सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
म कक्षा–२ बाट काठमाडौंमा पढ्न थालेको। पहिला डडेल्धुरामै पढ्थेँ। हामी २०७३ सालमा डडेल्धुराबाट काठमाडौं आएका थियौं।बाबा हामीभन्दा पहिला नै काठमाडौं आइसक्नु भएको थियो भने अंकल काठमाडौंमै पढ्नु हुन्थ्यो।
हामी डडेल्धुरा बस्दा हाम्रो घरमा माइकल भन्ने ककुर थियो। मेरो साथी बिपिन दाइ र म त्यससँग खेल्थ्यौं। माइकल हामीलाई स्कुलसम्म पुर्याउन पनि जान्थ्यो। हामी उसलाई पिट्दा पनि केही गर्दैनथ्यो।
म काठमाडौं आएपछि हामी पहिला बस्ने फ्ल्याटमा कुकुर थिएन। तर, एक वर्षपछि बाबाको अफिस र मेरो स्कुल नजिकै पर्ने भएकाले शान्तिनगरबाट तीनकुने कोठा सार्यौं।
त्यहाँ घरबेटी अंकलको ज्याक्स एउटा सानो कुकुर थियो। मलाई त्यो देख्दा माइकलको याद आउँथ्यो। त्यसलाई घरबेटीले प्रायः माथि आफ्नो च्यानल गेटभन्दा बाहिर आउन दिनु हुँदैनथ्यो। तर, कहिलेकाहीँ आएर हाम्रो कोठाको बाहिर बस्थ्यो। घुलमिल नभएकाले मलाई ज्याक्ससँग डर लाग्थ्यो।
बाहिर जाँदा पनि धेरै कुकुर भेटिन्थे। भुक्थे पनि। मलाई डर लाग्थ्यो। स्कुल, आउँदा–जाँदा, कतिबेला बाहिर घुम्न जाँदा हाम्रो गल्लीमा धेरै नै कुकुर हुन्थे। कराएर टोक्न आए जस्तो गर्थे। म डराउँथे।
एकदिन साँझ बाबा, ममी र म तीनकुने सडकको छेउमा घुम्न निस्केका थियौं। बाबा, ममी गफ गर्दै बिस्तारै आइरहनुभएको थियो भने म उहाँभन्दा अघिअघि कुदिरहेको थिएँ। अचानक मेरो अगाडिबाट तीनचार वटा कुकुर झगडा गर्दै आए र म आत्तिएँ। म आत्तिएर भाग्न थालेपछि तिनीहरु झगडा छोडेर कराउँदै मेरो पिछा गर्न थाले। म जोडले कराएँ।
बाबा, ममीले कराएर कुकुरलाई भगाउनुभयो। म धेरै नै डराएँ।
पहिला पनि त्यसरी कुकुर टोक्न आए जस्तो गरेर पछिपछि आउने हुनाले डर लाग्थ्यो भने यसपछि त झनै डर लाग्न थाल्यो। मलाई त कुकुर देख्नेबित्तिकै डर लाग्न थाल्यो। बोटोमा कुकुर नदेखे हुन्थ्यो भन्ने लाग्न थाल्यो। यहीबेला, २०७७ असार १४ गते लकडाउनकै बीचमा हामीले प्रयागमार्ग कोठा सार्यौं।
त्यहाँ त डल्लु नाम गरेको ठूलो कुकुर रहेछ। मलाई त्यो सँग निकै डर लाग्यो। नयाँ ठाउँमा कोठा हुने बित्तिकै बाबाममी कुरा गरेको सुनेँ, त्यहाँ कुकुर छ, बाबु डराउँछ की भन्नुहुन्थ्यो।
गेटमै ठूलो कुकुर। म त्यसको डरले कोठाबाट बाहिरै ननस्किने। घरबेटी अंकलले त्यसलाई साँझ बिहान साङ्लोबाट फुकाउनुहुन्थ्यो। मलाई त भित्रै आएर टोक्छ कि जस्तो लाग्थ्यो। कति दिन त म बाहिर पनि गइनँ।
घरबेटी अंकलको मभन्दा सानो छोरा र कोठामा बस्ने एउटा बहिनी छ। उनीहरू बाहिर खेलिरहेका हुन्थे। बाबाममी, अंकलले हामीलाई भाइबहिनीलाई केही गर्दैन, तिमीलाई मात्र टोक्न छ त भन्नुहुन्थ्यो।
एकदिन बाबासँग भएका बेला त्यो कराएर मलाई झम्टिन आए जस्तो लाग्यो। मेरो सातो नै गयो।
पछि डल्लु फुकालेका बेला केही गर्दैन, कस्तो मायालु छ, हिँड्न, खेल्न जाउँ भन्नुभयो। बाबाममीले पनि हामी त्योसँग खेल्छौं, तिमी हेर भन्नुभयो। त्यसै गर्यौं। अनि मलाई पनि नजिकै लैजानुभयो।
म डराईडराई गएँ। कुकुर त झन् रमाएर खेल्न थाल्यो। म जता गए त्यतै आउने।
यसरी गर्दा गर्दै म डल्लुको नजिक जान थालेँ। त्यसले केही नगर्दो रहेछ। धेरै ज्ञानी रहेछ। ऊ खेल्न आउँदा म टोक्न आएको मात्रै सोच्ने रहेछु। अहिले डल्लु मेरो साथी भएको छ। हामी उसँग खेल्छौं। म बाहिर जाँदा खुसी भएको जस्तै गरेर आउँछ। अगाडि पछाडि दौडेर जान्छ, कराउँछ।
भाइबहिनी, म त्यसँगै खेल्छौं। म कोठामा भएका बेला झ्यालमा आएर कराउँछ। झ्यालबाट हेर्छ। मलाई उसको माया लाग्छ अनि खेल्न जान्छु। खाना दिन्छु।
हामीले सोचेजस्तो सबै कुकुर टोक्ने मात्रै नहुने रैछन्। जनावर हाम्रो साथी पनि हुने रैछन्। अचेल मलाई डल्लुको डर लाग्दैन। ऊ मेरो साथी भएको छ।
(विशेष ऐरी भिएस निकेतनमा कक्षा ५ मा अध्ययनरत छन्)