सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
(मैले यो लेख नेपालमा आँखा रोगसम्बन्धी उपचारमा ठूलो योगदान दिएका डा. रामप्रसाद पोखरेलका बारेमा लेखेको हुँ। उहाँ मेरो हजुरबुवा हुनुहुन्छ।)
डा. रामप्रसाद पोखरेलको जन्म ४ मे, १९३७ मा धनकुटा जिल्लाको कचेडी गाउँमा भएको हो। उनका माताको नाम योगमाया पोखरेल र पिताको नाम कविराज नरपति शर्मा पोखरेल हो।
उनका पिता नेपालका आयुर्वेदमा आचार्य उत्तीर्ण गरेका पहिला व्यक्ति हुन्। रामप्रसाद पोखरेलका माता र पिताको विवाह हुँदा माता ७ वर्ष र पिता ११ वर्षका थिए।
घरमा धेरै व्यक्तिहरू आचार्य पढेका र ज्ञानी भएका कारण पोखरेलको घरमा दिनहुँ राजनीति र साहित्यको चर्चा भइरहन्थ्यो। यस कारण डा. रामप्रसाद पोखरलेलाई प्रेरणा र इच्छा जाग्यो।
बाल्यकालमा कवि बन्ने इच्छा भए पनि पिताको प्रेरणा र आदेश लिएर अङ्ग्रेजी पढेर डाक्टर बन्नु पर्छ भन्ने भावना लिएर उनी डाक्टर बन्न लागे।
रामप्रसाद पोखरेल कक्षा १ देखि १० सम्म धनुकुटाको गोकुण्डेश्वर स्कुलमा पढेका थिए। त्यसबेला म्याट्रिक परीक्षा धनकुटामा नभएका कारण काठमाडौं आएर ३ महिना प्राइभेट ट्युसन लिएर सन् १९५० मा म्याट्रिक परीक्षा पास गरे। अनि धनकुटा फर्किए। त्यस समय राणाविरुद्ध जनक्रान्ति भयो र धनकुटामा रामप्रसाद पोखरेलका पिता स्वास्थ्य मन्त्री भए।
त्यही समय धनकुटा जिल्ला वरिपरि माइको प्रक्रोप देखेका रामप्रसाद पोखरेल र एक बङ्गाली डाक्टरबाट खोप लगाउने तरिका सिके। खोप लगाउने तरिका जानेपछि उनी त्यही औषधि लिन एक्लै एक हप्ताको भ्रमण गरेर भारतको पुरनीय अस्पताल गए। त्यही औषधि लिएर आएपछि उनले ३ महिना पैदल हिँडेर जिल्लाका विभिन्न घरघरमा पुगेर खोप लगाउने काम गरे।
माइको प्रकोप घटाउन मद्दत गरे। यो ठूलो अनुभव लिएपछि उनले इलाहावाद केपी कलेजबाट आइ.एस.सी गरे। यसपछि मेडिकल पढ्न सरकारी छात्रवृत्ति लिन काठमाडौं आए। सरकारबाट छानिए पनि उनी मेडिसिन पढ्न किङ्ग जोर्ज मेडिकल कलेज, लखनउ गए र ५ वर्ष अध्ययन गरेर डाक्टर बनेर नेपाल फर्के।
डाक्टर बनेपछि डा. रामप्रसाद पोखरेल काठमाडौं फर्के। उनले मेडिकल अफिसरका लागि स्वास्थ्य मन्त्रालयमा निवेदन दिएर र धनकुटाको अस्पतालमा नियुक्ति पाई धनकुटामा बसेर २ वर्ष काम गरे। यसपछि जलेश्वर लगायत विराटनगरमा थप २ वर्ष काम गरे। मेडिकल अफिसरका रूपमा काम गर्दागर्दा बेलायतमा इ.एन.टी पढ्न गोर्खापत्रमा विज्ञापन देखे। छात्रवृत्ति पाउने आशामा उनी काठमाडौं आएर स्वास्थ्य मन्त्रालयबाट छानिएर ब्रिटिस काउन्सिल मार्फत् अध्ययनका लागि बेलायत गए।
बेलायत पुगेको ४ वर्षसम्म डा. पोखरेलले इ.एन.टी पढेर डि.एल.ओ पास गरे। त्यसपछि इ.एन.टीमै एफ.आर.सि.एस. गर्ने निर्णय गरी नेपाल सरकारलाई स्विकृति माग्दा नेपाल फर्कन आदेश आयो। तर त्यसैको केही सयपछि नेपाल सरकारले नै डि.वो. गरेर काममा फर्कने आदेश दियो।
सरकारको आदेश मानेर डा. पोखरेलले इ.एन.टी छोडेर आँखामै डि.वो. र आँखामै एफ.आर.सि.एस. गर्ने निर्णय लिए। यति गरिसकेपछि आँखामा एफ.आर.सि.एस. गर्ने पहिलो नेपाली भए उनी। रोयल आई हस्पिटलमा काम गरी रहँदा बेलायतको गृहमन्त्रालयले बेलायतकै नागरिकता लिने प्रेरणा गरे।
यही समयमा डा. पोख्रेलले अमेरिका जानका लागि 'इसिएमएफजी' पनि पास गरिसकेका थिए। यस समयमा डा. पोख्रेललाई बेलायत बसूँ कि अमेरिका जाऊँ भने दोधार त्यागेर आफ्नो कर्तव्य सम्झी उनी नेपाल फर्के। एफ.आर.सि.एस. गरिरहेको समयमा नेपाल दूतावासमा पार्टी हुँदा उहाँको भेट शोभना गुरुङसँग भयो। नेपाल फर्केको केही समयपछि उनीहरू दुईले काठमाडौंमा विहे गरे।
