सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
कोरोनाको महामारीका कारण दिनभर हामी घरमा बसिरहेका छौं। फुर्सदै फुर्सद छ। के गरौं, के गरौं भइरहन्छ। यो फुर्सदको यो क्षणमा के गर्ने? धेरै समयसम्म टिभीमा कार्टुन हेर्ने, मोबाइलमा गेम खेल्ने भिडियो हेर्ने गरेमा पनि यसले हामीलाई असर गर्छ रे।
त्यसैले मैले घरिघरि त चित्र बनाउने, ओरिगामी बनाउने गरेर मैले यो समय सदुपयोग गरेँ। यो मात्रै गरेर पनि कहाँ दिन बिताउन सकिन्छ र? घरमा बसेपछि एकछिनमा भोक लाग्छ, एकछिनमा तिर्खा। के खाऊँ, के गरौं त सबैलाई भइहाल्छ होला।
यस्तो बेलामा मैले बाबाआमा र दिदीसँग विभिन्न खेलहरू खेल्न, खाना बनाउन र केही घरायसी कामहरू गर्न सिकेर पनि समय बिताएँ र मज्जा पनि भयो।
पहिले पहिले क्रिकेट, फुटबल, ब्याडमिन्टन, टेबल टेनिस, मात्र खेलिन्थ्यो। अहिले यी सब खेल खेल्न कहाँ पाउनु न साथी छन् न खेल सामग्री नै छन्। फेरि केही उपाय त लगाउनै पर्यो। मैले मेरा बाबा आमाले सानो हुँदा के कस्ता खेलहरू खेल्नु हुन्थ्यो होला भनेर सोचेँ।
उहाँहरूले ले सानो बेलामा खेल्ने गरेका पुराना खेलहरू पनि रमाइला रहेछन्। बाघचाल, गुच्चा, गट्टा, एकखुट्टे, कबड्डी जस्ता खेलहरू उहाँहरूसँग मैले सिकेँ र घरिघरि म उहाँहरूसँग खेल्दैछु पनि। दिदीसँग गितार बजाउन, योगा र व्यायम गर्न सिकेँ। आफूसँग खेल्ने सामग्री र खेल्नलाई साथीभाइ नहुँदा परिवारका सदस्यहरसँग पनि खेल्न सकिने रहेछ।
काम नभएर छटपट भएका बेला मैले हाम्रो जीवनमा आइपर्ने कामहरू, जस्तो कि, बगैंचाको काम, बिउबिजन उमार्ने, सागसब्जी रोप्ने, फलेका फलफूल टिप्ने, फलफूल रोप्ने, स्याहार्ने, गोडमेल गर्ने, मल बनाउने आदि पनि सिकेँ।
मैले भान्सामा ग्यास बाल्ने र निभाउने, सागसब्जी केलाउने, पखाल्ने, भाँडाकुँडा सफा गर्ने, चिया पकाउने, आलु र अण्डा उसिन्ने, ओभन चलाउने, पिज्जा, बर्गर, मःम, लाफिङ, चटपटे, मिल्क सेक आदि बनाउने, ग्राइन्डरमा मसला पिस्ने र केही नयाँ परिकार पनि बनाउने काम सिकेँ।
भिडियोमा रेसेपी हेर्दै त्यही अनुसार खानेकुरा पकाउँदा निकै मजा आयो। यसरी खानेकुरा बनायो भने रेस्टुरेन्टमा खाएभन्दा मिठो हुँदो रहेछ। घरमा बनाएको खाना सफा र सुरक्षित पनि हुने रहेछ। बाहिरको खाना नखाएपछि कोरोना भाइरस सर्ने पनि सम्भावना भएन।
अनि पैसा पनि बचत हुने रहेछ। आफूले पकाएको खानेकुरा सबैले मिठो मानि मानि खाँइदिँदा झन् पो रमाइलो हुँदो रहेछ। आफू पनि खुसी, परिवार पनि खुसी।
जब मैले भान्सामा काम गर्न सिकेँ, त्यसले मलाई एक्लै हुँदा पनि केही बनाएर खान, पाहुनाहरू आउँदा चिया पकाएर दिन पनि सक्ने भएँ जस्तो लागेको छ। यसरी हामीले पनि घरको काम सघायौं भने आमा, बुबालाई पनि सजिलो हुन्छ। उहाँहरू बाहिर काम गरेर थाकेर आउनुभएको बेला हामीले चिया, खाजा दिएर खुसी पार्न सक्छौँ। वहाँहरूले आराम गर्न केही समय पनि पाउनुहुन्छ।
तर भान्सामा सुरक्षित ढंगले काम गर्नु पर्छ। भान्साका सामग्रीहरु जस्तो ग्यास चुलो, मिक्सर, चक्कु, फ्रिज, ओभन आदि प्रयोग गर्दा होसियार हुनु पर्छ। सुरूसुरूमा यी सामग्री प्रयोग गर्ने बेलामा अभिभावकहरूको सहयोग लिनु पर्छ।
त्यस्तै गरी खेलहरू खेल्दा चिप्लिने सम्भावना हुन्छ। कौसीबाट नलडियोस् भनेर पनि होसियार हुनुपर्छ।
(सौरभ चापागाई, युनाइटेड स्कुल, ललितपुरमा कक्षा ६ मा अध्ययनरत छन्)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)