सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
एकदिन साँझको कुरा हो। बाटोमा हिँडिरहेको एउटा बुढा मान्छेले, म नजिकै आएर भन्यो, ‘बाबु ! निकै दिन भयो मैले खान पाएको छैन, के मलाई केही खानेकुरा दिन सक्छौ?’
ती बुढा मान्छे देखेर मलाई खुब दया लाग्यो। केही दिन पाए हुन्थ्यो भन्ने लागेर मैले उसलाई मेरो घरमा लगेँ। बाबासँग सबै कुरा बताएँ। त्यसपछि, पेटभरी खान देऊ भन्नुभयो र मैले दिएँ।
कहाँदेखि आएका होलान्, थकाइ पनि लाग्यो होला भनेर साँझपख आएका बुढा मान्छेलाई म सुत्ने कोठामा लगेर सुताएँ। थाकेकाले ऊ भुसुक्क निदायो। म पनि उनीसँगै कोठामा सुतेँ।
मध्य रातमा भुइँचालो झैं गुटुङ्गटुङ्ग आवाज आयो र मेरा आँखा खुले। बेस्सरी हावा चलिरहेको थियो। यस्तो बेला पनि सुतिरहेको बुढा मान्छे जुरुक्क उठेर कोठाबाहिर निस्कन खोज्दै रहेछ।
मैले उसलाई भनेँ, ‘के भयो बाजे?’
ऊ बोल्दै बोलेन। नसुनेर होला भनी चिच्च्याउँदै बोलाएँ र पनि बोलेन। सेता कपडा लगाएको बुढा मान्छे विस्तारै बाहिर निस्क्यो। त्यो देखेर मेरो जीउमा सिरिङ्ग काँडा उठे।
के गर्दा रहेछन् भनेर मैले उनलाई झ्यालबाट चिहाएर हेरेँ। बुढा मान्छे त घर बाहिर चोकमा निस्केपछि निकै ठूला पो भयो। अघिको सेतो कपडा निकालेर फाले र शरीर भरी रौं नै रौं निकाल्यो। टाउकोको कपाल लामो न लामो देखियो। उसले हातमा लामा लामा नङहरू निकाल्यो। ऊ त साँच्चै भूत जस्तो देखियो। त्यसपछि ऊ हाम्रो टोलको छिमेकीका घरमा पस्यो।
आम्मै, उसले त छिमेकीको घरबाट सुतिरहेको एउटा बच्चालाई लिएर आयो। त्यो मेरो साथी जिन्टु जस्तो थियो। निदाइरहेको जिन्टुले आफूलाई बोकेर लगेको थाहै पाएन। त्यो देखेर म ‘बाबा बाबा’ भनेर चिच्च्याउन खोजेँ तर, आवाजै आएन। जति कोशिस गरे पनि बाबालाई बोलाउन सकिनँ। ममी त त्यो दिन घरमा हुनु हुन्नथ्यो। केही बेरपछि भुताहा बुढो फेरि अर्को छिमेकीको घरमा पस्यो र अर्को साथीलाई लग्यो।
उसले यसैगरी टोलभरिका मेरा साथीहरूलाई एक एक गर्दै लिएर जान थाल्यो।
केही बेरमा ऊ मलाई पनि लिन आउने त होला भनेर मलाई एकदमै डर लाग्न थाल्यो। म बोल्नै सकिरहेको थिइनँ। अनि म हतार हतार गरेर कोठामा रहेको दराजको ऐना अगाडि हात जोडेर उभिएँ।
म आत्तिएको देखेर, ‘के भयो तिमीलाई ?’ भनेर एउटी केटी ऐनामा देखिई। मैले उसलाई हात जोडेर विन्ती गरेँ। तर बोल्न नसकेको देखेर ऊ ऐनाबाट फुत्त बाहिर निस्की र फेरि सोधी, ‘भन त तिमीलाई के भयो, किन डराइरहेका छौ?’
मैले उसलाई हत्तपत्त बाहिर बच्चा लैजाँदै गरेको भूताहा बुढोलाई देखाउँदै, ‘हेल्प हेल्प’ भन्न खोजेँ।
त्यो देखेर ऊ पनि आश्चर्यमा परी। विस्तारै मेरो आवाज आएपछि उसलाई मैले सोधेँ, ‘त्यो भूताहा बुढाले मेरा साथीहरू सबै लगिसक्यो। के उनीहरूलाई मद्दत गर्न सक्छौ?’
उसले भनी, ‘कोशिस गर्छु नआत्तिउ।’
मैले उसलाई फेरि सोधेँ, ‘तिमी को हौ?’