डा. पोखरेल काठमाडौं आएर वीर अस्पतालमा काम गर्न थाले। त्यहाँको दयनीय अवस्था देखेर उनलाई साह्रै दुःख लाग्यो। सुरूको दुई-तीन वर्ष उनी आँखा शिविर चलाउन विभिन्न जिल्ला गए। यसबाट उनले देखे, सरकारको मात्र मुख ताकेर केही हुँदैन। त्यसैले आफ्नै प्रयासबाट काठमाडौं त्रिपुरेश्वरमा पहिलो नेपाल आँखा अस्पताल स्थापना पहल गरे।
शिविरमा जाँदा जनताको कठिनाइ र अन्धोपन देखेर उपत्यकाबाहिर पनि केही गर्नुपर्छ भन्ने लागेको हुँदा नेपाल नेत्र ज्योति संघको स्थापना भयो। नेपाल नेत्र ज्योति संघको माध्यमबाट र विश्व स्वास्थ्य संगठनको सहयोगमा नेपालमा केकस्तो रोगले असर पर्छ भनेर पत्ता लाग्यो। यसैको योजना अनुसार डा. पोखरेलले नेपालका १४ अञ्चलमा आँखा अस्पताल स्थापनामा पहल गरे।
यस क्रममा, सन् १९८० देखि १९८९ सम्म डा. पोखरेल डब्लुएचओ जेनेभामा ग्लोबल 'एड्भाइजर' भई काम गरे। विश्वका अरू ठूला आँखाका डाक्टरहरूसँग पनि उनको सम्पर्क भयो।
आँखाको सर्वेक्षणअनुसार अन्धोपनको मुख्य कारण मोतिया बिन्दु, ट्रकोमा र जेरोश्लमिया देखिएको हुँदा डा. प्रेड अलोजलाई ट्रकोमाको जानकारका रूपमा डा. पोखरेलले नेपाल ल्याउन पहल गरे र नेपालमा ट्रकोमा रोग उपचारमा ठूलो सहयोग भयो।
३० वर्षको यो योगदान लिएर डा. पोखरेलले सेवा विस्तार गरे। आज तीस वर्षपछि नेपालबाट ट्रकोमा र जेरोप्थाल्मिया २०१७ मा निर्मूल र मोतियाविन्दु पनि धेरै कम भएर गयो।
सरकारले गर्न नसकेको अन्धोपन निवारण कार्यक्रम दातृ संस्थाको सहयोग लिएर नेत्र ज्योति संघमार्फत जन सहयोग लिएर आँखाको कार्यक्रम सम्पन्न भयो। डा. पोखरेलले आँखाको क्षेत्रमा भेटेका विशिष्ट विशेषज्ञमा डा. इरातु कुरोजुमी, प्रो. फ्रेड होलोज, डा. जेराल्ड स्मिथ, डा. निकोल ग्रासेट, डा. आर पराजाजासेग्राम र स्व. प्रो सासायोसी कामिया हुन्।
उनले सन् १९७२ मा नेपालमा पहिलो पल्ट आँखामा भएको नानी प्रत्योरोपण (कर्निया ट्रास्सप्लान्ट) गरे। सन् १९८२ तिर तिलगंगा आँखा अस्पताल स्थापना गर्न मद्दत गरे। डा. पोख्रेलले डा. प्रेड हलोजको सहयोग लिई अस्ट्रेलियाबाट आइओइल बनाउने प्रविधि भित्र्याउन ठूलो सहयोग पनि गरे।
डा. पोख्रेलले सन् २००० मा नेपालभित्र पनि मेडिकल शिक्षा हुनुपर्छ भनी काठमाडौं मेडिकल कलेज स्थापनामा पहल गरे। आँखा सेवा विस्तारका लागि जनस्वीकृति नभई नहुने हुँदा अन्तर्राष्ट्रिय सहयोग जुटाएर भारत, बेलायत र अष्ट्रेलिया पठाई नेत्र विशेषज्ञ उत्पादन गरे।
यस लगायत डा. पोखरेलले सन् १९७४ मा अमेरिकाबाट आर्विस प्लेन नेपाल भित्र्याए। आर्विस प्लेन भनेको आँखा रोग शल्यक्रिया गर्ने सामग्री भएको प्लेन हो। उनले सन् १९७४ मा राजपरिवाका सबैका आँखा परीक्षण गरेका थिए।
डा. पोखरेलले जीवनभर कमाएका विश्व पुरस्कार यस प्रकार छन्:
- जोसे रिसाल पुरस्कार एपिएओ, क्योटो,१९९१
- महेन्द्र विद्या भुषण प्रथम
- त्रिशक्तिपट्ट तेस्रो
- धर्म पहारी पुरस्कार
- गोरखा दक्षिण बाहु तेस्रो
- विशिष्ट सेवा पदक
उनले आँखाको क्षेत्रमा पुर्याएको योगदान सम्बन्धी विषयमा लेख्ने कार्यहरू निम्न किताबमा देखिन्छ जुन यसप्रकार छः
- तोमसोमा ज्योतिर्गमय
- तुसारो झर्छ
- नरपति शर्माका सम्पूर्ण कृतिहरू
- रिचिङ द अनरिच्ड
(पुराभ काफ्ले युलेन्स स्कुलमा कक्षा १० मा अध्यनरत छन्)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)