सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
आहा! भन्दा पनि कति मज्जा आउने। एक दशक, धेरैका लागि लामो समय हुन सक्छ। खासगरी, जुन मानिस अन्यौलपूर्ण अवस्थामा छ, जीवनदेखि आजित भइसकेको छ या १० वर्ष भन्दै थकाइको सास फेर्छ।
तर मेरा लागि भने हिजो भखरै बित्यो दस वर्ष। अनि अघि मात्र बनाएँ मैले आफ्नो १० वर्षे साथी, अनि भखरै टुट्यो त्यो साथीको साथ।
हो त्यस्तै भयो।
'मित्र', 'साथी', 'दोस्त', धेरैले धेरै नाम लिएर पुकारेन् तर त्यो रगत, जात, धर्म, लिंगको कुरामा अन्धो मुटुको यो सम्बन्धलाई म के भन्दै पुकारौं?
'ममी, म आज स्कुल नजाने है टाउको दुख्यो के' देखि 'ममी, म औषधी लिएर भए पनि स्कुल जान्छु है, चिल्ड्रेन्स डे सेलिब्रेसन छ के' सम्म हामी सबै हुर्कियौं।
टाउको नदुखेकोमा पनि जान नमान्ने र बिरामी भए पनि औषधि खाएर जाने यो परिवर्तन कसले गर्दा भयो होला!
विद्यालय त त्यही थियो। त्यही कक्षाकोठा त्यही। स्कुल जान उत्सुकता बढाउने श्रेय जान्छ त्यो दस वर्षे साथीलाई। बढ्दै, पढ्दै, खेल्दै, हुर्कँदै रमाइला बाल्यकालका क्षण साटासाट गर्दै एक-अर्काको मन मस्तिष्कमा बस्यौ मीठा, गुलिया याद बनी।
याद मात्र भन्नु होला हजुर, याद मात्र।
मलाई पनि यादमा मात्र सीमित राख्न मन छैन आफ्नी १० वर्षे साथीलाई। तर परिस्थिति भनौं कि समय, उसको गल्ती भन्ने कि मेरो पत्तै पाइनँ।
फलामे गेट भनिने एसइईका किताब, कापी, प्राक्टिस बुक आदि पढेर, घोकेर, खै कसरी पूरा गर्यौं। फलामे गेटको नजिक पुग्दा हामीले एकअर्काको साथ कहिले नछोड्ने, भविष्यका पाइला सँगै टेक्ने, सफलताको शिखर चढ्दा सबै एक अर्काको मेरुदण्ड बन्न तत्पर रहने बाचा गरेका थियौं।
तर भने जस्तो हुने भए संसारका सबै मानिस खुसी हन्थे होला।
मैले यस लेखमा भनेको दस वर्षे साथी अहिले मबाट टाढा भइसकी।
सायद उसले सफलताका लागि अरु धेरै मेरुदण्डहरु भेटी होला। म भने मेरै दस वर्षे टिकाउ मेरुदण्डप्रति अझै पनि आशावादी छु।
समय बदलियो कि हाम्रो बाचा। तर धन्य छु म, यी दस वर्षे याद भने जस्ताका तस्तै छन्।
(क्रिस्टिना बास्तोलाले हालै बागमती स्कुल, सुकेधाराबाट एसइई पास गरेकी हुन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)