिन्न संघ, संस्थाको कार्य प्रभावकारिताले पनि बालबालिकाको पूर्ण अधिकार समेट्न सकेको छैन। सरकारले बालबालिका मुक्त सडक बनाइने नीति लिएको भए पनि सडकमा दैनिकी गुजार्ने बालबालिका प्रशस्तै भेटिन्छन्। यस्तो हुनु दुखद हो।
नेपालमा केही राम्रा कामको सुरूवात नभएको पनि होइन। छोराछोरी दुवैका लागि मा.वि तहसम्म अनिवार्य र निःशुल्क शिक्षा लागू गरिएको छ । शिशु स्याहार केन्द्र, मन्टेसरी, चिल्ड्रेन फनपार्क, बाल संसार, बालबाटिका, बाल पत्रपत्रिका प्रकाशनलगायतले गर्दा उनीहरूको मनोरञ्जन, कलात्मक सिर्जना र अभिव्यक्तिको अधिकार प्रयोग भएको छ।
नेपालको ४० प्रतिशत जनसंख्यामा १८ वर्ष मुनिका बालबालिका छन्। आजका बालबालिकाहरू भोलीको राष्ट्र निर्माणका कर्णधार हुन्, त्यसैले बालबालिकाको विकासका लागि लगानी बढाउनु आवश्यक छ।
बालापनको अवस्था र क्षमताको पहिचान एवं सम्मान गर्नु बालअधिकारको विशिष्ट अवधारणा मानिन्छ। बाल दिवसले बालबालिकालाई बाल शोषण, हस्तक्षेप,बालश्रम न्यूनिकरण गर्न सहयोग पुर्याउँछ। बालदिवसले बालबालिकालाई प्रगतिको बाटोमा लम्कन थप प्रेरणा प्रदान गर्छ। बालबालिकाप्रति माया, सद्भाव र सहयोगी भावना विकास गर्न पनि प्रत्यक्ष सहयोग पुर्याएको हुन्छ।
अभिभावकले आफ्ना बालबालिकालाई माया, ममता, सद्भाव र सुरक्षाको अनुभूति दिलाउनुपर्छ। अभिभावकको महत्वपूर्ण समयले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा उल्लेख्य भूमिका खेल्छ। बालदिवसका उपलक्षमा हामी सबै बालबालिबालाई हार्दिक शुभकामना।
(राजकुमार खत्री नागर्जुना एकेडेमी, कुपण्डोल, ललितपुरमा कक्षा ९मा अध्ययनरत छन्)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)