त्यसपछि उसले भनी, ‘म ब्लडी मेरी हुँ।’
अरे मैले त ब्लडी मेरीका कथा खुब हेरेको थिएँ टिभीमा। साँच्चै उसले भूताहाहरूलाई मार्न सक्थी। मलाई अब विश्वास भयो त्यो मेरीले मेरा सबै साथीलाई बचाउने छे।
त्यत्तिकैमा उसले भनी, ‘नआत्तिउ असिम, म त्यो भूताहा बुढोलाई मारेर तिम्रा साथीलाई बचाउँछु। बरु भन, यो बुढोलाई कसरी देख्यौ।’
अनि मैले उसलाई सुस्तरी भनेँ, ‘हेर मेरी, त्यो बुढा म भोको छु भनेर मेरो घरमा आयो। खान दिएँ। थाकेको होला भनेर आज राती मेरो कोठामा सुत्न दिएको थिएँ। आधा रातमा बुढा त उठेर बाहिर गए भुताहा भयो। हेर न यसले सबै साथीहरु लगिसक्यो। अब त मेरो पनि पालो आउने भयो।’
अनि ब्लडी मेरीले भनी, ‘चिन्ता नगर, पक्कै त्यो राक्षस भूत हो। त्यसले बच्चाबच्चीहरूलाई कहाँ लगेर राखेको रहेछ, पत्ता लगाउँछु र ल्याउँछु।’
यति भनेर ऊ तुरुन्त बाहिर निस्की। मलाई विश्वास थियो उसले साथीहरूलाई ल्याउँछे। मैले झ्यालबाट उसको बाटो हेरिरहेँ। ऊ विस्तारै भुताहा बुढोको पछि पछि लागी। निकै बेरसम्म आइन। नआउँदा कतै भूताहा बुढोले शिकार गर्यो कि भन्ने मेरो मनमा शंका उब्ज्यो।
तर धेरै बेरपछि उसले भूताहा बुढोले लगेको मेरो साथी जिन्टुलाई ल्याई। जिन्टु रुँदै ब्लडी मेरीको ढाडमा बसेर फर्किरहेको थियो। त्यसै गरी अरु केटाकेटीहरू एक एक गर्दै फर्काउँदै ल्याई। ब्लडी मेरीले सबै केटाकेटीलाई उनीहरूको घर सोद्धै फर्काउँदै गरी।
सबै केटाकेटी उनीहरूको घरमा पुर्याएपछि ऊ मेरो घरको ऐनाअगाडि आएर उभिई र भनी, ‘त्यो भूताहा बुढाले केटाकेटीलाई लिएर एउटा डरलाग्दो गुफामा जाँदो रहेछ। नजानिँदो गरी पछि लागेर केटाकेटी भएको ठाउँँ पत्ता लगाएँ। त्यहाँ उनीहरू रोइरहेका थिए। त्यो देखेर मैले त्यो राक्षस भूतलाई मार्ने योजना गरेँ। एकपटक ऊ एउटी बच्चीलाई राख्न गुफातिर गइरहेको थियो। फर्केर आउला भनेर म गुफाको मुखमा लुकेर बसेँ। त्यति बेला मट्टितेल चोबेको लुँठोलाई मैले लामो लठ्ठीको टुप्पोमा बाँधे। ऊ गुफाबाट बाहिर निस्कँदै थियो, तब मसँग भएको जनावरको हड्डीलाई मेरो र्यालमा मिसाएर ‘हा’ गरी मुखबाट आगोको दन्को निकालेँ र लुँठो सल्काएर तुरुन्तै उसको मुखमा झोसिदिएँ। र ऊ आगोले जलेर त्यहीँ भष्म भयो। त्यसपछि गुफामा पसेर रूँदै बसेका सबै केटाकेटीहरूलाई एक एक गरी निकालेँ र उनीहरूको घरमा पुराइदिएँ।’
ब्लडी मेरीको कुरा सुनेर धन्य भएँ र भने, ‘ओ हो ब्लडी, तिमीले मलाई पनि बचायौ।’
त्यसपछि उसले, ‘कुनै समस्या परे मलाई यही ऐनामा आएर सम्झँदै गर्नु, असिम’ भनेर ऐनाभित्र पसेर गायब भई।
त्यसपछि म कसोकसो गरेर जागेँ। ओ हो त्यो त खराब सपना रहेछ। मेरो जीउमा खलखली पसिना आइरहेको थियो। बाबा अर्को कोठामा घ्वारघ्वार घुर्किरहनु भएको थियो, उहाँलाई उठाइनँ। तर त्यो भुताहा बुढा राती सपना पनि आउने हो कि भनेर मलाई रातभर निद्रै लागेन।
विहानपख उठेपछि मैले बाबालाई त्यो सपना सुनाउने विचार गरेँ, र भने, ‘बाबा मैले आज डरलाग्दो सपना देखेँ नि, भूताहा राक्षसको।’
बाबालाई मैले देखेको सपना सुन्न मन लागेछ। मैले जानेजति माथि लेखिएको सबै कुरा भनिदिए। र सोधेँ, ‘बाबा मलाई यो सपना फेरि देख्नु छैन, के गर्ने होला?’
बाबाले एकैछिन सोचेर भन्नुभयो, ‘मसँग एउटा आइडिया छ। त्यो सपना मलाई भन, म कापीमा लेखिदिन्छु, अनि त्यो त्यहीँ टाँसिएर बस्छ, उड्न सक्दैन।’
मलाई पनि हो जस्तो लाग्यो, त्यसपछि मैले बाबालाई सपनामा देखेका सबै कुरा एक एक गरी बताएँ। बाबाले त्यो सपना लेखेर कापीमा टाँसी दिनुभयो। त्यसपछि भने मैले आजसम्म कुनै डरलाग्दो सपना देखेको छैन।
(असिम पन्थी रिब्स स्कुल, बलम्बु, काठमाडौँमा कक्षा ३मा अध्ययनरत छन्)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)