सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
मेरो बुबा सरकारी कर्मचारी हुनुभएको कारणले समय समयमा बुबाको एक ठाउँबाट अर्को ठाउँमा सरुवा भइरहन्छ। बुबाको सरुवा भएकाे ठाउँमा गएपछि मैले पनि आफ्नो स्कुलको छुट्टिमा बुबा हुनुभएको ठाउँमा गई आफ्नो छुट्टी मनाउने गरेको छु।
करिब एक वर्षअगाडिकाे कुरा हाे, म र मेरी आमा, बुबालाई भेट्न भनेर पूर्वी नेपालको सुनसरी जिल्लातर्फ बनेपा बर्दिबासको सडक हुँदै माइक्रो बसमा काठमाडौंको चाबहिलबाट बिहानको सात बजे यात्रा सुरू गर्याैं। लामो समयपछि आफ्नो छुट्टिमा बुबालाई भेट्न नयाँ ठाउँतर्फ जान लागेकाले मनमा विभिन्न रमाइलो अनुभूति भइरहेको थियो।
सरर हावाको शितलतासँगै माइक्रो बस हुइँकिरहेको थियो। झ्यालबाट रमाइला दृश्यहरू हेर्दै केही छिनमै धुलिखेलबाट बनेपा बर्दिबास खण्डको बिपी राजमार्ग हुँदै माइक्रो बस हुइँकियो।
बिपी राजमार्गमा पर्ने मनमोहक सुन्दर घुम्ती सडकहरू जेसुकैको पनि मन लोभिन्छ। सुनकोसीको तिरैतिर दौडिएको माइक्रो बस सिन्धुली जिल्लाको खुर्कोटमा पुगेर रोकियो। सुनकोसी र तामाकोसीसँग स्थान त्रिवेणी अत्यन्त सुन्दर रहेछ। खुर्कोटमा खाजा खाएपछि हाम्राे यात्रा फेरि अगाडि बढ्यो।
गाडीका चालक, अन्य यात्रीहरू सबै रमाइलो भन्दै यात्रा अगाडि बढिरहेको थियो। केहीबेरको यात्रापछि सिन्धुलीको ऐतिहासिक स्थान गढी हुँदै गाडी अगाडि बढिरह्यो। नेपालले ब्रिटिस इन्डिया कम्पनीलाई युद्धमा हराएर नेपाली फौजले नेपाललाई ब्रिटेनको कब्जा हुनबाट रोकेकोले सिन्धुलीगढीको ऐतिहासिक महत्त्व छ, जुन कुरा मेरी ममीले मलाई भन्दै हुनुहुन्थ्याे।
सिन्धुलीको चियाबारीमा पुगेपछि खाना खानका लागि गाडी राेकियाे। त्यसपछि सबै यात्रीलेझैं हामीले पनि खाना खायाैं। त्यसपछि सिन्धुलीमाढी हुँदै यात्रा अगाडि बढिरह्यो। बर्दिबास पुगेपछि पूर्व पश्चिम महेन्द्र राजमार्ग हुँदै यात्रा बढी रहयो। सुनसरी जिल्लाको सिमानामा रहेको सप्तकोशी नदीमाथि रहेको कोशी पुल अत्यन्त सुन्दर रहेछ।
वरिपरिका सुन्दर, रमाणीय स्थानहरू हेर्दै गाडी सुनसरी इटहरीमा पुगेर रोकियो। इटहरीमा झरेपछि बुबा लिन आउनु भएको थियो। बुबासँगै रमाउँदै निवासमा पुगियो। दशैंको दिन भएको हुनाले इटहरीमा रमाइलो भइरहेको थियो।
भोलिपल्ट इटहरी बजार बुबाले घुमाइदिनुभयो। इटहरीका सुन्दर स्थानहरू घुम्याैं। मानवनिर्मित तालमा जलपरीको यात्रा पनि गर्याैं। सुन्दर नगरी धरान बजार घुम्दै बुढासुब्बा मन्दिरको दर्शन पनि गर्याैं। यात्राको क्रममा धनकुटामा रहेको नमस्ते झरनामा गएर रमायाैं पनि।
त्यस्तैगरी इलामको कन्याम, चिया बगान, सूर्यास्तको रमणीय दृश्य त्यहाँको घण्टाघर समेत घुमेर रमाइलो गर्ने मौका बुबाले जुटाइदिनुभयो। भारतको सिलगुडी बजारसमेत घुमेर रमाइलो गरियाे। यसरी विभिन्न ठाउँहरू घुम्दा धेरै कुराहरू सिक्ने अवसर पाइदाे रहेछ। इटहरीमा दशैं मनाएर बुबाको हातकाे टीका र आशीर्वाद लिएर पुनः काठमाडौ आमासँगै फर्किएँ।
अहिले पनि बुबाको सरुवा भएर अन्यत्र स्थान जानुभएको छ तर कोभिड-१९ को कारणले सम्पूर्ण विश्व तहसनहस भइरहेको अवस्थामा हाम्रो देशमा पनि त्यसले पारेको असरको कारण कोही कतै जान सक्ने अवस्था रहेन।
बुबासँग नयाँ स्थानमा घुम्न जाने मनमा अनगिन्ती रहरहरू भए पनि अनलाइन कक्षाहरू पढ्दै घरमा नै आमासँगै रमाइरहेको छु।कोरोना भाइरसको चाँडै अन्त्य होस्। सम्पूर्ण विश्व पुरानै अवस्थामा फर्कियोस्। जनजीवन सामान्य बनोस्, यही कामना गर्दछु।
(आयुष सुवेदी डियरवाक सिफल स्कुलमा कक्षा ६ मा अध्ययनरत छन्)